काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) नयाँ ब्रोकर लाइन्सेन्स वितरणका लागि धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता नियमावली, २०६४ मा संशोधन गर्दै प्रस्ताव गरेको चुक्तापुँजी सरकारले घटाएको छ। सरकारले चुक्तापुँजी घटाउँदै सेबोनले पठाएको संशोधित नियमावली पारित गरेको हो।
सरकारबाट स्वीकृति संशोधित नियमावलीअनुसार अब सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी १५ करोड रुपैयाँ कायम गरिएको छ। पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा कम्पनीको चुक्तापुँजी ५० करोड रुपैयाँ र धितोपत्र व्यापारी कम्पनीको चुक्तापुँजी १ अर्ब रुपैयाँ कायम गरिएको छ।
सेबोनले भने यी तीन प्रकारका ब्रोकरको चुक्तापुँजी क्रमशः २० करोड रुपैयाँ, ६० करोड रुपैयाँ र डेढ अर्ब रुपैयाँ प्रस्ताव गरिएको थियो।
संशोधिन नियमावली स्वीकृत भएसँगै अब नयाँ ब्रोकर कम्पनी खोल्ने बाटो खुला भएको छ। अब हरेक आर्थिक वर्षको पहिलो महिनाभित्र स्टक एक्सचेन्समा नयाँ ब्रोकर लाइसेन्सका लागि आवेदन दिन सकिनेछ।
अब स्टक एक्सचेन्जले नियमावली लागू भएको पहिलो आर्थिक वर्षको हकमा ३० दिनको समय दिएर आवेदन माग गर्नेछ। त्यसपछि प्रत्येक आर्थिक वर्षको पहिलो महिनाभित्र इच्छुक कम्पनी वा संगठित संस्थाले सिफारिसका लागि एक्सचेन्जसमक्ष निवेदन दिन सक्नेछन्।
नयाँ व्यवस्थाअनुसार ब्रोकर लाइसेन्सको दस्तुर बढेको छ। सबैभन्दा महँगो धितोपत्र व्यापारी लाइसेन्सको १ करोड रुपैयाँ छ। अन्य दुई ब्रोकरको दस्तुर क्रमशः ५० लाख र २५ लाख निर्धारण गरिएको छ।
नयाँ व्यवस्थाअनुसार योग्यता पुग्ने गर्ने जोकोही धितोपत्र दलालको रुपमा कम गर्न योग्य हुनेछन्।
Comment