‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

‘निर्यात प्रवर्द्धन गर्न इमानदारपूर्वक काम गर्न तयार छौँ’



पाटन । युएई, थाइल्यान्ड र कुवेतका लागि नेपाली राजदूतहरुले निर्यात प्रवर्द्धनका लागि इमानदारीपूर्वक काम गर्ने बताए । निर्यात प्रवर्द्धनका लागि व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रले आज ललितपुरमा आयोजना गरेको अन्तरक्रियामा उहाँहरुले सम्बन्धित देशका व्यापार सम्बद्ध सङ्घसंस्थासँग भेटघाट गरेर सहजीकरण गर्ने विश्वास दिए ।

थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले व्यापार प्रवर्द्धनका लागि जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्ने प्रस्ट पारे । “ व्यापार तथा निर्यात प्रवर्द्धनका लागि व्यवसायीहरु पनि मिलेर काम गर्न सक्ने अवस्था सृजना गर्नुपर्छ ।

जागरुकतालाई रचनात्मक बनाउनु प¥यो, विश्वमा अलैँची, अदुवा र चिराइतोमा नेपाल उत्कृष्ट छ, बङ्गलादेशमा नेपाली स्ट्राबेरीको बेग्लै बजार छ, नेपाली फुटवेरको राम्रो सम्भावना छ । जहाँ सम्भावना छ, त्यहाँ सम्पूर्ण शक्ति लगाएर इमानदारीपूर्वक काम गर्छौँ ।”, राजदूत ओलीले भने ।

कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले त्यहाँ रहेका नेपालीको समस्या समाधान गर्ने र व्यापार प्रवर्द्धनका लागि सहजीकरण गर्ने बताए । “श्रमसँग र व्यापारसँग सम्बन्धित काम हाम्रो प्राथमिकता हो । नेपालको उत्पादनलाई बिक्री गर्ने प्रमुख काम नै हो । जुन अपेक्षा छ, ती पूरा हुन्छन्, राजदूतावासको रिसेप्सनमा नै नेपाली उत्पादन राखेर प्रवर्द्धन भइरहेको छ । त्यसलाई अझ प्रभावकाकरी बनाउँछौँ”, राजदूत लम्सालले भने ।

युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले नेपालको व्यापार घाटा ठूलो भएको बताउँदै यसलाई कसरी कम गर्न सकिन्छ भन्ने चुनौती रहेको धारणा राखे । “हामीले दिने सेवामा पासपोर्ट, भिजा लगायतका कन्सुलर सेवा त छँदैछ, त्यसका अलावा विभिन्न एक्स्पोमा स्टलहरु निःशुल्क गराउन पहल गर्नेछु । नेपालीलाई विदेशमा मेला पर्वहरु गर्न उत्साहित गर्छौँ, के बेच्न सकिन्छ भनेर लक्ष्य निर्धारण गर्न आग्रह गर्न चाहन्छु”, राजदूत खत्रीले भन्ने।

उनले नेपाली व्यापारीले आग्रह गर्दा जहिले पनि सहजीकरण गर्न तयार हुने बताए । उनले निर्यात गर्ने उत्पादनलाई प्याकेजिङ र लेबलिङ र ब्रान्डिङमा जोड दिनुपर्ने धारणा राख्नुभयो । निर्यात परिषद्को अध्यक्ष रेशम पोखरेलले युएईका लागि कार्पेट निर्यात गर्न प्रचुर सम्भावना भएको बताउँदै प्रमाणीकरण र निर्यातका लागि दूतावासले पहल गरिदिनुपर्छ भन्ने धारणा राखे ।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले विगत वर्षमा छुर्पी करिब रु तीन अर्बको निर्यात भएको पाइन्छ भन्दै छुर्पीको पेटेन्ट राइट लिनुपर्ने धारणा राखे । उनले अहिले जापानमा घ्यू आवश्यक रहेको भन्दै त्यहाँ कसरी पठाउने त भन्ने विषयमा सोच्न सक्दा राम्रो हुने बताए ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणाले सरकारले मेला आयोजना गर्न दिने बजेट कम भएको बताउँदै त्यहाँका सङ्घसंस्था र आयोजकसँग सहुलियत स्टल उपलब्ध गराउन पहल गरिदिनुपर्नेमा जोड दिए । उनले राजदूतहरुले राष्ट्रप्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउँदा हाम्रो देशको ब्रान्ड उत्पादन गिफ्टका रुपमा दिन सक्दा व्यापार प्रवर्द्धनमा राम्रो हुन्छ भन्नेमा जोड दिए ।

प्रकाशित : २४ भाद्र २०८०, आईतवार २०:१३