काठमाडौं । सरकारले सहकारी संस्थामा व्यावसायिक कारोबारमा कडाइ गर्ने निर्णय लिएको छ। अब, सहकारी संस्थाले आफ्नो कारोबार व्यक्तिगत खाताबाट सञ्चालन गर्न पाइने छैन।
सहकारी विभागले हालै एक परिपत्र जारी गर्दै उक्त निर्देशन लागू गर्ने निर्णय गरेको हो। यो निर्णयको आधार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ हो, जसअनुसार सहकारी संस्थालाई पनि वित्तीय संस्थाको रूपमा परिभाषित गरिएको छ। यससँगै, सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली, २०८१ को नियम १० र आयकर ऐन, २०५८ को दफा ८१क. को व्यवस्थाले सहकारी संस्थालाई व्यावसायिक कारोबार व्यक्तिगत खाताबाट नगर्न निर्देशन दिएको हो।
परिपत्र अनुसार, यदि कुनै पनि सहकारी संस्थाले व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा भुक्तानी गरेमा, त्यसको जानकारी वित्तीय जानकारी इकाइ र आन्तरिक राजस्व विभागलाई रिपोर्ट गर्नुपर्नेछ।
सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण नियमावली २०८१ को नियम १० मा भनेको छ, “कानुनी व्यक्ति वा प्रबन्धले व्यावसायिक कारोबारसँग सम्बन्धित रकम आफूहरूको खाताबाहेक अन्य व्यक्तिगत खातामा भुक्तानी गर्दा वा व्यक्तिगत बचत खातामा व्यावसायिक कारोबारको रकम जम्मा गरेमा सम्बन्धित वित्तीय संस्थाले रिपोर्ट गर्नुपर्नेछ।”
त्यस्तै, आयकर ऐनको दफा ८१क अनुसार व्यावसायिक कारोबारका रकम व्यक्तिगत खातामा जम्मा गर्न नपाइने व्यवस्था गरिएको छ। यो निर्णय सहकारी संस्थाहरूमा वित्तीय अनुशासन र कानूनी पालना सुनिश्चित गर्न महत्त्वपूर्ण कदम हो, जसले मनी लाउन्डरिङ्ग र अन्य असामाजिक गतिविधिहरूको नियन्त्रणमा मद्दत गर्नेछ।





Comment