राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्र बैंकका घातक गतिविधि नै महाविपत्ति सरह छन् : मुक्ति अर्याल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

राष्ट्रिय अर्थतन्त्रका लागि राष्ट्र बैंकका घातक गतिविधि नै महाविपत्ति सरह छन् : मुक्ति अर्याल



काठमाडौं । विश्वका धेरै देश आर्थिक मन्दीबाट गुज्रिरहेको वर्तमान अवस्थामा नेपाल पनि अपवाद रहेन। नेपाल अपवाद रहन सक्थ्यो। हाम्रो अर्थतन्त्र मन्दीमा नजानुपर्ने थुप्रै आधार थिए। विश्व अर्थतन्त्रसँग निर्भर नभएको, अत्यधिक आयात भएकोले आयात प्रतिस्थापनको क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने प्रशस्त सम्भावना भएको, निर्यात कम भएको, आयातित मन्दी भएको, सानो अर्थतन्त्र भएको, बाह्य क्षेत्रको प्रभाव न्यून रहेको, रेमिट्यान्सका कारण विदेशी मुद्राको सञ्चितिमा समस्या नभएको, कर्जा विस्तार गर्ने प्रशस्त ठाउँ भएकोजस्ता थुप्रै कारण नेपाल आर्थिक मन्दीमा जानुपर्ने थिएन।

त्यसमा मौद्रिक नीतिमार्फत देशको अर्थतन्त्रलाई सही मार्गमा हिँडाउने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंकको नेतृत्व योग्य, सक्षम भइदिएको भए ७-८ प्रतिशतको आर्थिक वृद्धि नै हासिल हुन सक्थ्यो। तर राष्ट्र बैंक नेतृत्वले यो वास्तविकता बुझ्नै सकेन र बुझ्ने कोसिस पनि गरेन। त्यस्तो सम्भावना नै रहेनछ। कारण राष्ट्र बैंक नेतृत्व यी विषयमा जानकार र सूचित नै रहेनछ। राष्ट्र बैंकको नेतृत्व अयोग्य, असक्षम र गलत रहेछ। उसकै कारण देश अनाहक आर्थिक मन्दीको चपेटामा धकेलिएको छ।

मौद्रिक नीतिको अर्थतन्त्रमा पर्ने प्रभावबारे गलत बुझाइ राख्ने राष्ट्र बैंकले लिएको घातक र संकूचित प्रशासनिक कदमका कारण देशले अनावश्यक मन्दीको मार खेप्नुपरेको छ। पुँजीबजारमाथि प्रहार गरेर शुरू भएको राष्ट्र बैंकको नकारात्मक, संकूचित, र पूर्वाग्रही कदमले अर्थतन्त्रमा एकपछि अर्को प्रहार गर्दै गए। उसका एकपछि अर्को नियन्त्रित नीति आइरहे।

परिणाम तरलता संकूचन, उच्च ब्याजदर, उच्च मुद्रास्फीति, कर्जा अभाव, खराब कर्जामा वृद्धि, उत्पादकत्वमा ह्रास, रोजगारीमा ह्रास र राजश्वमा कमीजस्ता अवस्था पैदा हुन गयो। पुँजीबजार र घरजग्गा व्यवसाय ध्वस्त भयो। २० खर्बभन्दा ज्यादा पुँजी नष्ट भयो। सहकारी संस्थामा प्रशस्त समस्या आए। धेरै उद्योग-धन्दा, व्यवसाय, व्यापार चल्न नसकेर चौपट र धराशायी भए। अन्य कतिपय बन्द भए। नयाँ कर्जाको माग हुन सकेन। उत्पादनशील क्षेत्रमा नयाँ कम्पनी आउने वातावरण नै भएन। अन्ततः अर्थतन्त्र नजानुपर्ने मन्दीमा गयो।

राष्ट्र बैंक नेतृत्वले लिने नीति भनेकै बैंक-वित्तीय संस्थालाई अनावश्यक रूपमा सूक्ष्म नियन्त्रण गर्नु र अर्थतन्त्रलाई संकूचनमा लैजानु रहेको छ। यस्तो नीतिका कारण हरकोही उद्यमी-व्यवसायी आज पनि त्रसित, आतंकित र आजित छन्। विवेकपूर्ण मौद्रिक नीति ल्याएर अर्थतन्त्रको विकास र विस्तार गर्नुपर्ने राष्ट्र बैंक नेतृत्व पूर्वाग्रही रूपमा कुनै अमुक राजनैतिक दलको एजेन्डामा हिँडेको देखिन्छ। उसले लिएका कदम र व्यक्त गरेका गैर जिम्मेवार र गैरमौद्रिक भनाइले पनि थप पुष्टि गर्छ।

राष्ट्र बैंकको पूर्वाग्रही, सङ्कुचित र घातक नीति जारी छ। मौद्रिक नीति र अर्थतन्त्रको सम्बन्धबारे उसको बुझाइमा कुनै परिवर्तन आएको छैन। विकसित मुलुकका प्रभावशाली केन्द्रीय बैंकले अवलम्बन गरेका पछिल्ला मौद्रिक नीति र अभ्यासबारे चुस्त र दुरुस्त रूपमा अद्यावधिक हुनुपर्ने राष्ट्र बैंक नेतृत्व आजसम्म पनि सही अर्थको मौद्रिक नीतिबारे बेखबर र अनभिज्ञ देखिन्छ भने पछिल्लो ग्लोबल अर्डरुबारे कुनै पत्तो नहुनु नौलो भएन।

आफ्ना घातक नीतिमार्फत राष्ट्र बैंकले अर्थतन्त्रमा निम्त्याएको आर्थिक विपत्तिबाट अलिअलि तङ्ग्रिन लागेको अर्थतन्त्रमा नोटबन्दीको नाममा अर्को आर्थिक विध्वंश थोपर्दा अर्थतन्त्र थला पर्न जानेछ। नेपालमा मात्र होइन, नोटबन्दी कहीँ पनि आवश्यक होइन, किनकि यो एक आर्थिक विध्वंश र मूर्खता सिवाय केही हुँदैन। कुनै सकारात्मक परिणाम दिन नसक्ने असफल र असक्षम सरकार अनि कर्मचारीतन्त्रको लागि भने नोटबन्दी सर्वसाधारणको ध्यान अन्यत्र मोड्ने सजिलो उपाय अवश्य हो।( अर्यालको फेसबुकबाट)

प्रकाशित : ५ श्रावण २०८०, शुक्रबार ११:३०