काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ६ वटाले मंसिर महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन्। बाँकी १४ बैंकले भने कात्तिककै ब्याजदरलाई निरन्तरता दिएका छन्। कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।
ब्याजदर घटाउनेमध्ये माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपको ब्याजदर सबैभन्दा धेरै १ प्रतिशत बिन्दुले घटाएर ३.५ प्रतिशत कायम गरेको छ। कृषि विकास बैंकले ०.५ प्रतिशत बिन्दुले घटाएर ३.६५ प्रतिशतमा झारेको छ।
त्यस्तै, एनएमबी बैंकले व्यक्तिगत र संस्थागत दुवैको ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटाएको छ। लक्ष्मी सनराइज, कुमारी र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छ।
मंसिरमा सानिमा बैंकले व्यक्तिगत निक्षेपमा ४.५ प्रतिशत ब्याजदर कायम गर्दै सबैभन्दा धेरै ब्याज दिने बैंक बनेको छ। प्रभु बैंकले ४.२५ प्रतिशत तथा नेपाल बैंकले ४.१५ प्रतिशत ब्याजदर तोकेका छन्। अन्य केही बैंकले ४ प्रतिशत ब्याजदर कायम गरेका छन्।
ब्याजदर घटेसँगै वाणिज्य बैंकहरूको व्यक्तिगत मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर कात्तिकको ४.०१३ प्रतिशतबाट घटेर मंसिरमा ३.९०६ प्रतिशतमा झरेको छ। यो ०.१०७ प्रतिशत बिन्दुको कमी हो।
त्यस्तै, संस्थागत निक्षेपको औसत अधिकतम ब्याजदर पनि ३.००३ प्रतिशतबाट घटेर २.९९०५ प्रतिशतमा पुगेको छ।
एभरेष्ट बैंक, नेपाल बैंक, नेपाल एसबिआई बैंक, ग्लोबल आइएमई बैंक, प्राइम बैंक, सिटिजन्स बैंक, प्रभु बैंक, हिमालयन बैंक, सिद्धार्थ बैंक, नबिल बैंक, सानिमा बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र एनआईसी एसिया बैंकले मंसिर महिनाका लागि ब्याजदर यथावत् राखेका छन् ।








Comment