पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको चेपुवामा इक्यान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

मुख्य समाचार

पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईको चेपुवामा इक्यान



काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) आन्तरिक विवाद र नेतृत्वको प्रभावका कारण संस्थागत संकटतर्फ उन्मुख भएको भन्दै सदस्यहरू असन्तुष्ट देखिन थालेका छन्। पूर्वअध्यक्ष प्रकाश पाण्डे र वर्तमान अध्यक्ष शेषराज भट्टराईबीचको शक्ति प्रभावका कारण संघ स्वतन्त्र रूपमा सञ्चालन हुन नसकेको गुनासो बढ्दै गएको छ।

संघका केही सदस्यका अनुसार औपचारिक रूपमा अध्यक्ष शेषराज भट्टराई भए पनि निर्णय प्रक्रियामा पूर्वअध्यक्ष पाण्डेको प्रभाव अझै बलियो देखिन्छ। यसले कार्यसमिति निष्क्रिय बन्दै गएको र नीतिगत निर्णय सीमित व्यक्तिको घेराभित्रै हुने गरेको आरोप लाग्दै आएको छ।

ईक्यान स्थापना शैक्षिक परामर्श व्यवसायलाई मर्यादित, व्यवस्थित र विश्वसनीय बनाउने उद्देश्यले गरिएको भए पनि पछिल्लो समय संघ आन्तरिक राजनीतिमा अल्झिएको सदस्यहरूको भनाइ छ। “संघको एजेन्डा भन्दा पनि व्यक्ति केन्द्रित निर्णय हुन थालेपछि सामान्य सदस्यको आवाज दबिएको छ,” एक सदस्यले नाम नछाप्ने सर्तमा बताए।

यता वर्तमान अध्यक्ष भट्टराई पक्षधरहरूले भने संघलाई सुदृढ बनाउने प्रयास भइरहेको दाबी गरेका छन्। तर आलोचकहरू भन्छन्—नेतृत्व परिवर्तन भए पनि कार्यशैली नबदलिँदा संघ केही सीमित व्यक्तिको नियन्त्रणमै सीमित भएको छ।

शैक्षिक परामर्श क्षेत्र पछिल्लो समय अन्तर्राष्ट्रिय विद्यार्थी आवागमन, नीतिगत कडाइ र नियमनका चुनौतीसँग जुधिरहेको अवस्थामा ईक्यानभित्रको आन्तरिक द्वन्द्वले समस्या झन् जटिल बनाएको सरोकारवालाहरूको भनाइ छ। उनीहरूका अनुसार संघ एकताबद्ध नभएसम्म सरकारसँग प्रभावकारी संवाद र सदस्यको हित संरक्षण सम्भव देखिँदैन।

संघभित्र बढ्दो असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नले आगामी दिनमा ईक्यानको भूमिका र विश्वसनीयतामाथि गम्भीर असर पार्न सक्ने संकेत देखिएको छ।

प्रकाशित : 7 January, 2026 10:02 am