म्युचुअल फण्डमै लगानी किन गर्ने ? एनएमबि क्यापिटलका प्रतिल कोजुसँग विशेष कुराकानी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

म्युचुअल फण्डमै लगानी किन गर्ने ? एनएमबि क्यापिटलका प्रतिल कोजुसँग विशेष कुराकानी



नेपालमा सामूहिक लगानी कोषको अवधारणा पछिल्लो दशकयता उल्लेखनीय रूपमा विकसित हुँदै आएको छ। सामान्य लगानीकर्ताका लागि पेशागत व्यवस्थापन, विविधीकरण तथा विश्वसनीयताको संयोजनयुक्त विकल्पका रूपमा म्युचुअल फन्ड क्रमशः स्थापित हुँदै गएको देखिन्छ। यसै प्रसङ्गमा, नेपालका म्युचुअल फन्डहरूको वर्तमान अवस्थाबारे, विद्यमान चुनौतीहरू तथा लगानीकर्ताका लागि आवश्यक सावधानी र सुझावहरूसम्बन्धी दृष्टिकोण प्राप्त गर्ने उद्देश्यले एनएमबि क्यापिटलमा विगत १० वर्षदेखि म्युचुअल फन्ड क्षेत्रका दायित्व वहन गर्दै आएका म्युचुअल फन्ड हेड प्रतिल कोजुसँग नमिता दुलालद्वारा गरिएको संवादको अंश यहाँ प्रस्तुत गरिएको छ।

अहिले नेपालमा सामान्य लगानीकर्ताका लागि म्युचुअल फण्ड भनेको के हो ? नेपालमा हाल म्युचुअल फण्डको अवस्था कस्तो छ ?

म्युचुअल फण्डलाई नेपालीमा सामूहिक लगानी कोष भनेर बुझ्न सकिन्छ । यसको अवधारणा एकदम सरल छ । यो एउटा यस्तो लगानी माध्यम हो जसले लगानी गर्ने समान उद्देश्य भएका मानिसहरूको समूहबाट पैसा सङ्कलन गर्छ र त्यो पैसा विभिन्न लगानीका क्षेत्रहरू जस्तै सेयर, बन्ड, डिबेन्चरहरूमा लगानी गर्छ । यसलाई बुझ्न हामीले सार्वजनिक बसको उदाहरण लिन सक्छौं । जसरी बसले समान गन्तव्य भएका यात्रुहरूलाई एकै बसमा बसाई यात्रा गराउँछ । त्यसैगरी म्युचुअल फण्डले पनि समान उद्देश्य भएका लगानीकर्ताको रकम एउटै ठाउँमा जम्मा गरी सो रकम सामूहिक रुपमा लगानी गर्छ । यात्रामा बस चलाउनका लागि अनुभवी चालक तोकिएजस्तै, म्युचुअल फण्डको लगानी व्यवस्थापन गर्नका लागि योजना व्यवस्थापक नियुक्त गरिन्छ । योजना व्यवस्थापकहरू (जस्तै एनएमबि क्यापिटल) नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त संस्थाहरु हुन् । जसमा अनुभवी र दक्ष अनुसन्धानकर्ता र विश्लेषकहरूको टोली हुन्छ जसले म्युचुअल फण्डको रकम फण्डको उद्देश्य अनुसार लगानी गर्छ ।

हालको अवस्था हर्ने हो भने म्युचुअल फण्डको लोकप्रियता, म्युचुअल फण्डको आकार र म्युचुअल फण्डमा लागानीकर्ताको सहभागिता क्रमश बढ्दै गएको पाउछौं । नेपालमा म्युचुअल फण्डको इतिहास लगभग १३ वर्षअघि पुष २०६९ सालमा ५० करोडको सानो फण्डबाट सुरु भएको थियो । आजको दिनमा यसको अवस्था राम्रो छ र यो बढ्दो क्रममा छ । हालसम्म नेपालमा जम्मा ६६ वटा म्युचुअल फण्डहरू निष्कासन भइसकेका छन् जसमध्ये १४ वटा योजनाहरू परिपक्व पनि भइसकेका छन् । हाल ५२ वटा म्युचुअल फण्डहरू संचालनमा छन् जसको खुद सम्पति लगभग ६५ अर्ब रहेको छ । हाल सामान्य लागानीकर्ताहरुको माझ म्युचुअल फण्ड लगानीको एक सरल विकल्पको रुपमा स्थापित भएको छ । एसआइपीबाट मात्रै एक लाख भन्दा बढी लगानीकर्ताहरुले लगानी गरीरहेका छन्।

म्युचुअल फण्ड योजनाहरू कति प्रकारका हुन्छन् ? लगानीको सन्दर्भमा खुलामुखी र बन्दमुखी योजनाहरू कसरी फरक छन् ?

संरचनाको आधारमा म्युचुअल फण्ड योजनाहरूलाई मुख्यतया दुई भागमा विभाजन गर्न सकिन्छ । बन्दमुखी योजना र खुलामुखी योजना हुन्छन् ।

१. बन्दमुखी योजना : बन्दमुखी योजनाहरू निश्चित अवधिका लागि हुन्छन् । जस्तै ५ वर्ष, ७ वर्ष वा १० वर्षको हुन्छ । बन्दमुखी योजनाले लगानीकर्ताबाट संकलित रकम तोकिएको अवधिसम्म लगानी गर्दछ र अवधि सकिएपछि लगानीहरू बेचेर सम्पूर्ण पैसा लगानीकर्तालाई फिर्ता गरि दिन्छ । यी योजनाहरूले योजनाको सार्वजनिक निष्काशन गरी लगानीकर्ताहरुबाट पुँजी सङ्कलन गर्छ र सो पश्चात पूनः लगानीकर्ताहरुबाट पुँजी सङ्कलन गर्दैन । यसरी योजनाहरूले लगानीकर्ताबाट एक पटक मात्र पुँजी सङ्कलन गर्ने हुदा यिनीहरूको आकार निश्चित हुन्छ । यी योजनाहरू स्टक एक्सचेन्जमा सूचीकृत हुन्छन् र सेयर बजारमा किनबेच गर्न सकिन्छ । यी योजना स्टक एक्सचेन्जमा खरिदकर्ता र बिक्रेताको माग र आपूर्तिबाट तय भएको मूल्यमा कारोबार हुन्छ जुन खुद सम्पत्ति मूल्य (Net Asset Value- NAV) भन्दा फरक हुन सक्छ ।

खुद सम्पत्ति मूल्य भनेको कम्पनीको प्रति शयर नेटर्वथ जस्तै हो जसले म्युचुअल फण्डको एक किताको वास्तविक मूल्य जनाउछ । हाम्रो बजारमा प्रायः खुद सम्पत्ति मूल्य भन्दा कम मूल्यमै कारोबार भइरहेको देख्छौं । यसले गर्दा पनि लगानीकर्ताहरूमा म्युचुअल फण्डमा लगानी गर्दा फाइदा कम हुने भ्रामक भाष्य स्थापना भएको छ । नेपालमा हालको तथ्याङ्क अनुसार, ४० वटा बन्दमुखी योजनाहरू संचालनमा छन् र यिनीहरूको खुद सम्पति लगभग ४७ अर्ब रहेको छ ।

२. खुलामुखी योजना : खुलामुखी योजनाहरूको कुनै निश्चित अवधि हुदैन र निरन्तर प्रकृतिका हुन्छन् । यी योजनाहरूले योजनाको सार्वजनिक निष्काशन (IPO/NFO) गरी लगानीकर्ताहरुबाट पुँजी सङ्कलन गर्छ र त्यस पश्चात पनि लगानीकर्ताहरुबाट दैनिक रुपमा पुँजी सङ्कलन गर्छन् । यसरी योजनाहरूले लगानीकर्ताबाट पटक पटक पुँजी सङ्कलन गर्ने हुदा यिनीहरूको आकार निश्चित हुदैन । यी योजनाहरू स्टक एक्सचेन्जमा सूचीकृत हुदैनन् । यिनीहरूको कारोबार योजना व्यवस्थापक वा एजेन्ट मार्फत हुन्छ र खुद सम्पत्ति मूल्यमा नै कारोबार हुन्छन् । नेपालमा हाल १२ वटा खल्लामुखी योजनाहरू संचालनमा छन् र जसको खुद सम्पति लगभग १८ अर्ब रहेको छ ।

अघिको बसको उदाहरण हेर्ने हो भने बन्दमुखी योजना भनेको काठमाडौ – पोखरा एक्सप्रस बस सेवा जस्तै हो जसले काठमाडौबाट एक मूष्त यात्रुहरु सङ्कलन गर्छन र बस पोखरा पुगे पछि सम्पूण यात्रुहरु झर्छ । भने खुल्लामुखी योजना भनेको चक्रपथमा चालि रहने बस जस्तै हो जसले विभिन्न ठाउँबाट यात्रुहरु सङ्कलन गरी दिनभरी चलिनै रहन्छ ।

बैंकको सेयर सिधै किन्नु भन्दा म्युचुअल फन्डमा लगानी गर्दा खुद्रा लगानीकर्तालाई के फाइदा हुन्छ ?

लगानी दुवै तरिकाले गर्न सकिन्छ र यसका आ–आफ्ना फाइदाहरु छन् । कुन तरिकाबाट लगानी गर्ने भन्ने कुरा लगानीकर्तामा भर पर्छ । लगानी गर्दा विभिन्न कुराहरुको ख्याल गर्नु पर्छ । यदि लगानीकर्तासंग वितीय ज्ञान छ, कम्पनीको विश्लेषण गर्ने क्षमता छ, स्टक मार्केटको प्रवृत्ति आदिको ज्ञान छ र यी सबैको लागि समय दिन सक्छ भने यस्ता लगानीकर्ताले स्वयम् आफैले स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीको शेयर खिरीद गरी लगानी गर्न सक्छ । यदि लगानीकर्तासंग वितीय ज्ञान छैन, कम्पनीको विश्लेषण गर्ने क्षमता छैन, स्टक मार्केटको प्रवृत्ति आदिको ज्ञान छैन वा यी सबै भए पनि लगानी गर्न लगानीकर्तासंग समय छैन भने, म्युचुअल फण्डमा लगानी गर्न उत्तम हुन्छ ।

म्युचुअल फन्डलाई योजना व्यवस्थापकको दक्ष र अनुभवी टोलीले व्यवस्थित रुपमा लगानी गर्छ । यसले कम्पनीहरू र बजारको अनुसन्धान गरेर योजनाको उद्देश्य अनुसार लगानी गर्छ। यसरी लगानी गर्दा लगानीकर्तालाई बजारको दैनिक तनाव लिनु पर्दैन । अघि कै उदाहरण हेर्ने हो भने यदि आफुलाई बाइक चलाउन आउछ र चलाउन मन छ भने आफै बाइक चलाउदै यात्रा गर्नु हुन्छ । र यदि आफुलाई बाइक चलाउन आउदैन अथवा चलाउन मन छैन भने आफ्नो गन्तव्य तिर जाने बस चढ्दै यात्रा गर्नु हुन्छ । आफै लगानी गर्नु र म्युचुअल फण्डमार्फत लगानी गर्नु पनि यस्तै हो ।

म्युचुअल फण्डमार्फत लगानी गर्नु् लगानी गर्दा विभिन्न फाइदाहरु पनि छन् । म्युचुअल फण्डमार्फत गरीएको लगानीमा स्वत विविधीकरण हुन्छ । विविधीकरण भनेको आफ्नो लगानीलाई विभिन्न क्षेत्र र कम्पनीहरूमा फैलाउनु हो । जसले लगानीमा आउने उतारचढावलाई कम गर्न मद्दत गर्छ । सिधै एउटा कम्पनीको सेयर किन्दा तपाईंको लगानी एउटै ठाउँमा केन्द्रित हुन्छ र लगानीमा बढी उतारचढाव आउने सम्भावना हुन्छ । तर म्युचुअल फन्डमा लगानी गर्दा तपाईंले स्वतः विविधकरण भएको पोर्टफोलियोमा लगानी हुन्छ ।

साथै म्युचुअल फण्डमा लगानी गरिएको रकम तरल हुन्छ । बन्दमुखी योजनाहरु स्टक एक्सचेन्जमा कारोबार हुने भएकाले सजिलै बेच्न सकिन्छ, जबकि खुलामुखी योजनाहरु योजना व्यवस्थापक वा एजेन्ट मार्फत कारोबार गर्न सकिन्छ ।

त्यसैगरी म्युचुअल फण्ड साना लगानीकर्ताहरूका लागि पनि पहुँचयोग्य छ । कोही पनि व्यक्तिले न्यूनतम १,००० रुपैयाँ बाट लगानी सुरु गर्न सक्छ । ठूला कम्पनीको एउटा सेयर किन्न पनि १,००० रुपैयाँ भन्दा बढी लाग्न सक्छ । तर म्युचुअल फण्डमार्फत लगानीकर्ताले ती सबै कम्पनीको लगानीको लाभ थोरै पैसामा पनि लिन सक्नुहुन्छ ।

म्युचुअल फण्डमा लगानी गर्दा साना र खुद्रा लगानीकर्ताले कस्तो प्रतिफलको अपेक्षा गर्न सक्छन् ? लामो अवधिका लागि गरिने लगानी अर्थात (एसआइपी) कत्तिको उपयोगी छ ?

म्युचुअल फण्डबाट लगानीकर्ताहरुले दुई तरिकाले प्रतिफल पाउँछन् । एउटा लाभांश हो जुन योजनाले कमाएको नाफाबाट वितरण गरिन्छ । अर्को भनेको पुँजीगत लाभ हो । जब फण्डले गरिएका लगानीहरुको मूल्य बढ्छ, खुद सम्पत्ति मूल्य पनि बढ्छ । खुद सम्पत्ति मूल्य बढ्दा लगानीकर्ताले आफ्नो लागत भन्दा बढी मूल्यमा योजनाका किताहरु बेच्न सक्छन्, जुन पुँजीगत लाभ हो ।

म्युचुअल फण्डले पनि प्रायः सेयर बजारमा लगानी गर्ने हुनाले, प्रतिफल स्टक मार्केटको समग्र प्रदर्शनमा निर्भर हुन्छ । हालका केहि वर्षहरुमा स्टक मार्केटको समग्र प्रदर्शन तुलनात्मक रुपमा निराशाजनक भएको हुदा म्युचुअल फण्डहरुको प्रतिफल विगतका वर्षहरुको तुलनामा केहि कम रहेको देखिन्छ । म्युचुअल फण्डको लगभग १३ वर्ष इतिहासलाई (पुष २०६९ देखि कार्तिक २०८२) हेर्दा हाल सम्म म्युचुअल फण्डहरुले आफ्ना लगानीकर्ताहरुलाई करिव २३ अर्ब रुपैया लाभांशको रुपमा वितरण गरिसकेका छन् ।

समग्र म्युचुअल फण्डको ऐतिहासिक प्रतिफल भने राम्रो छ र समग्र स्टक मार्केटको प्रतिफल भन्दा धेरै पनि छ । यहि अवधीको समग्र म्युचुअल फण्डको कुल प्रतिफल हेर्ने हो भने लगभग ५६६ प्रतिशत जुन भनेको बार्षिक कम्पाउन्डिङ रिटर्न को हिसावले लगभग १५.९ प्रतिशत हो । सोहि अवधीमा समग्र स्टक मार्केटमा लगभग ३९५ प्रतिशत को रिटर्न देखिन्छ जुन भनेको बार्षिक कम्पाउन्डिङ रिटर्नको हिसावले लगभग १३.२ प्रतिशत हो ।

म्युचुअल फण्डमा लगानी गर्दा साना र खुद्रा लगानीकर्ताले भ्विष्यमा हन सक्ने प्रतिफलको अपेक्षा गर्दा समग्र स्टक मार्केटको दीद्यकालीन बार्षिक कम्पाउन्डिङ रिटर्नलाई अनुमानित रिटर्नको रुपमा लिन सकिन्छ र लिनु उपयुक्त हुन्छ । समग्र स्टक मार्केटको विगत २० वर्षको तथ्याङ्क हेर्ने हो भने लगभग १२ प्रतिशतको बार्षिक कम्पाउन्डिङ रिटर्न देखिन्छ ।

एसआइपी आजको दिनमा लगानीकर्ताहरूका लागि एकदम उपयोगी लगानीको माध्यम बनेको छ । यो सुविधा प्रायः खुलामुखी योजनाहरूमा उपलब्ध हुन्छ । कुनै खुलामुखी योजनामा मासिक/क्रमासिक रुपमा नियमित तवरले निश्चित रकम लगानी गर्नु नै एसआइपी हो । एसआइपीले साना बचतकर्ताहरूलाई ठूलो राहत दिन्छ । यदि कसैसँग मासिक ५ हजार वा १० हजार रुपैयाँ मात्र बचत हुन्छ भने, त्यो पैसा सिधै सेयर बजारमा लगानी गर्न गाह्रो हुन सक्छ । एसआइपी मार्फत म्युचुअल फण्डमा लगानी गर्दा बचत भएको थोरै पैसा पनि लगानी हुन्छ । मासिक रु १,००० बाट पनि एसआइपीलमार्फत लगानी गर्न सकिन्छ । एसआइपीले लगानीको जोखिम घटाउँछ । तपाईंले बजारको विभिन्न बिन्दुमा लगानी गर्दै जानुहुन्छ । यसरी लगानीको औसत लागत कम हुन्छ र बजारको चरम उतारचढावले पनि लगानीको प्रतिफलमा पर्ने असर कम हुन्छ ।

लगानीकर्ताहरू प्रायः बजार उच्च हुँदा लगानी गर्न खोज्ने र बजार घट्दा डराउने प्रवृत्ति हुन्छ । एसआइपीले यो भावनात्मक त्रुटि हटाउँछ किनभने लगानीकर्ताहरुले बजार जस्तो भए पनि अनुशासित तरिकाले नियमित लगानी गरिरहनुहुन्छन् । म्युचुअल फण्डमा लगानी सधैं लामो अवधिका लागि सोचेर र धैर्यका साथ गर्नुपर्छ ।

एनएमबि क्यापिटलको प्रदर्शन कस्तो छ ? अहिले नयाँ स्किमहरू के ल्याउने योजनामा हुनुहुन्छ ?

एनएमबि क्यापिटलका म्युचुअल फन्डहरूको प्रतिफल राम्रो छ । हालका केहि वर्षहरुमा स्टक मार्केटको समग्र प्रदर्शन तुलनात्मक रुपमा निराशाजनक भएको हुदा एनएमबि क्यापिटलका म्युचुअल फण्डहरुको प्रतिफल पनि विगतका वर्षहरुको तुलनामा केहि कम रहेको देखिन्छ । एनएमबि क्यापिटलका म्युचुअल फन्डहरूको ऐतिहासिक प्रतिफल भने राम्रो छ र समग्र स्टक मार्केटको र समग्र म्युचुअल फन्डहरूको प्रतिफल भन्दा धेरै पनि छ । तसर्थ लगानीकर्ताहरूको विश्वास जित्न सफल भएका छै । लगभग ११ वर्षअघि कार्तिक २०७१ सालमा पहिलो पटक हामीले ७५ करोडकोे फण्ड निष्कशन गरेका थियौं । एनएमबि क्यापिटलले हालसम्म ६ वटा म्युचुअल फण्डहरू निष्कासन भइसकेका छन् जसमध्ये २ वटा योजनाहरू परिपक्व पनि भइसकेका छन् । हाल ४ वटा म्युचुअल फण्डहरू संचालनमा छन् जसको खुद सम्पति लगभग ७.७ अर्ब रहेको छ ।

११ वर्ष इतिहासलाई (कार्तिक २०७१ देखि कार्तिक २०८२) हेर्दा हाल सम्म एनएमबि क्यापिटलका म्युचुअल फण्डहरुले आफ्ना लगानीकर्ताहरुलाई करिव ३ अर्ब रुपैया लाभांशको रुपमा वितरण गरिसकेका छन् । यहि सो अवधीको कुल प्रतिफल हेर्ने हो भने लगभग १३.७ प्रतिशतकोे बार्षिक कम्पाउन्डिङ रिटर्न देखिन्छ भने सोहि अवधीमा समग म्युचुअल फण्डहरूमा र समग्र स्टक मार्केटमा क्रमश लगभग ११.८ प्रतिशत र ९.८ प्रतिशत कोे बार्षिक कम्पाउन्डिङ रिटर्न देखिन्छ । लगानीकर्ताहरूको विश्वास जित्न सफल भएकै कारण हाल एनएमबि क्यापिटलको संचालन गरेको खुल्लामूखि योजनामा ५२,००० भन्दा बढी एसआइपी लगानीकर्ताहरुले लगानी गरीरहेका छन् ।

हामी बिस्तारै फण्डहरू निकाल्ने योजनामै छौँ । हाम्रो एनएमबि फिफ्टी नामक बन्दमुखी योजना अर्को वर्ष परिपक्व हुँदैछ । त्यसको लागि पनि एउटा नयाँ फण्ड लिएर आउनुपर्ने हुन्छ । हाल एनएमबि क्यापिटलले संचालन गरेको भन्दा अलि फरक फण्डहरू निरन्तर ल्याउँदै गर्छौं ।

नेपाली म्युचुअल फण्ड उद्योगले हाल कस्ता चुनौतीहरू भोगिरहेको छ ?

म्युचुअल फन्ड उद्योगको विकासका लागि विविधीकरणको अभाव छ । नेपालको सेयर बजारमा सूचीकृत कम्पनीहरूमध्ये अधिकांश वित्तीय संस्थाहरू (बैंक, विकास बैंक, इन्स्योरेन्स, माइक्रोफाइनान्स) को बाहुल्यता छ । अर्थतन्त्रका सबै क्षेत्रहरूका कम्पनीहरू पर्याप्त संख्यामा बजारमा सूचीकृत छैनन् । यसले गर्दा योजना व्यवस्थापकहरूले लगानीको पोर्टफोलियोलाई पर्याप्त मात्रामा विविधीकरण गर्न सकेका छैनन् । वित्तीय क्षेत्रमा कुनै समस्या आउँदा त्यसको सीधा असर म्युचुअल फन्डहरूमा पर्ने सम्भावना हुन्छ ।

त्यसैगरी बीज पुँजीको चुनौती छ । यो सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक हो जसले नयाँ फण्ड ल्याउन बाधा पुर्याएको छ । म्युचुअल फण्ड निष्कासन गर्दा योजना व्यवस्थापक र कोष प्रवद्र्धकले योजनाको कुल रकमको १५ प्रतिशत बीज पुँजीको रूपमा हाल्नुपर्ने नियम छ । उदाहरणका लागि, यदि १ अर्बको फण्ड ल्याउने हो भने, १५ करोड रुपैयाँ बीज पुँजीको रूपमा राख्नुपर्छ । कोष व्यवस्थापक (क्यापिटल) आफैमा सानो संस्था हुने र धेरै फण्डहरू व्यवस्थापन गरिरहेको अवस्थामा थप १५ करोड जुटाउन गाह्रो हुन्छ । छिमेकी देश भारतमा यो ०.०३ प्रतिशत देखि ०.१३ प्रतिशत मात्र छ । यो १५ प्रतिशत बीज पुँजीका कारण नयाँ र ठूला फण्डहरू बजारमा आउन सकेका छैनन् र हालका खुल्लामुखि योजनाहरुले पनि अफ्नो आकार सहज रुपमा बढाउन सकेका छैनन् । हामी नियामक निकाय (सेबोन) सँग यस विषयमा कुरा गरिरहेका छौं र उहाँहरू सकारात्मक हुनुहुन्छ ।

त्यसैगरी धेरै नेपाली लगानीकर्ताहरू तत्काल नाफा खोज्छन । जब म्युचुअल फण्डमा लगानी गर्दा सेयर जस्तो छिटो १० प्रतिशत वा २० प्रतिशत रिटर्न देखिँदैन तब उनीहरू हिचकिचाउँछन्। विशेष गरी बन्दमुखी योजनाहरू बजारमा खुद सम्पत्ति मूल्य भन्दा तल कारोबार हुँदा लगानीकर्ताहरूलाई तत्काल नोक्सान भएको महसुस हुन्छ । जहा याेजनाको वास्तविक मूल्य नघटेको पनि हुन सक्छ । खुलामुखी योजनाहरूमा भने यो समस्या हुँदैन किनभने कारोबार खुद सम्पत्ति मूल्य मा नै हुन्छ ।

नेपालमा विदेशी लगानी आउन थाल्यो भने म्युचुअल फन्ड उद्योगलाई कस्तो अवसर मिल्न सक्छ ?

यदि नेपालको सेयर बजारमा विदेशी लगानी (विदेशी पैसा) आउन थाल्यो भने यसले म्युचुअल फण्ड उद्योगका लागि धेरै नयाँ अवसरहरू सिर्जना गर्छ । पहिलो, विदेशी लगानीकर्ताहरूले सिधै म्युचुअल फण्ड योजनाहरूमा लगानी गर्न सक्छन । यसले गर्दा म्युचुअल फण्डहरूको आकार बढ्न मद्दत पुग्छ । दोस्रो, समग्रमा बजारमा जति धेरै सहभागिता भयो, बजार त्यति नै परिपक्व हुँदै जान्छ । विदेशी लगानीकर्ताहरूको प्रवेशले बजार मूल्यमा हुने चरम उतारचढाव कम हुन्छ र बजार प्रतिस्पर्धात्मक बन्दै जान्छ ।

नयाँ पुस्ताका लगानीकर्ताहरूलाई म्युचुअल फन्डमा लगानीका लागि तपाईंको अन्तिम सुझाव के छ ?

मेरो पहिलो सुझाव सधैं यही हुन्छ कि हामीले बुझेर मात्र लगानी गर्नुपर्छ । हामीले दुःख गरेर कमाएको पैसाको मूल्य बुझ्नुपर्छ । यदि तपाईंसँग सेयर बजारको अनुसन्धान गर्नका लागि पर्याप्त समय छ र ज्ञान पनि छ भने, तपाईं सिधै सेयर बजारमा लगानी गर्न सक्नुहुन्छ। तर, यदि तपाईं व्यस्त हुनुहुन्छ, अफिसको कामले गर्दा समय दिन सक्नुहुन्न, वा बजारको बारेमा पर्याप्त ज्ञान छैन भने, म्युचुअल फण्ड मार्फत लगानी गर्नु उत्तम हुन्छ । लगानी भनेको भोलिको दिनमा आर्थिक रूपमा सुरक्षित हुनका लागि र मानसिक शान्तिका लागि गर्ने हो । दैनिक बजारको उतारचढावको चिन्ता लिनु हुदैन । नयाँ लगानीकर्ताहरूले आफ्नो जोखिम बहन क्षमता हेरेर फण्ड पनि छान्नुपर्छ।

१ इक्विटी फन्ड : यसमा जोखिम तुलनात्मक रुपमा धेरै हुन्छ, किनभने यसको अधिकांश रकम सेयरमा लगानी हुन्छ । प्रतिफल पनि धेरै आउन सक्छ ।
२ हाइब्रिड फन्ड : यसमा जोखिम र प्रतिफलको सम्भावना इक्विटी फन्ड भन्दा कम र डेप्ट फन्ड भन्दा बढी हुन्छ ।
३ डेप्ट फन्ड : यसमा इक्विटी फन्ड र हाइब्रिड फन्ड भन्दा जोखिम कम हुन्छ किनभने यसको अधिकांश लगानी ऋणपत्र र मुद्दती निक्षेप जस्ता निश्चित आय दिने उपकरणहरूमा हुन्छ ।

मेरो अन्तिम सुझाव लामो समयको लागि लगानी गर्नुहोस् र धैर्य राख्नुहोस् । छोटो समयमा (एक हप्तामा) कति नाफा भयो भनेर हरेक दिन नहेर्नुहोस् । लगानी गर्नु भनेको एउटा बीउ रोपेर त्यसलाई समय दिनुजस्तै हो, जहाँ तत्काल परिणामको अपेक्षा गर्नु मूर्खता हुन्छ ।

प्रकाशित : 18 November, 2025 3:21 pm