नेपाली काठकला र समकालीन डिजाइनको संगम : बिरा फर्निचरको कथा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

नेपाली काठकला र समकालीन डिजाइनको संगम : बिरा फर्निचरको कथा



नेपालको फर्निचर उद्योगमा ६० वर्षको अविरल यात्रा बोकेको बिरा फर्निचर आफ्नो बलियो विरासत, गुणस्तर र विश्वसनीयताका कारण चिनिन्छ। अहिले यसको व्यवस्थापन आर्किटेक्ट अनिता श्रेष्ठले सम्हालिरहेकी छन् । जसले पारिवारिक परम्परालाई आर्किटेक्चर र इन्टेरियर डिजाइनिङको ज्ञानसँग जोडेर नयाँ उचाइ दिँदैछिन्।

‘बिरा’ नाम बिरबहादुरबाट आएको हो । जुन श्रेष्ठकाे हजुरबुवादेखि बुवासम्म र अहिले तेस्रो पुस्तासम्म निरन्तर आइरहेको व्यवसाय हो। यसको सुरुवात ललितपुरको लगनखेलमा रहेको एक सानो वर्कशपबाट भएको थियो।

आर्किटेक्ट अनिता श्रेष्ठ

आर्किटेक्टदेखि फर्निचरसम्मको यात्रा

अनिता श्रेष्ठले नेपाल इन्जिनियरिङ कलेजबाट सन् २००२ तिर आर्किटेक्चर पास गरेकी हुन्। अध्ययनकै समयमा फर्निचर व्यवसाय निरन्तर गर्ने सोच नभए पनि परिवारको पृष्ठभूमि र आफूले पढेको विषय एक–आपसमा नजिकिएकाले उनले व्यवसाय सम्हाल्ने निर्णय लिइन्।

त्यो समयमा इन्टेरियर डिजाइन र आर्किटेक्चरको आवश्यकता समाजमा धेरै बुझिँदैनथ्यो। “डिजाइनर किन चाहियो? यहाँ सोफा राख्ने, यहाँ खाट राख्ने” भन्ने सोच प्रचलित थियो। तर अहिले सानोतिनो पसल खोल्नेलाई पनि विशेषज्ञ चाहिने अवस्था छ, जससँगै इन्टेरियर डिजाइनको महत्त्व उल्लेख्य रूपमा बढेको छ।

फिल्डमा प्रवेश गर्दा उनले आरम्भमा ठूलो निराशा भोग्नुपर्‍यो। पाँच वर्षसम्म रेष्टुरेन्ट, रिसोर्टदेखि टाउन प्लानिङसम्मका बृहत् डिजाइन पढेपछि बुवाले सोफा वा दराज नाप्न पठाउँदा आफूले पढेको विषयसँग मेल नमिल्दा विचलित भएको उनी सम्झिन्छिन्।

हाल उनी आर्किटेक्चरभन्दा इन्टेरियर डिजाइनमा बढी संलग्न छिन्। उनका अनुसार इन्टेरियर अझ विस्तृत, समयसापेक्ष र सूक्ष्म विषय हो—चुकुलदेखि ह्यान्डल, रंग, लाइट र कर्नरसम्म।

व्यवसायको उद्देश्य र विस्तार

बिरा फर्निचर सुरु भएको बेलामा लगनखेल फ्याक्ट्री क्षेत्र जस्तै थियो। त्यतिबेला झ्याल–ढोकाको चौकोस, स्कुलका बेन्च, डेस्क र कुर्सीहरू मुख्य उत्पादन थिए।

पहिले काठको मूल्य किलोमा क्युबिक फिटको ५० रुपैयाँजति हुन्थ्यो भने अहिले ४,५०० देखि ८,००० रुपैयाँसम्म पुगेको अनिता बताउँछिन्।

बिरा फर्निचरले सोल्टी, याक एण्ड यति, शंकर होटलजस्ता प्रतिष्ठित स्थानमा काम गरिसकेको छ। समयसँगै शैली, सामग्री र कार्यक्षेत्र पनि बदलिँदै गएको छ। अहिले उनीहरू ‘टर्नकी प्रोजेक्ट’ मा काम गर्छन्, जसमा बत्तीदेखि इन्टेरियरका सबै काम समावेश हुन्छन्।

सामग्री र गुणस्तरमा विश्वास

ग्राहकको आवश्यकता अनुसार काठ छनोट गरिन्छ—सोफाका लागि उदतिस वा आप, बलियो कुर्सीका लागि सिसौ, झ्याल–ढोकाका लागि पसाङ, रिन्छ वा अग्राट।

डिजाइनका विकल्प पहिले जति सीमित थिएनन्। अहिले वातावरण, प्रयोगशैली र संरचनालाई मिलाएर धेरै प्रकारका डिजाइन गरिन्छन्। कतिपय डिजाइन एक काठमा संभव नहुने तर अर्कोमा सम्भव हुने हुँदा त्यसको ताकत बनाउने ठूलो चुनौती रहन्छ।

चीनबाट आउने सामग्रीले फिनिसिङमा प्रतिस्पर्धा गरे पनि बिरा फर्निचर सामग्री र काठको गुणस्तरमा बलियो छ। उनीहरू ह्यान्डमेड काममा जोड दिन्छन्, जसले परम्परागत कारीगरीको सौन्दर्य जोगाएको छ।

बजार र प्रतिस्पर्धाका चुनौतीहरू

भूकम्प, कोभिड–१९ र राजनीतिक अस्थिरताले व्यापारमा ठूलो असर परेको छ। सेवामूलक यो क्षेत्रमा लगानी गर्ने मानिस घटेपछि व्यवसाय प्रभावित भएको अनिताको भनाइ छ।

अस्वस्थ प्रतिस्पर्धा अर्को चुनौती हो। अनलाइनमा मनलाग्दी मूल्य राख्नु, गुणस्तर नहेरी विदेशी सामग्री आयात गर्नु, सहज रूपमा इम्पोर्ट गरिएका सामान बेच्नुजस्ता कारणले फर्निचर उद्योग दबाबमा परेको छ।

नेपालमा आफ्नै फ्याक्ट्रीमा हातले काम गर्ने व्यवसायी थोरै मात्र छन्। कस्टमाइज्ड फर्निचर बनाउने भएकाले क्लाइन्टको मन जित्नु अझै जटिल र जोखिमपूर्ण हुन्छ।

उधारो बढ्नु पनि प्रमुख समस्या हो। ठूलो रकमका उत्पादनहरू बिक्री गर्दा भुक्तानी ढिलाइ हुँदा क्यास फ्लोमा चुनौती आउने उनले बताइन्।

आम्दानी, लागत र वर्तमान अवस्था

बजार कमजोर भएकाले आय घटेको छ। अनिता भन्छिन्, “पहिले हजारले आउने कुरा अहिले लाखले आउँदैन। डिजिट मात्र बद्लिएको हो, तर आय–खर्च उस्तै छन्।”
अहिले बिरा फर्निचरको आम्दानी मुख्यतः प्रोजेक्ट बेसिसमा निर्भर छ। कतिबेला धेरै काम पर्छ, कतिबेला २–३ वर्ष फ्याक्ट्री चलाउन समेत कठिन हुन्छ।

सरकारी नीति र भविष्यको सम्भावना

अनिताका अनुसार नेपालमा फर्निचर उद्योगको सम्भावना धेरै छ, तर सरकारी समर्थन आवश्यक छ। विदेशी स्पेसिफिकेसन हटाएर राष्ट्रिय स्पेसिफिकेसन प्रयोग गर्न उनी जोड दिन्छिन्। कच्चा पदार्थ नभए पनि प्रविधि र सीप भित्र्याएर नेपालमै उत्पादन गर्न सकिने उनको भनाइ छ।

नयाँ व्यवसायीलाई सल्लाह

बिरा फर्निचरलाई डिजिटल युगसँग उभ्याउने, सामाजिक सञ्जाल र वेबसाइट व्यवस्थापन सुदृढ गर्ने तथा काठमाडौं बाहिर शाखा विस्तार गर्ने योजना छ।

नयाँ व्यवसायीलाई उनी सुझाव दिन्छिन्— “गुणस्तर र विश्वास नै सबैभन्दा ठूलो पूँजी हो। एकचोटि राम्रो देखिने तर टिकाउ नहुने काम कहिल्यै नगर्नुहोस्।”

प्रकाशित : 3 December, 2025 5:58 pm