काठमाडाैँ । शैक्षिक परामर्श व्यवसायिक वृत्त यतिखेर चुनावी बहसले तातेको छ। विदेश अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने व्यवसायीहरूको छाता संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान) नयाँ नेतृत्व चयनको संघारमा पुगेको छ। पुस २८ गते हुने निर्वाचनलाई संगठनको भावी दिशा तय गर्ने निर्णायक क्षणका रूपमा हेरिएको छ।
दुई अनुहार, दुई धार
निर्वाचनमा दिपकराज भुसाल र लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वका दुई प्यानल मुख्य प्रतिस्पर्धीका रूपमा मैदानमा छन्। भुसाल निवर्तमान महासचिव हुन् भने पौडेल निवर्तमान प्रथम उपाध्यक्ष। दुवै लामो समयदेखि इक्यानसँग जोडिएका भए पनि उनीहरूले अघि सारेका दृष्टिकोण र संगठन सञ्चालनको शैली फरक देखिन्छ।
संस्थापनको भरोसा भुसाल प्यानल
दिपकराज भुसाल नेतृत्वको प्यानललाई इक्यानको संस्थापन पक्षका रूपमा चिनिन्छ। वर्तमान अध्यक्ष शेषराज भट्टराई र निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले खुलेर समर्थन जनाएपछि यो प्यानल अझ सुदृढ देखिएको छ।
भुसाल स्वयंले दुई कार्यकाल महासचिवको जिम्मेवारी सम्हालिसकेका छन्। संगठनको संरचना, कार्यप्रणाली र आन्तरिक समन्वयमा अनुभव हासिल गरेका कारण स्थायित्व चाहने सदस्यहरू उनको प्यानलप्रति आकर्षित देखिन्छन्।
वामपन्थी विचारधारासँग नजिक रहेका व्यवसायी तथा संगठनका नेताहरूको समर्थन पनि भुसाल प्यानललाई प्राप्त भएको बताइन्छ। अनुभवी पदाधिकारी र पुराना कार्यकर्ताको बाक्लो उपस्थितिले यस प्यानललाई संगठनभित्र बलियो आधार दिएको विश्लेषण भइरहेको छ।
परिवर्तनको स्वर पौडेल प्यानल
उता लक्ष्मण पौडेल ‘एन्ड्रयु’ नेतृत्वको प्यानलले संस्थागत सुधार र पारदर्शितालाई प्रमुख एजेन्डा बनाएको छ। पौडेल समूहले संगठनभित्र नयाँ सोच, फरक कार्यशैली र स्पष्ट जवाफदेहिता आवश्यक रहेको तर्क अघि सारेको छ।
परिवर्तन चाहने, संगठनभित्र नयाँ अभ्यासको अपेक्षा राख्ने सदस्यहरूसँग पौडेल प्यानलले सक्रिय संवाद गरिरहेको देखिन्छ। उनीहरू प्रत्यक्ष भेटघाट, छलफल र विचार आदान–प्रदानमार्फत मतदाता सदस्यसम्म पुग्ने रणनीतिमा छन्।
एजेन्डाको द्वन्द्व र पाण्डेको दाबाब
भुसाल प्यानलले अनुभव, निरन्तरता र संगठनको स्थायित्वलाई आफ्नो प्रमुख शक्ति मानेको छ। विगतका उपलब्धि र संस्थागत संरचनासँगको सामीप्य उनीहरूको आधार हो। पौडेल प्यानल भने सुधार, पारदर्शिता र परिवर्तनको आवश्यकता औंल्याउँदै भविष्यतर्फ केन्द्रित नेतृत्वको वकालत गरिरहेको छ। निर्वाचनलाई धेरै सदस्यहरूले ‘निरन्तरता कि परिवर्तन’को बहसका रूपमा मात्र होइन, संस्थागत संकटबाट बाहिरिने अवसरका रूपमा पनि लिएका छन्। पछिल्लो समय इक्यान आन्तरिक विवाद, शक्ति सन्तुलन र नेतृत्व प्रभावको चपेटामा परेको भन्दै सदस्यहरू खुला रूपमा असन्तुष्टि व्यक्त गर्न थालेका छन्।
संघभित्र पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईबीचको प्रभाव र शक्ति सम्बन्धका कारण संगठन स्वतन्त्र रूपमा सञ्चालन हुन नसकेको गुनासो बढ्दो छ। इक्यानका विभिन्न चुनावी भेटघाटमा पाण्डेले भुषाल पक्षलाई जसरी पनि चुनाव जिताउनै पर्ने दबाब दिदैँ आएको सदस्य सस्थाहरु बताउछन् । एक सदस्यको भनाइमा, “संघको एजेन्डाभन्दा व्यक्ति केन्द्रित निर्णय हुन थालेपछि सामान्य सदस्यको आवाज दबिँदै गएको छ।” यही असन्तुष्टिको पृष्ठभूमिमा यो निर्वाचनलाई निर्णायक मानिएको हो।
रोचक बन्दै चुनावी माहोल
निर्वाचनको मिति नजिकिँदै जाँदा इक्यानभित्रको चुनावी माहोल थप रोचक बन्दै गएको छ। एकातिर संस्थापन पक्षको बलियो संगठनात्मक आधार छ भने अर्कोतिर परिवर्तनको चाहना बोकेको समूहको सक्रियता देखिन्छ।






Comment