कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९, पिपरियाका दुई दाजुबहिनी सुशान्त भाट र सम्झना भाटले पढाइसँगै घरमै च्याउ उत्पादन गरेर आत्मनिर्भर बन्ने प्रयासमा छन् । सानै उमेरमा विद्यालयमा सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै उनीहरूले च्याउ खेती सुरु गरेका हुन्।
विणा माध्यमिक विद्यालयमा अध्ययनरत १४ वर्षीय सुशान्त र १३ वर्षीया सम्झनाले घरमै च्याउ उत्पादन गरी बिक्री गर्दै आएका छन्। कलिलो उमेरमै उनीहरूमा आत्मनिर्भर बन्ने र र भविष्यमा उद्यमी बन्ने सोच छ।
सम्झना कक्षा ९ मा अध्ययनरत छिन् । विद्यालयको विज्ञान विषयअन्तर्गत च्याउ उत्पादन गर्ने तरिकाबारे प्रयोगात्मक रूपमा सिकेपछि घरमा पनि च्याउ खेती गर्न थालेको उनी बताउँछिन्। ‘विद्यालयमा च्याउ उत्पादन गर्ने तरिका सिकेका थियौँ। त्यही सीपलाई घरमा पनि प्रयोग ग-यौँ। च्याउ खेती गर्न थालेको तीन वर्ष भयो,’ सम्झनाले भनिन् ।
विद्यालयमा सिकेको ज्ञानले आफूलाई नयाँ काम गर्न प्रेरित गरेको उनको भनाइ छ । पढाइसँगै उत्पादनमूलक काममा लाग्दा सीप र अनुभव दुवै बढेको उनी बताउँछिन्। च्याउ उत्पादन गरेर बिक्री गर्दा सम्झनाले गत वर्ष करिब ४० हजार रुपैयाँ आम्दानी गरेको बताइन् । च्याउ बेचेर आएको पैसाले कापीकलम किन्ने र आफ्नो व्यक्तिगत खर्च जुटाउने गरेको उनको भनाइ छ।
सानै उमेरमा आफ्नै मेहनतबाट आम्दानी गर्न पाउँदा उनलाई खुसी लागेको छ । परिवारको सहयोगमा च्याउ उत्पादन गर्ने, त्यसको हेरचाह गर्ने र बिक्रीका लागि तयार पार्ने काममा उनी सक्रिय छिन् । पढाइसँगै सीप सिकेर काम गर्न सके आफ्ना आवश्यकताका लागि अरूमा निर्भर हुन नपर्ने उनको अनुभव छ ।
सुशान्त पनि बहिनीसँगै च्याउ खेतीमा संलग्न छन् । विद्यालयमा सिकेको कुरा घरमा प्रयोग गर्दै दुवै जनाले मिलेर च्याउ उत्पादन गर्ने गरेको उनले बताए । भविष्यमा पनि यही व्यवसायलाई निरन्तरता दिने उनको सोच छ ।
‘हामी दाजुबहिनी मिलेर च्याउ उत्पादन गर्छौँ। विद्यालयमा सिकेको सीप घरमा प्रयोग गर्न पाउँदा राम्रो लागेको छ । भविष्यमा पनि यही व्यवसायलाई अगाडि बढाउने सोच छ,’ सुशान्तले भने । उनीहरू अहिले पनि च्याउ उत्पादनका लागि आवश्यक तयारीमा जुटिरहेका छन् । विद्यालयमा सिकेको सीपलाई व्यवहारमा उतार्दै उनीहरूले उद्यमशीलताको अभ्यास गरिरहेका छन्।
नेपालमा अवसर नदेखेर धेरै युवा विदेश जाने सोच बनाइरहेका बेला सुशान्त र सम्झनाजस्ता बालबालिकाले भने आफ्नै ठाउँमा केही गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्। च्याउ खेतीजस्ता साना व्यवसायबाट पनि आम्दानी गर्न सकिने र भविष्यमा त्यसलाई विस्तार गर्न सकिने उनीहरूको विश्वास छ । विद्यालयमा प्राप्त व्यावहारिक शिक्षालाई घरपरिवारको सहयोगमा उपयोग गर्नसके विद्यार्थीले पढाइसँगै सीप र उद्यमशीलता विकास गर्न सक्छन्।
सानै उमेरमा च्याउ खेतीमा लागेका यी दाजुबहिनीको प्रयासले मेहनत, सीप र लगनशीलता भए आफ्नै देशमा पनि अवसर सिर्जना गर्न सकिन्छ भन्ने उदारण बनेका छन् ।





Comment