बीमा प्राधिकरण ५६औं वर्षमा प्रवेश,विश्वासिलो र गर्विलो बनाउदै लैजान सरोकारवालाको जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बीमा प्राधिकरण ५६औं वर्षमा प्रवेश,विश्वासिलो र गर्विलो बनाउदै लैजान सरोकारवालाको जोड



काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण ५५ औं वर्ष पूरा गरी ५६औं वर्षमा प्रवेश गरेको छ । अर्थमन्त्रालयले २०२५ सालमा बीमा क्षेत्रलाई नियमन गर्न एउटा छुट्टै इकाईको स्थापना गर्ने निर्णय गर्यो । मन्त्रालयले स्थापना गरेको उक्त इकाई नै पछि गएर बीमा समिति बन्यो ।

यहि बैठकलाई आधार मानेर बीमा प्राधिकरणले वार्षिकोत्सव बनाउने गरेको हो । कतिपयले आजको दिनलाई बीमा दिवस पनि भन्ने गरेका छन् ।

करिब नौ महिना अघि बीमा ऐन २०७९ पारित भयो । भदौ अन्तिममा संघीय संसदबाट पारित भएको बीमा विधेयक असोज २२ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रमाणीकरण भएपछि ऐन आएको हो । विधेयक पारित भएसँगै बीमा रुपान्तरित भएको छ । बीमा समिति स्वतः नेपाल बीमा प्राधिकरणमा रुपान्तरण भएसँगै बीमा क्षेत्रको निर्णय गर्ने स्वायत्त अधिकार थप प्राप्त भएको छ ।

नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले नयाँ एेन आए संगै बीमा क्षेत्रमा नयाँ जागरणको सुरुवात भएको बताएका छन् । नयाँ ऐन ल्याएपछि बढी स्वतन्त्रताको अभ्यास सुरु भएको बताए ।

बीमा कम्पनीहरुलाई आवश्यक मार्गदर्शनहरु पनि सुझाव र छलफलका आधारमा नै तयार हुने गरेको अध्यक्ष सिलवालले बताए । ‘कुनैपनि निर्देशिका बनाउँदा हामीले खुला रुपमा प्राधिकरणको बेवसाइटमा राखेका छौं । त्यसबाट तपाईको सुझाव आवोस्, आएका सुझावका आधारमा आवश्यक नीति अवलम्बन गर्न सकियोस् । सबैको अपेक्षा पुरा गर्न सकियोस् भन्ने हो’, उनले भने । अहिले बीमा प्राधिकरण स्वतन्त्र हुँदै छ, नियमनको क्षेत्रको विश्वस्त बन्दै गएको छ ।

उनले प्राधिकरण नियमनको क्षेत्रमा पनि थप विश्वस्त बन्दै गएको दावी गरे । उधारो बीमा बन्द गराएपछि प्रगति गर्दै आएको बताए । उनले भने,‘बीमा विश्वासको व्यवसाय हो । हामीले उधारो बीमा हुन्न भन्यौं, त्यसपछि तपाईहरुले छोडेको हो । हाल यसमा प्रगति भइरहेको छ । बीमा प्रतिको विश्वास बढाउन वातावरण बनाउन हाम्रो उत्तिकै चासो छ ।’

बीमाको सेवालाई थप विस्तार गनुपर्ने आवश्यकता रहेको अध्यक्ष सिलवालले बताए । सर्वसाधारणमा बीमाको बारेमा बुझाउन अझै बाँकी रहेको उनको भनाई छ ।

जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले नेपाल बीमा प्राधिकरणको ५६औं वार्षिकोत्सव बीमा क्षेत्रका सबैको लागि गर्वको दिन भएको बताएका छन् । बीमा क्षेत्रलाई अझ विश्वासिलो र गर्विलो बनाउदै जानु पर्ने भन्दै अध्यक्ष पौडेलले सबैको संयुक्त प्रयासमा मात्रै यो सम्भव हुने बताए ।

बीमा कर्मीहरुको ठुलो उपस्थितिले बीमा क्षेत्रको गरिमालाई बढाएको नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बताए । यो समुहले बीमाको पहुँच बढाउन गाउँघरमा पुग्नु पर्ने उनको तर्क छ ।

ग्रामीण क्षेत्र तथा न्यून आय भएका वर्गलाई बीमाको दायरामा ल्याउन, छिटो छरितो रुपमा सहज र सरल ढंगबाट दावी भुक्तानीको व्यवस्था गरी जनविश्वास अभिवृद्धि गर्न र जनचेतना जगाउन ६ वटा प्रदेशमा प्रादेशिक कार्यलय सञ्चालनमा ल्याएको छ । साथै, प्राधिकरणले अन्तर्राष्ट्रिय प्रचलनमा रहेका बीमाका नवीनतम सिद्धान्त एवं मान्यताहरू अवलम्बन गर्दै बीमासँग सम्बन्धित कानूनहरु समयसापेक्ष परिमार्जन गर्दै आएको छ ।

प्राधिकरणले बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्न, बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धि गरी बीमा क्षेत्रमा भएका अस्वस्थ्य प्रतिस्पर्धालाई न्युनीकरण गर्न तथा बीमाको गुणस्तरलाई वृद्धि गर्न बीमा कम्पनीहरू एक अर्कामा गाभ्ने तथा गाभिने कार्यलाई प्रोत्साहित गर्दै आएको छ ।

प्रकाशित : १ जेष्ठ २०८१, मंगलवार ०५:२५