अर्थतन्त्र चलायमान बनाउने हिसाबले हुने हरेक प्रयास विभिन्न क्षेत्रबाट भएका नै छन् । बैकिंङ क्षेत्रको समस्यालाई नेपाल राष्ट्र बैंकले केही हद सम्म सम्बोधन गरेको छ । ब्याजदरको कुरा गर्ने हो भने अहिले सम्मको न्यून नै छ । केन्द्रिय बैंकको नीतिले पनि अब ब्याजदर यो भन्दा तल झर्न सक्दैन ।
कर्जाको ब्याज पनि न्यून नै छ । यो अवस्थामा पनि कर्जाको माग हुन सकेको छैन । कर्जाको माग नहुनु भनेको व्यापारीले लगानीको संभावना नदेखेर नै हो । अर्थतन्त्र चलायमान हुनको लागि धेरै कुरामा निर्भर रहन्छ । मुख्य कुरा भनेको आयत प्रतिस्थापन नै हो । जब सम्म हामी उत्पादन तर्फ जान सक्दैनौँ अहिलेको अवस्थाबाट पार पाउन मुस्किल नै छ ।
हामी बढी नै आयत मुखी भएका छौँ । अर्को पक्ष भनेको नेपालमा उद्योग त खोल्ने भनिन्छ । उद्योग खोल्दा चाहिने केही कच्चा पदार्थ आयत नै गर्नु पर्छ । हाम्रो भन्सार नीति प्रष्ट छैन । हामी राजश्व मुखी बढी भयौँ । कच्चा पदार्थ ल्याएर सामान बनाउनु भन्दा भारत लगायतका अन्य देशबाट सोझै आयत गर्दा सस्तो पर्न आउने गर्छ ।
उद्योगहरु त खुल्छन सरकारका नीतिहरु परिर्वतन भै रहने कारणले पनि धरासायी बन्दै गएका छन् । स्थिर नीति नहुँदा समस्या छ । अर्थतन्त्र चलायमान बनाउने क्षेत्र भनेको निर्माण क्षेत्र र घरजग्गा नै हो । घरजग्गाको कारोबार अहिले ठप्प जस्तै नै छ । आर्थिक सुधारका लागि अहिले जग्गाको किनबेच मात्रै हुनु पर्छ भनेको हैन । अपार्टमेण्टहरु बन्न सहज हुनु पर्यो । निजी घरहरु पनि बन्नु पर्यो । त्यस किसिमको वातावरण तयार गर्नु आवश्यक भएको छ ।
यसले निर्माण सामग्रीको बजार चलायमान बनाउँछ । अहिले सिमेण्ट, छडको उद्योगमात्रै होइन, देशभरका हार्डवेयर व्यवसाय पनि मृतप्रायः छन् । निर्माणका साथै इन्टेरियर डिजाइन र अन्य घरायसी सामग्रीको बजार पनि फैलिन पाएको छैन । निर्माण क्षेत्रका मजदुरको आम्दानी घटेको छ । यो क्षेत्रलाई चलायमान बनाउने हो भने आन्तरिक अर्थतन्त्र विस्तारै लयमा फर्किन्छ ।
निर्माण क्षेत्रको कुरा गर्ने हो भने बक्यौता तिर्नकै लागि मात्र केन्द्रित हुने र नयाँ काम नहुने समस्या छ । नयाँ परियोजनामा ठेक्का लागे पो उधोग खुल्छन ।
हाम्रो नेपालको अर्थतन्त्र सानो छ । लगानी कहाँ गर्ने ? नयाँ उद्योग एउटै आउन सकेको छैन । भएका पनि बन्द छन् । अहिले कर्जाको माग हाइड्रोमा बाहेक केही आउदैन । हाइड्रोमा लगानी किन र कसरी गर्ने ? हामीले उत्पादन गरेको बिजुली भारतले किन्छ भन्ने आशमा रहेर लगानी गर्ने अवस्था छैन ।
भारतसंग पनि हाम्रो व्यापारको नीति र सम्बन्ध उही रहि रहन्छ भन्ने अवस्था नै छैन । यसमा हामीले जोखिम भन्दा पनि नेपाल राष्ट्र बैंकको निर्देशित कर्जा भएकाले लगानी गर्नु पर्ने बाध्यता पनि छ । जोखिम भनेको नै बजारको हो । उत्पादन गरे पछि त बजार पाउनु पर्छ । बजारको सुनिश्चित गरेको खैँ ?
लगानीको अर्को बाध्यकारी क्षेत्र भनेको कृषि हो । कृषिको संभावना हाम्रोमा अथाहा छ । तर, त्यसको विकास व्यवसायिक हिसाबले हुन सकेन । व्यवसायिक हिसाबले म कृषि गर्छु भनेर आए पनि जोखिम छ । बजार नभएको हैन कृषिको बजार छ । तर, कृषकले पाउने मुल्य र उत्पादनलाई बजार सम्म ल्याउनका लागि आवश्यक स्रोत साधनको कमि छ । सरकारले विभिन्न अनुदानका कार्यक्रम मार्फत प्रोत्साहन गर्ने भनेको काम त गरेको छ । त्यो त्यती प्रभावकारी भएको छैन ।
जब सम्म बजार चलायमान हुँदैन आर्थिक समस्याको समाधान नै हुँदैन । अहिलेको डरलाग्दो समस्या भनेको बैंकहरुसंग धेरै पैसा हुन नै हो । नाफा घट्दो क्रममा रहेको छ । ऋणीहरु हाबी छन् । कर्जाको ब्याज घट्दो छ । एउटा बैंकले घटेर नदिए अर्कोमा जाने जोखिम छ । ऋणको ब्याजमा बैंकहरु कुन हद सम्म तल झर्ने भन्ने समस्या छ ।
अहिले बैंकमा पैसा छ । लगानी नै छैन । त्यसकारण कहिले सम्म हामीले यो नोक्सानी लिदै जाने हो ? नोक्सानी कति बहन गर्ने भन्ने एउटा क्षमता हुन्छ । त्यो पार गरेको बेला के होला यस तर्फ सबैले सोच्न जरुरी छ । दिर्घकालिन रुपमा बजार कस्तो हुन्छ भनेर अहिले आकलन गर्न सक्ने अवस्था छैन । आज सहज भयो, एक महिना पछि अहिलेकै अवस्था रहन्छ र यो अवस्थाले दिर्घकालिन रुपमा फाइदा हुन्छ भन्ने अवस्था नै छैन ।
कुराकानीमा आधारित
Comment