काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) को २०औं साधारणसभा तथा निर्वाचनको सरगर्मी तीव्र भएको छ। यही पुस २८ गते हुने निर्वाचनमा अध्यक्ष पदका लागि दुई जना उम्मेदवारले मात्र मनोनयन दर्ता गराएसँगै प्रतिस्पर्धा रोचक बनेको छ।
अध्यक्षका लागि हालका प्रथम उपाध्यक्ष एन्ड्रयु पौडेल (लक्ष्मण) र वर्तमान महासचिव दिपकराज भुसाल बीच सिधा प्रतिस्पर्धा हुने भएको छ। यसअघि अध्यक्ष पदमा उम्मेदवारी दिने तयारी गरेकी गीता शिवाकोटी (गीताञ्जली) पछि हट्दै पौडेलको उम्मेदवारीमा प्रस्तावक बनेकी छन् र उनले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी छन्।
एन्ड्रयु पौडेलको ‘एन्ड्र्यु प्यानल’ र एबीसीडीई एजेन्डा
शैक्षिक परामर्श क्षेत्रमा लामो अनुभव सँगालेका पौडेललाई एक समूहले साझा उम्मेदवारका रूपमा अघि सारेको छ। ‘एन्ड्र्यु प्यानल’ अन्तर्गत उपाध्यक्षमा वासुदेव दाहाल, पुष्पराज भट्टराई र गीता शिवाकोटी (गीताञ्जली) ले उम्मेदवारी दिएका छन्। महासचिवमा नवराज केसी, सचिवमा एलबी गोले तामाङ र भुपाल केसी, कोषाध्यक्षमा साधना पुडासैनी र सह-कोषाध्यक्षमा भीमबहादुर थापा उम्मेदवार छन्।
अध्यक्षका उम्मेदवार पौडेलले ‘इक्यानको नयाँ व्यवस्था, व्यक्ति भन्दामाथि संस्था’ भन्ने मूल नारासहित संस्थालाई थप व्यावसायिक, पारदर्शी र सदस्यकेन्द्रित बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफ्नो प्रमुख एजेन्डालाई ‘एबीसीडीई’ का रूपमा प्रस्तुत गर्दै एडभोकेसी, एकान्टेबिलिटी, व्यवसाय/ब्रान्डिङ, डिप्लोमेसी/डोमिनेन्स र इम्पावरमेन्ट लाई प्राथमिकता दिएका छन्। साथै, शैक्षिक परामर्श व्यवसायका नीतिगत चुनौती समाधान र सदस्यको हकहित संरक्षण उनका मुख्य कार्यसूचीमा छन्।
दिपकराज भुसालको ‘वैकल्पिक कार्यदिशा’ र पूर्व नेतृत्वको साथ
अर्का अध्यक्षका उम्मेदवार दिपकराज भुसालले संस्थागत सुधार, नयाँ नेतृत्व र वैकल्पिक कार्यदिशा सहित निर्वाचनमा होमिएको जनाएका छन्। भुसाललाई पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको बलियो समर्थन रहेको छ, जसमध्ये पाण्डे प्रस्तावक र भट्टराई समर्थकका रूपमा रहेका छन्।
भुसाल प्यानलबाट उपाध्यक्षमा फिलिप डीसी, मञ्जित ढकाल, विकल्प राज पोखरेल र रत्न भट्टराई उम्मेदवार छन्। भुसालले ईक्यान सदस्यको अधिकार र औपचारिक मान्यता, ईक्यान ट्रेनिङ एकेडेमीको स्थापना सहित २६ वटा विस्तृत एजेन्डा अघि सारेका छन्। उनले आगामी दुई वर्ष संस्थाका लागि पूर्ण समर्पण गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।
प्रतिस्पर्धात्मक निर्वाचन
७०० भन्दा बढी सदस्य संस्थाहरू रहेको ईक्यानको यो निर्वाचनलाई यसपटक अत्यन्तै प्रतिस्पर्धात्मक रूपमा हेरिएको छ। दुवै समूहले आ-आफ्नो एजेन्डा, टिमको अनुभव र नेतृत्व क्षमताका आधारमा सदस्यहरूलाई आकर्षित गर्न चुनावी तयारी तीव्र पारेका छन्।






Comment