सेयरधनीले अब कम्पनीको चुक्ता पूँजी बैंकमार्फत जम्मा गर्नुपर्ने, यस्ता छन् संशोधित व्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सेयरधनीले अब कम्पनीको चुक्ता पूँजी बैंकमार्फत जम्मा गर्नुपर्ने, यस्ता छन् संशोधित व्यवस्था



काठमाडौं । कम्पनी रजिष्ट्रार कार्यालयले कम्पनीको सेयर बाँडफाँट, किनबेच, लगत, चुक्तालगायत व्यवस्थापनमा एक दर्जनभन्दा बढी संशोधन गरेको छ । भदौ १० गते बसेको कम्पनीको बैठकले कम्पनी ऐन २०६३ को दफा १६ तथा दफा १७८ ले दिएको अधिकार प्रयोग गरी कम्पनीको दर्ता, किनबेचलगायत आर्थिक कारोबार हुने व्यवस्थालाई थप विश्वासिलो बनाउन तथा बैंकिङ प्रणालीमा आबद्ध गर्दै लैजाने गरी यस्तो संशोधन गरेको हो ।

अब सेयरधनीले कम्पनीलाई सेयरबापतको रकम चुक्ता गर्दा कम्पनीको खातामा बैंकिङ प्रणालीमार्फत चुक्ता गरेको हुनुपर्नेछ। त्यसैगरी, कुनै दुई प्राकृतिक व्यक्तिहरुबीच भएको सेयर खरिदबिक्रीको हकमा प्रचलित कानुनबमोजिम कुनै व्यक्तिले १० लाख रुपैयाँभन्दा कम कारोबारको नगदै लेनदेन गर्न सकिने प्रावधान रहेको हुँदा कुनै कम्पनी संलग्न भई गरेको खरिदबिक्रीबोहक अन्य खरिदबिक्रीको हकमा उक्त सीमासम्मको कारोबारमा चुक्ता प्रमाणका रुपमा बैंक स्टेटमेन्ट पेस नभएको अवस्थामा पनि अभिलेख स्वीकार गर्न सकिने व्यवस्था गरिएको छ।

यही भदौ १८ पछि संस्थापना भएका कम्पनीहरुले प्रथम वार्षिक साधारणसभा गर्नुअगाडि नै अनिवार्य रुपमा सेयर बाँडफाँट गरी कबुल गरेको सेयर रकमको पूरा वा आंशिक रुपम चुक्ता गरी सेयर लगत अभिलेख गराउनुपर्ने व्यवस्था कम्पनी रजिस्ट्रारको कार्यालयले गरेको छ। सेयर लगत प्रमाणित गरेर लगेपछि मात्र कम्पनीको अध्यावधिकलगायतका कम्पनी प्रशासनसम्बन्धी अन्य काम कारबाही गर्नुपर्नेछ।

कम्पनीको आर्थिक वर्ष २०७३/७४ भन्दा पछिको लेखापरीक्षण प्रतिवेदनमा चुक्तापुँजी उल्लेख भएको तर सेयर लगत जारी नभएको कम्पनीको सो पुँजीबराबरको चुक्ता प्रमाण पेस गरी सेयर लगभ अभिलेख गरेरमात्र कम्पनी प्रशासनसम्बन्धी अन्य कागजातको अभिलेख स्वीकार गरिने व्यवस्था गरिएको छ।

प्रकाशित : २१ भाद्र २०८०, बिहीबार १०:४२