स्वच्छ र विकासमुखी राजनीतिका लागि भेषराज थापाकाे एमाले अध्यक्षमा उम्मेदवारी दर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

स्वच्छ र विकासमुखी राजनीतिका लागि भेषराज थापाकाे एमाले अध्यक्षमा उम्मेदवारी दर्ता



काठमाडौं । नेकपा (एमाले) को ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन् । स्वच्छ, पेशागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उनको जोड छ ।

जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रका ख्यातिप्राप्त विज्ञ डा. थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् । उनी सिंचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनीसँग थुप्रै उदाहरणीय काम सम्पन्न गरेको अनुभव छ ।

डा. थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन् । उनले टेक्निकल स्टुडेन्ट्स एशोसिएसन नेपाल (सान) तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नेतृत्व तहमा रहेर समेत काम गरिसकेका छन् । हाल पीनका अध्यक्षका रूपमा उनी इन्जिनियर तथा पेशागत जनशक्तिलाई नीति निर्माण, सुशासन र विकास प्रक्रियामा सहभागी गराउन क्रियाशील छन् ।

आउँदै गरेको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै डा. थापाले देशलाई ईमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताए । ‘राजनीतिमा अब इमानदारी, पारदर्शिता र विकास–प्रेरित सोचको टड्कारो खाँचो छ । इन्जिनियर, चिकित्सक, अर्थशास्त्री लगायत प्राविधिक क्षेत्रका युवाहरू पनि अब अगाडि बढेर सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्ने समय आएको छ,’ उनले भने ।

प्रकाशित : 8 December, 2025 12:25 pm