नियामक निकाय रमिते बन्दा एकै भवनमा खचाखच सहकारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

नियामक निकाय रमिते बन्दा एकै भवनमा खचाखच सहकारी



काठमाडौं । सहकारी मापदण्ड २०६८ ले भन्छ, ‘एकै प्रकृतिका संस्थाको कार्यालय रहेको भवन वा घरमा अर्को संस्थाको कार्यालय स्थापना गर्न पाइने छैन । एउटै भवन वा घरमा एकभन्दा बढी एकै प्रकृतिको संस्थाहरूको कार्यालय भएमा पछि खोलिएको संस्थाको कार्यालय अन्य उपयुक्त ठाउँमा सार्न कार्यालयले निर्देशन दिन सक्नेछ ।’ 

तर, न्युरोडस्थित पशुपति प्लाजाका तलापिच्छे कार्यालय छन् । जहाँ १० वटा सहकारी संस्था खुलेका छन् । यहाँ भएका कैलाश, सामूहिक प्रयास र हाम्रो समृद्धि बहुउद्देश्यीय सहकारी हुन् । सुनौलो दियालो, खुसी, निहाल, खुल्लाबजार, रिजर्व, हाम्रो चाहना र आकाशवाणी बचत तथा ऋण सहकारी (साकोस)अन्तर्गतका हुन् । 
कोटेश्वर चोकस्थित एउटा भवनमा लहरै ६ वटा सहकारी छन् । जहाँ बछलेश्वरी, प्रयासरत, ग्रिनरी (बचत तथा ऋण सहकारी) संस्था छन् । यस्तै कार्यवृद्धि बहुउद्देश्यीय सहकारी यही भवनमा छ । कुमारी साकोस र पञ्चशील बहुउद्देश्यीय सहकारीका सेवाकेन्द्र पनि छन् । कुमारीले त तीनवटा ब्यानर राखेको छ । 

न्युरोडकै बिरा कम्पेक्समा ५ वटा कार्यालय छन् । सम्यक, ग्रो, स्वर्ण, जीवनदीप साकोस र सुभम बहुउद्देश्यीय सहकारी छन् । नजिकै अर्को भवनमा ७ वटा सहकारी छन् । मनविनायक, गतिशील, बुद्धनगर, पानीट्यांकी, धनपत्र बहुउद्देश्यीय सहकारी छन् । पूर्णलक्ष्मी र सघन बचत सहकारी पनि यही भवनमा छन् । 

यी केही उदाहरण मात्रै हुन् । न्युरोड आसपास मात्रै ५ सयभन्दा बढी सहकारीका कार्यालय छन् । एउटै भवनमा दुई वा दुईभन्दा बढी सहकारी खुलेका पाइन्छन्। कालिमाटी, असन, महाबौद्ध, चाबहिललगायत क्षेत्रमा पनि एउटै भवन धेरै सहकारीले भरिएका छन् । अनेक थरीका रंगीचंगी सहकारीका ब्यानरले काठमाडौं राजधानीलाई कुरूप बनाएको छ । एउटै संस्थाको पनि धेरै ब्यानर राखेका पाइन्छन् । 

सहकारी ‘च्याउसरी’ खुल्न थालेपछि सहकारी विभागले २०६८ सालमा मापदण्ड बनायो । जसको सहकारी संस्थाको कार्यालयसम्बन्धी व्यवस्थामा एउटा भवनमा एउटा मात्रै सहकारी राख्न पाउने व्यवस्था गरिएको हो । अर्थात्, कुनै भवनमा एउटा सहकारी संस्था छ भने त्यहाँ अर्को राख्न नपाइने व्यवस्था गर्‍यो । तर, यस्तो नियम बनेको ११ वर्ष बित्दा पनि कार्यान्वयनमा आउन सकेको छैन । 

कुनै भवनमा पहिला सहकारीको कार्यालय छ भने त्यहाँ अर्को राख्न नपाउने नियम कडाइका साथ कार्यान्वयन गर्नुपर्ने बताउँछन् राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती । ‘एउटै भवनमा धेरै सहकारी हुनु गलत हो’, उप्रेती भन्छन्, ‘एउटै भवनमा धेरै संस्था हुँदा सदस्यमा भ्रम सिर्जना हुन्छ र सहकारीबीच अस्वस्थ प्रतिस्पर्धा हुन्छ ।’

एउटै भवनमा धेरै संस्था राख्दा असन्तुलित हुने भएपनि सहकारीले अटेर गरी विभिन्न थरीका ब्यानरले भवन रंगाइरहेका छन् । नियमक निकाय रमिते बनेको छ ।आजकाे अन्नपुर्णबाट

प्रकाशित : १८ मंसिर २०७९, आईतवार ०७:४६