सहकारी दिवसको अवसर पारेर फरक फरक नारा तय गरी सोही नारालाई आत्मसाथ गरी अगाड बढ्ने प्रण गरीन्छ । यस बर्ष पनि सहकारी दिवसको अवसरमा सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने नारा तय भएको छ । यसरी नारा तय गरे पछि सो नारा लाइ सफल बनाउन एक बर्ष भरी बिभिन्न कार्य गर्नुपर्दछ । यस बर्षको नारामा पनि सुशासनले प्राथमिकता पाएको छ । सहकारी मा सुशासन कायम गर्नको लागि धेरै कुराहरु गर्न सकिन्छ र गर्नुपर्दछ । सरसर्ति हेर्दा सहकारीमा सुशासन कायम गर्नको लागि कार्य गर्ने योजना सबै सहकारीको रहेको हुन्छ तर प्रथम कार्यमा प्रायको ध्यान गएको देखीदैन । यसै बिषयलाइ यहा उठान गर्न जरुरी देखेर केही कुरा लेख्ने जमर्को गरेको छु ।
सुशासन भन्ने बित्तिकै बिधिको शासन हो । बिधिको सासन भन्नाले सहकारी संस्थाका शेयर सदस्यहरु मिलेर जे नीति तथा कार्यविधि बनाइएको हुन्छ सोही बमोजिम कार्य गर्नु हो । सहकारी संस्थाका शेयर सदस्यहरुले साधारण सभामा नीति तथा कार्यविधि तयार गर्दा कानूनको परिधि भित्र रही जे गर्न सकिन्छ त्यहि मात्र लेखेर नीति तथा कार्यविधि बनाउनु पर्दछ र जे जे लेखिन्छ त्यो अक्षरस पालना गर्नु पर्दछ । सहकारी संस्थामा बिनियम, ऋण कार्यविधि, बचत कार्यविधि, प्रशासन कार्यविधि, लेखा कार्यविधि, आर्थिक प्रशासन नियमावली लगाएतका धेरै कार्यविधिहरु हुन्छन् । ति कार्यविधिहरुमा जे जे लेखिएको छ सोही बमोजिम संस्था सञ्चालन गर्नुनै सुशासन हो भन्ने लाग्छ ।
सुशासनका धेरै कार्यहरु र क्षेत्रहरु हुन्छन् तर आज मैले उठान गर्न लागेको बिषय सुशासनको अपरिहार्य कार्य जसलाई साधारण मानी त्यति ध्यान दिईएको हुदैन त्यस्तो बिषय उठान गरी महासंघले तय गरेको नारालाई यस बर्ष सफल बनाउन केही सहयोग गर्ने ईच्छा गरेको छु । सहकारी संस्थाहरुमा लेखा कार्यविधि हुन्छ सो कार्यविधि बमोजिम लेखा राख्ने मनस्थिति बनाईएको हुन्छ र राखेको कुरामा दावी गरीएको हुन्छ तर कार्यविधि बमोजिम छ वा छैन स्वपरिक्षण गरी सुशासन कायम भएको एकीन गरीएको हुँदैन ।
सहकारी संस्थामा सुशासन कायम गर्न बिशेस ध्यान दिनुपर्ने साधारण कुराहरु गर्दा सहकारी संस्थाको वासलातमा भएका शिर्षकहरु र त्यो शिर्षकमा आएको फरक फरक विवरणहरु बारेमा ध्यान नदिनु भनेको सहकारी संस्थाको सुशासन बिग्रने पहिलो खुट्कीलो हो । यहाँ वासलात भित्र रहेका बिभिन्न शिर्षकहरु मध्ये केही बिषेश शिर्षकहरुको बारेमा चर्चा गरीने छ । यि शिर्षकहरुको बारेमा स्वपरिक्षण गर्नु सहकारी संस्थाको दायित्व हो ।
सहकारी संस्था स्वनियमनमा चल्ने हुनाले संस्था भित्रैबाट क्रमश लेखा शाखा, ब्यवस्थापक, कोषाध्यक्ष, लेखासुपरिवेक्षण समिति, आन्तरीक लेखापरीक्षकबाट नै निरिक्षण गरी हिसाव मिलेको कुरामा एकीन भई सुशासन छ भन्ने कुरामा ढुक्क हुनुपर्दछ । यसको साथै बाह्य लेखापरीक्षकले अनिवार्य रुपमा उल्लेखित बिषयहरु परिक्षण गरी मिले नमिलेको कुरा बाह्य लेखा परिक्षण प्रतिवेदनमा खुलाईदिएको हुनुपर्दछ । सहकारी संस्था आवद्ध भएको संघहरुले पनि यि कुराहरु निरिक्षण गरी सहिमार्गमा हिड्न सुझाव दिने र सुझाव नमानेमा सम्बन्धित नियमनकारी निकायलाई जानकारी दिनु पर्दछ । सहकारी संस्थाको नियमनकारी निकायले पनि आफ्नो निरिक्षणको क्रममा यि कुराहरु निरिक्षण गरी सुधार गर्नुपर्ने भएमा सुधार गर्न लगाउनु पर्दछ । यसरी तत् तत् निकायले आआफ्नो जिम्मेवारी पुरा नगरेको अवस्थामा जिम्मेवारीको हदसम्म सबैले सुशासन कायम नगरेको बुझ्दा त्यति असहज नहोला ।
नगद
सहकारी संस्थामा दैनिक नगदको कारोवार हुन्छ । यसरी कारोवार भएको रकम मध्ये आर्थिक बर्षको अन्त्यमा भएको नगद रकमलाई वासलातको सम्पत्ति पक्षमा देखाईएको हुन्छ । यसरी देखाईएको नगदको कुल अंक बराबर भौतिक नगद छ वा छैन भनेर एकीन गर्नुपर्ने हुन्छ । यो बिषयमा नत लेखा परीक्षकको ध्यान गएको हुन्छ नत लेखा सुपरिवेक्षण समितिको नै । यसरी असार मसान्तमा मात्र परिक्षण गरेर हुँदैन दैनिक रुपमा प्रत्येक दिन क्लोजिङ गर्दा अभिलेखले देखाएको नगद र भौतिक नगद परिक्षण गर्नुपर्दछ । लेखापरीक्षण गर्दा वासलातको सम्पत्ति र दायित्व मध्ये सम्पत्ति पक्षमा कही नपुग भएमा नगदमा हाली मिलाएको पनि यदा कदा सुन्न पाईन्छ ।
यसो गर्दा वासलातमा भएको अंक बराबर भौतिक नगद हुँदैन । यस्तो अवस्थामा जव सम्म सहि परिक्षण हुँदैन चल्दै जान्छ र कुनै दिन सहि परिक्षण भएमा वासलातमा भएको नगदको अंक बराबर भौतिक नगद नभएपछि फरक भएको अंक कानून अनुसार परिपूर्ति गर्नुपर्ने हुन्छ । यसरी एक्कासी परिपूर्ति गर्नुपर्ने अवस्था आउदा त्यहा बिभिन्न अनियन्त्रीत परिस्थितिहरु आउन सक्दछ । आगामी दिनमा प्रत्येक असार मसान्तमा वासलातले देखाएको नगद मौज्दात रकम र संस्थामा भएको भौतिक नगद रकम खुलाई बाह्यलेखापरीक्षकले आफ्नो प्रतिवेदनमा अनिवार्य लेख्नको लागि नियमनकारी निकायले निर्देशनमा समेट्नुपो पर्ने होकी ? उल्लेखित कारणले गर्दा प्रत्येक दिन बेलुका क्लोजिङ गरेर वासलातमा भएको नगदको अंक र भौतिक नगद गनेर बराबर भएको एकीन गरी क्लोजिङ गर्नुपर्नेहुन्छ अनिमात्र सुशासनको एकीन हुन सकिन्छ ।
बैंक हिसाव
सहकारी संस्थामा दैनिक नगदको कारोवार हुने हुनाले संस्थाको भल्टमा राख्नको लागि बिमाको परिधिभित्र रहि तोकीएको सिमा सम्म नगद राखेपछि बाँकी नगद बैंक पठाउने र आवश्यक पर्दा चेक वा कनेक्ट आईपिएस् वा अन्य माध्याम प्रयोग गरी बैंकबाट रकम अन्यत्र पठाउनु पर्ने हुन्छ । यसरी महिना भरी गरीएको कारोवारको महिनाको अन्त्यमा बैंक बिबरण र संस्थाले आन्तरीक रुपमा राखेको बिबरण बमोजिम रिकन्साईल हुन्छ वा हुदैन परिक्षण गर्नुपर्दछ । जुन संस्थामा यसरी ढिलोमा मासिक रुपमा रिकन्साईल गरीदैन त्यस संस्थामा बैंकको मौज्दातको बारेमा सुशासनको परिधिभित्र रहेको एकीन हुन सकिदैन ।
पाउँनुपर्ने हिसाव
सहकारी संस्थामा बिभिन्न कार्य गर्नको लागि पेश्की दिएको हुन सक्छ । यसैगरी कर्मचारीहरुलाइ तलव पेश्की दिएको हुन सक्छ । यसरी दिएको पेश्कीको कुल रकम वासलातको सम्पत्ति पक्षमा देखाईएको हुन्छ । यसरी वासलातमा देखाईएको पेश्की रकम र त्यस रकम भित्रको ब्यक्तिगत बिबरण परिक्षण गरी बराबर भएको कुरा एकीन गर्नुपर्दछ । पेश्की दिएको रकम भित्र भएको पेश्की लिने ब्यक्तिहरु के संस्थाको आर्थिक प्रशासन नियमावली बमोजिमनै पेश्की लिएको हो त एकीन गर्नुपर्दछ अनिमात्र सुशासन भएको एकीन गर्न सकिन्छ ।
ऋण लगानी
सहकारी संस्थाले लगानि गरेको ऋणको महिना अन्त्यमा ऋण बिबरण (एजिङ्) बनाउनु पर्दछ । यदि राम्रो सफ्टवयर प्रयोग गरेको छ भने सफ्टवयरमा स्वत दैनिक ऋण बिबरण जेनेरेट हुन्छ । यदि यो ऋण बिबरण कुनै पनि माध्यामबाट बनाईदैन भने त्यहि स्पस्ट हुनुपर्दछ त्यो सहकारी संस्थामा सुशासन प्रभावकारी छैन । यसरी बनाईएको एजिङ्मा शुद्ध ऋण कति, एक महिना सम्म भाखा नाघेको ऋण कति, एक बर्ष सम्म भाखा नाघेको ऋण कति र एक बर्ष भन्दा बढी भाखा नाघेको ऋण कति भन्ने कुरा स्पस्ट देखाईन्छ र यसैको आधारमा भाखा नाघेको ऋणको लागि सन्चीतीको ब्यवस्था गर्न सुरु गर्दै पल्र्सको नियमानुसार पुरा गरीन्छ । यसरी ऋण बिबरणमा भएको ब्यक्तिगत ऋणको बिबरण र वासलातको सम्पत्ति पक्षमा देखीने कुल ऋण भिडेको हुनुपर्दछ । यसरी ऋण बिबरणको कुल अंक र वासलातमा देखाईएको ऋणको कुल अंक भिडेको भएमा ब्यक्तिगत ऋणीहरुको ऋण फाएल परिक्षण गर्नुपर्दछ ।
यदि ब्यक्तिगत ऋण फाएल सहकारी ऐन, नियमावली, संस्थाको बिनियम र ऋण कार्यविधि बमोजिम आवश्यक कागजात पुरा भएको र सम्पर्कमा ऋणीहरु छन् भने नियमित ऋण असुलीमा लाग्दा हुन्छ । यदा कदा त आफु सञ्चालक भएको संस्थामा ऋणको बिबरण समेत नबनाउने तर अन्य ऋणको बिबरण बनाउने संस्थाको भाखा नाघेको ऋणको प्रतिशतको बारेमा चिया गफ दिने गरेको पनि सुन्नमा आउछ । यदि ऋण बिबरणनै बनाउदैन भने, बनाएपनि काल्पनिक बनाउछन् भने, ब्यक्तिगत ऋण बिबबरण र वासलातको कुल ऋण बिबरण भिडेको छैन भने र भिडेको भएमा पनि ब्यक्तिगत फाएलहरु ऐन कानून बमोजिम तयार पारीएको छैन भने स्पस्ट छ त्यो सहकारी संस्थामा सुशासन छैन र सहकारी दिवसको नारा सफल बनाउन त्यो संस्थाले योगदान गर्ने मात्रहैन कुनै बेला अफ्ठयारो पार्न सक्छ ।
स्थिर सम्पत्ति
सहकारी संस्थामा भएको स्थिर सम्पत्तिहरुको छुट्टै बिबरण बनाई लेखापरीक्षकले लेखा परीक्षण प्रतिवेदनमा उल्लेख गरीदिएको हुन्छ । यसरी तयार पारीएको बिबरणको कुल अंक र वासलातको सम्पत्ति पक्षमा देखीने स्थिर सप्पत्तिको कुल अंक बराबर हुनुपर्दछ । यो बराबर छ वा छैन एकीन गर्ने जिम्मेवारी लेखा सुपरिवेक्षण समिति, कोषाध्यक्ष, ब्यवस्थापक, लेखा प्रमुख लगाएत सहकारीको मानव संशाधनले एकीन गर्नुपर्दछ । यदि सम्पत्तिको छुट्टा छुट्टै बिबरण र वासलातमा देखाईएको कुल रकम बराबर छैन भने त्यस सहकारी संस्थाको सुशासनमा प्रश्न उठ्ने कुरामा दुईमत छैन ।
लगानी हिसाव
सहकारी संस्थाले आफ्ना संघहरु र राष्ट्रिय सहकारी बैंकमा शेयर तथा बचत लगानी गरेको हुनसक्छ । यसरी गरेको लगानिको छुट्टा छुट्टै बिबरण र वासलातको सम्पत्ति पक्षमा हुने लगानी रकम बराबर हुनुपर्दछ । यदि छैन भने उक्त संस्था सुशासन सुधारमा लाग्नु पर्दछ ।
शेयर र बचत
सहकारी संस्थामा सदस्य बन्दा शेयर अनिवार्य खरिद गर्नुपर्दछ । शेयर खरिद नगरेको ब्यक्ति शेयर सदस्य नहुने हुनाले शेयर खरिद नगरेको ब्यक्ति सँग सहकारी संस्थाले बचत तथा ऋणको कारोवार गर्न पाउँदैन । यदि शेयर खरिद नगराई कारोवार गरेको भएमा त्यो संस्थामा सुशासन संकटमा परेको भन्दा अतिसयुक्ति नहोला । त्यसै गरी सहकारी संस्थामा शेयर खरिद गरेर सदस्य बनेपछि मासिक रुपमा नियमित बचत गर्नु पर्दछ ।
नियमित बचत लगाएत अन्य बचत गर्न सक्ने ब्यवस्था संस्थाको सञ्चालक समितिको हो भने संस्थाले उपलब्ध गराएका बचत शिर्षक हरुमा बचत गर्नु सहकारी संस्थाको शेयर सदस्यको दायित्व हो । यसरी शेयर सदस्यले खरिद गरेको शेयरको ब्यक्तिगत बिबरण तथा वासलातको दायित्व पक्षमा देखीने कुल शेयरको रकम तथा शेयर सदस्यले सम्बन्धित शिर्षकमा गरेको बचतको ब्यक्तिगत बिबरण र वासलातको दायित्व पक्षमा देखीने सम्बन्धित शिर्षकको कुल बचत रकम बराबर हुनुपर्दछ । यदि छैन भने त्यो संस्थामा सुशासनको सुरुवात भएको छैन भन्न असहज नहोला । यदि फरक पाईएमा किन फरक प¥यो भनि खोजी गरेर एकीन भई समस्या समाधान गर्नुपर्दछ ।
यसै गरी सहकारी संस्थाले बाह्य ऋण, भुक्तानी दिनुपर्ने हिसाव, कोष हिसाव, पूँजिगत अनुदान लगाएतका कुराहरुको बारेमा शिर्षक अनुसारको रकम र वासलातको दायित्व पक्षमा देखीने रकम मिलेको छ वा छैन परिक्षण गर्नुपर्दछ । मिलेको भएमा मात्र सम्बन्धित शिर्षकमा सुशासन भएको मान्न सकिन्छ ।
सहकारीमा सुशासन, प्रविधि र एकीकरण भन्ने नारालाई सार्थक बनाउनको लागि उल्लेखित पहिलो कार्यबाट सुरु गरेको अवस्थामा सुशासन कायम गर्न सहज हुने देखीन्छ । आर्थिक कारोवार पारदर्सि बनाउनको लागि बर्तमान अवस्थामा बित्तिय बजारमा प्रयोग भईरहेका बिभिन्न प्रविधिहरु सहकारी संस्थाले प्रयोगमा ल्याई आफ्ना शेयर सदस्यहरुलार्य प्रविधियूक्त सेवा प्रदान गर्नुपर्दछ । यदि सुशासन कायम गर्न तथा प्रविधि प्रयोग गर्न असहज महसुस भएको छ भने पदको आत्मगौरब गर्न छोडी आफु आवद्ध संस्थाको ड्यू डेलिजेन्सी अडिट गराई एकीकरणमा जान उपयुक्त हुन्छ भने संघ तथा नियमनकारी निकायले पनि यति हजार सहकारी भनेर अपूर्ण डाटाको आधारमा संख्यामा मात्र आत्मगौरब गर्न छोडेर बाध्यात्मकको साथै उत्प्रेरणात्मक एकीकरणको मार्ग सहज गर्न उचित हुन्छ ।
जय सहकारी ।।।
Comment