२१ संस्थाको संगमः ग्लोबल आइएमई बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

२१ संस्थाको संगमः ग्लोबल आइएमई बैंक



काठमाडौं । २०६३ सालमा ‘क’ वर्गको कारोबार इजाजत प्राप्त गरी सञ्चालनमा आएको तत्कालीन ग्लोबल बैंक लिमिटेडले चरम उतारचढाव र अफ्ठ्याराहरुलाई छिचोल्दैँ १७ औँ वर्ष पार गरेको छ । २०६९ सालमा साबिकको आइएमई फाइनान्सियल इन्स्टिच्यूसन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई गाभ्दै ग्लोबल आइएमई बैंक लिमिटेड बनेको बार्षीक समीक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

पछिल्लो पटक बैंक अफ काठमाडौं लिमिटेडलाई गाभ्दै आफुलाई प्रभावशाली सावित गरेको बैंकले हालसम्म २१ वटा बैंक तथा वित्तिय संस्थाहरुलाई गाभेको छ। ग्लोबल आइएमई बैंकले जनतालाई कसरी बैंकिङ्ग प्रणालिमा आबद्ध गराउने र बचत गर्न सिकाउने भन्नेतर्फ केन्द्रीत रहेको उल्लेख गरेको छ । बैंकले “सबैंका लागि बैंक” भन्ने मुख्य दृष्टिका साथ बैंकका संस्थापक, सञ्चालक, व्यवस्थापन तथा कर्मचारीहरू ग्राहकलाई सर्वसुलभ तथा विशिष्टिगत सेवा प्रवाहमा केन्द्रित भई साच्चिकै सबै नेपाली लगायत अन्य देशका सेवाग्राहीले आफ्नो बैंक भन्ने अपनत्व महसुस गराउन लागि परेको जनाएको छ ।

बैंकको १७ औँ वार्षिक साधारण सभाका अवसरमा अध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकको पहुँच नपुगेका नागरिकहरूलाई सेवा पुर्याउने प्रमुख प्राथमिकता बैंकले राखेको जानकारी दिए । उनले ७७ जिल्लाहमा शाखा बिस्तार भएको भन्दै बैंकले आर्थिक वर्ष २०७९/०८० मा ९ अर्ब २६ करोड ५५ लाख मुनाफा गरेको बताए । उनले कुल मुनाफामा सरकारलाई तिरेको करपछिको मुनाफा भने बैंकले ६ अर्ब ६९ करोड ४४ लाख हासिल गरेको बताए ।

२१ संस्थाको संगम

देशकै ठुलो वाणिज्य बैंक बन्न सफल ग्लोबल आईएमई बैंक अन्य बैंकहरुको साथै वित्तिय संस्थालाई पनि आफुमा गाभ्ने अभ्यासमा थियो । १७ बर्षको अन्तरालमा आईपुग्दा हालसम्म बैंकले अन्य २१ संस्थाहरु आफुमा गाभिसकेको जनाएको छ । ग्लोबल आइएमई बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकका साथै १९ वटा बिकास बैंक र फाइनान्स कम्पनीहरु गाभिएको बैंकले जनाएको छ । तथा देशको ठुलो वाणिज्य बैंक ग्लोबल आइएमई बन्नुपूर्व बैंक अफ काठमाण्डू लिमिटेडलाई पनि आफ्नो क्षेत्राधिकारमा ल्याएको प्रतिवेदनमा उल्लेख छ । बैंकमा मिसिने ग्लोबल बैंक लिमिटेड, आइएमई फाइनान्सियल इन्स्टिच्युसन लिमिटेड र लर्ड बुद्ध फाइनान्स लिमिटेड रहेको बैंकले जनाएको छ ।

त्यस्तै, सोसियल डेभलपमेण्ट बैंक लिमिटेड तथा गुल्मी विकास बैंक लिमिटेड, कमर्ज एण्ड ट्रष्टबैंक नेपाल लिमिटेड, प्यासिफक डेभलपमेण्ट बैंक लिमिटेड तथा रिलायबल डेभलपमेण्ट बैंक लिमिटेड, हाथवे फाइनान्स क. लिमिटेड तथा जनता बैंक नेपाल लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गरी अन्य थुप्रै बैंक वित्तिय संस्था मिसिएर हाल २१ वटा पुगेका छन् ।

भावी कार्यक्रम

हाल अर्थतन्त्रमा प्रतिकुल प्रभाव परेको र सोको प्रभावलाई न्यूनीकरण गर्न ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवर्तन सेवा प्रवाहमा लागि बैक लागि परेके बताएको छ । ग्राहकलाई सर्वसुलभ बैंकिग सेवाको साथै व्यवसायिक आयका श्रोतमा दिगो वृद्धि भई आफ्ना शेयरधनीहरूलाई सदाझैँ उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभुति दिलाउने बैंकको अपेक्षा रहेको छ ।

रणनीति तथा कार्ययोजनाहरू

“सबैंको लागि बैंक” भन्ने नारालाई व्यवहारमा नै रुपान्तरण गर्नका लागि स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयहरू मार्फत वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अगाडी बढ्ने लक्ष्य बैंकले लिएको छ । बैंकले देशका ७७ वटै जिल्लामा आफ्ना शाखा कार्यालयहरू, शाखा रहित बैंकिङ्ग सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरहरू समेत जम्मा १०६८ मार्फत ४५ लाख भन्दा बढी ग्राहकहरूलाई बैंकिग सेवा प्रदान गर्दै आइरहेको बैंकले आफ्नो प्रगति विवरणमा उल्लेख गरेको छ । मुलुकभर अझैपनि ठुलो संख्यामा बैंकिग पहुँच बाहिर रहेका जनतालाई बैंकिग सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको बैंक संचालक समितिको भनाइ छ ।

बैंकको अन्तर्राष्ट्रिय पहिचानलाई थप विस्तार गर्ने, देश वाहिर गएका आप्रवासी नेपालीहरूलाई स्वदेशी तथा विदेशी मुद्रामा खाता खोल्न प्रोत्साहत गर्ने, रेमिट्यान्सको भरपर्दो माध्यम उपलव्ध गराउने नीति एवं अन्तर्राष्ट्रिय व्यापार प्रवर्धनलाई सहयोग पुर्याउने उद्देश्यले अष्टे«लिया, भारत तथा संयुक्त अधिराज्यमा प्रतिनिधि कार्यालयहरू संचालनमा रहेको बैंकले जनाएको छ ।

यसै क्रममा एशियाको महत्वपुर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयास जारी रहेको बैंकको भनाइ छ । ‘उक्त मुलुकमा अत्यधिक मात्रामा नेपालीहरू कामदारको रुपमा रही आएको तथ्यलाई दृष्टिगत गरी बैंकिंग सेवा प्रवाह गर्न सक्ने लक्ष्य तथा विश्वासका साथपहल गरि आएका हौ। तर, देश कै क्रेडिट रेटिंगको अभावको कारण यसमा ढिलाई भैरहेको छ,’ संचालक समितिका एक सदस्यले भने ।

बजारमा थप लगानी गर्न सक्षम तुल्याउने मात्र नभई तरलता व्यवस्थापन तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहिचानलाई सवल बनाउन समेत मद्दत पुग्ने विश्वास लिइएको उनले जनाए । नेपालको भौगोलिक सामाजिक संरचनाको आधारमा साना तथा मझौंला उद्योग व्यवसाय क्षेत्रले नै नेपालको अर्थतन्त्रलाई टेवा दिई अगाडी वढाउन सकिन्छ भन्नेमा विश्वास रहि आएकै कारण वैंकले आफ्नो स्थापना कालदेखि नै यसै क्षेत्रमा कर्जा प्रवाहलाई प्राथमिकतामा राखेको जनाएको छ । बैंकलेअलग्गै ग्लष्त स्थापना गरी हरित लगानीको क्षेत्रमा लगानी प्रबद्र्धन गर्दै आईरहेको र उत्पादनमूलक उद्योगहरूका साथै आयात प्रतिस्थापन एवं निर्यातमूलक उद्योगहरूमा प्राथमिकताका साथ लगानी बृद्धि गर्दै जाने बैंकको योजना रहेको संचालक समितिको भनाइ छ ।

मुलुकको अर्थतन्त्रमा करिव २७ प्रतिशत योगदान भएको तथा झण्डै ६५ प्रतिशत जनसंख्याको जीवन आधारको रुपमा रहेको कृषि क्षेत्रको लगानीलाई प्राथमिकतामा राखी लगानी गर्ने उद्देश्यले बैंकले छुट्टै कृषि लगानी सम्बन्धी विभाग गठन गरी कार्यारम्भ गरिसकेको परिप्रेक्ष्यमा यसबाट सकारात्मक नतिजा प्राप्त गर्ने अपेक्षा सहित प्रभावकारी कार्यान्वयनको नीति लिईएको बार्षीक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै, मुलुकभर विकासको पूर्वाधार निर्माण सम्वन्धी कार्यहरू निरन्तर रुपमा वृद्धि भैरहेको परिप्रेक्ष्यमा निर्माण व्यवसायीहरूसंग सहकार्य गर्दै अगाडी बढ्ने अवसरलाई सदुपयोग गर्ने गरी सोको प्रवद्र्धनको निमित्त छुट्टै इकाई स्थापना गर्ने पनि जनाएको छ । समीक्षा वर्षमा बैंकले व्यवसाय वृद्धिमा श्रोतको कमी नहोस भन्नका लागि श्रोत संकलन प्रयोजनका लागि ५ बर्षमा परिपक्क हुने रु. ५ अर्वको ऋणपत्र जारी गरेको उल्लेख छ । जारी ऋणपत्रले बैंकको व्यवसाय प्रर्बद्घनमा ठुलो सहयोग पुग्नुका साथै शेयरधनीले प्राप्त गर्ने लाभाँसमा समेत सकारात्मक प्रभाव पार्ने अपेक्षा बैंकले लिएको छ ।

स्टकब्रोकर सम्बन्धी काम गर्न अनुमति

धितोपत्र बजारको विकास तथा विस्तार गरी यसको सेवा तथा गुणस्तरमा स्वच्छ, निष्पक्ष, पारदर्शी र प्रतिष्पर्धी बनाउँदै धितोपत्र बजारमा सर्वसाधारण लगानिकर्ताको पहुँच अभिवृद्धि गर्ने उद्देश्यले बैंकको शतप्रतिशत लगानीमा स्थापित जेबिएनएल सेक्यूरिटिज लि.लाई नेपाल धितोपत्र बोर्डबाट सिमित कार्य गर्ने धितोपत्र दलाल ब्यवसायीको रुपमा धितोपत्र ब्यवसाय गर्न अनुमति प्राप्त भएको बैंकले जनाएको छ । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को सदस्यता पत्र नं ८९ रहेको यो कम्पनीको चुक्ता पुँजी २० करोड र रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं १० शंखमुल मार्ग, नयाँ बानेश्वरमा रहेको जनाइएको छ ।

प्रविधिमा फड्को

सूचना प्रविधिको दु्रततर विकासले बैंकिङ्ग क्षेत्रमा असिमित सम्भावनाहरू श्रृजना गरिरहेको परिप्रेक्ष्यमा ग्लोबल आइएमइले सूचना प्रविधि क्षेत्रमा उच्च सफलता हाँसिल गरेको दाबी गरेको छ । आगामी दिनमा उपलब्ध प्रविधिको अधिकतम सदुपयोग गर्दै बैंकका सम्पूर्ण ग्राहकहरूलाई थप सुरक्षीत तथा अत्याधुनिक सेवासुविधा उपलब्ध गराउने बैंकको भनाइ छ ।

कोभिड १९ आएसंगै आधुनिक नेपालले डिजिटलको दुनियाँमा असाधारण फड्को मारेको छ र सो को प्रत्यक्ष प्रभाव सिंगो बैंकिङ्ग क्षेत्रमा परेको प्रष्ट छ । ग्राहक स्वयम् बैंकमा प्रत्यक्ष उपस्थिती नभएपनि बैंकबाट उपलब्ध धेरै किसिमका सेवाहरू डिजिटलको माध्यमबाट उपलब्ध गराईरहेको र यस्तो किसिमको सेवा शतप्रतिशत विस्तार गर्न बैंक कटिबद्ध बार्षीक समीक्षामा उल्लेख छ ।

कर्मचारीको प्रत्यक्ष संलग्नता विना नै नगद पहिचान गरी गणना गर्ने, छान्ने,छाट्ने र सोको भरपाई समेत उपलब्ध गराउने समेतको सेवा दिने Cash deposit machine / Outward cheque accept गरी Clearing मा पठाउने लगायतको सेवा दिने Cheque deposit kiosk (Kiosk) खरिदगरी संचालनमा ल्याएका छ । बैंकको नियमित सेवाको लागि उपलब्ध यस किसिमको अत्याधुनिक प्रविधिको प्रयोगले कार्यक्षमतामा वृद्धि गरीसञ्चालन खर्च समेत कटौती हुने बैंकले बिश्वास लिएको छ ।

बैंकले समीक्षा वर्षमा आधुनिक प्रविधिमा आधारित Contactless VISA CARD संचालनमा ल्याएको छ ।Mobile Banking, QR Code Payment System, Internet Banking आदि सेवाहरूलाई थप सहजर परिस्कृत बनाउनुका साथै अन्य यस्तै प्रविधिमा आधारित सुविधाहरू थप लगिने बैंकले जनाएको छ । बैंकको Core Banking System- Finacle 7 लाइ Finacle Version 10” मा Upgrade गरेको छ ।

बैंकको बढ्दो शाखा सञ्जाल तथा ग्राहक संख्याका कारण आउने चुनौतिहरूलाई सहज बनाउएको र सूचना व्यवस्थापनलाई समेत चुस्त राख्न मद्दत पुगेको प्रतिवेदनमा जनाइएको छ । यसैगरी लामो समयसम्म सुरक्षित गर्नुपर्ने लिखत कागजात(हरू)को सुरक्षणको लागि Centralized Document Repository System प्रयोगमा ल्याएको छ । बैंकको वेभसाईट बैंकको ऐना हो भन्ने मान्यता अनुरुप सार्वजनिक पहुचमा रहने वेभसाइट सरल, सहज र आकर्षक हुनुपर्दछ भन्ने मान्यताको आधारमा Modern feature रहेको वेभसाइट संचलनमा ल्याएको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन र प्रचलित सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयनको लागि बैंकले AML Software मार्फत ग्राहकको सुचना व्यवस्थापन, आवश्यक रिर्पोटिङ्गका साथै शंकास्पद कारोबारको पहिचान तथा रिर्पोटिङ्ग स्वचालित गर्दै आएकोमा यस कार्यलाई थप प्रभावकारी बनाउँदै लाने बैंकले दाबी गरेको छ ।

पछिल्ला दिनहरूमा देखिएका सूचना प्रविधि सम्बन्धी चुनौतिहरूलाई आत्मसात गरी भविष्यमा हुन सक्ने यस्ता घटनाहरूको सम्भाब्यतालाई पूर्व पहिचान गरी रोकथामका उपाय अपनाउने तर्फ बैंक सचेत रहेको वार्षीक समीक्षामा उल्लेख छ । यसका लागि नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार सुचना प्रविधि सम्बन्धमा आकस्मिक सहायता समुह परिचालन गरिएको जनाइएको छ ।

ब्यवसायिक आकार एवं कारोवार सञ्जाल समेत उल्लेख्य मात्रामा वृद्धिभएको र बैंकबाट उपलब्ध सेवामा तेस्रो पक्ष समेत जोडिएको वा अन्तरनिर्भर हुनुपर्ने बाध्यात्मक अबस्था रहेको, १६० भन्दाबढी सर्भर, नेटवर्क डिभाईस जस्तै LOS, HRIS, Mobile Banking, Internet Banking, Remittance Applications, SWIFT System संचालनमा ल्याएको वस्तुगत तथ्य एवं सुचना प्रविधि पुर्वाधारको विकास तथा मजबुतिकरण गरी बैंकिग सेवामा पुर्ण डिजिटलाईजेशन गर्दै लैजाने नीति रहेको परिपे्रक्ष्यमा अन्तर्राष्ट्रिय स्तरमै बिश्वासिलो र भरपर्दो Information System Audit गर्न प्रकृया अगाडी बढाईएको छ । सूचना प्रविधि लेखापरीक्षण गर्ने कार्यलाई आगामी वर्षहरूमा समेत निरन्तरता दिई बैंकको सूचना प्रविधिलाई अझ मजबुत बनाउने लक्ष्य लिइएको छ ।

राष्ट्रिय अर्थतन्त्रमा योगदान

आव २०७९/८० मा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र श्रोतमा करकट्टी गरी करिव ६ अर्व ४० करोडको योगदान गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा बैंकहरू तर्फ सबैभन्दा बढी आयकर तिर्ने बैंकको रुपमा नेपाल सरकार, आन्तरिक राजश्व विभागले ग्लोबल आइएमई बैंकलाई सम्मान गरिसकेको छ ।

देशको विभिन्न स्थानमा कार्यालय संञ्जाल विस्तारसंगै छरिएर रहेको पूँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा समेत महत्वपूर्ण योगदान पुर्याएको बैंकको दाबी छ । यसको अतिरिक्त राष्ट्रिय रोजगारीमा पनि नियमित र सेवा सम्झौता मार्फत ३६७७ जना भन्दा बढी नेपाली नागरिकहरूलाई प्रत्यक्ष रोजगारको अवसर प्रदान गरी उल्लेखनीय योगदान गर्दै आएको बैंकको बार्षीक समीक्षा प्रतिवेदनमा उल्लेख छ ।

सबै ठाउँमा बैंकको पहुँच पुर्याउने ग्लोबल आईएमई बैंकको प्रमुख प्राथमिकता : अध्यक्ष ढकाल

प्रकाशित : १ पुष २०८०, आईतवार १३:०६