प्रधानमन्त्री वालेन्द्र शाहले विश्व समुदायलाई प्रश्न गर्दै भने, ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

प्रधानमन्त्री वालेन्द्र शाहले विश्व समुदायलाई प्रश्न गर्दै भने, ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’



काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान गरे पनि जलवायु परिवर्तनको असाध्यै ठूलो मूल्य चुकाइरहेको बताएका छन्।

शुक्रबार बिहान राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले नेपालका लागि जलवायु परिवर्तनबाट उत्पन्न संकट केवल मानवीय समस्या नभई ‘विकासको आपत्काल’ बनेको बताएका हुन्।

विश्व समुदायको ध्यानाकर्षण गराउँदै उनले जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षति र बढ्दो विपद् बारे गम्भीर हुन आग्रह गरे। उनले नेपालले नगण्य मात्रामा हरितगृह ग्यास उत्सर्जन गरे पनि जलवायु परिवर्तनको असर भने ठूलो मात्रामा व्यहोर्नुपरेको बताए।

सम्बोधनका क्रममा प्रधानमन्त्री शाहले भोटेकोशीमा आएको विनाशकारी बाढीलाई नेपालका लागि मात्रै नभई विश्व समुदायका लागि नै चेतावनीको सन्देशका रूपमा प्रस्तुत गरे। उनले प्रश्न गरे, ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्‍नुभयो ?’

राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको अभिव्यक्ति उद्धृत गर्दै उनले विज्ञान जगतले लामो समयदेखि जलवायु संकटबारे चेतावनी दिँदै आएको बताए। अब त्यस्ता चेतावनीलाई बेवास्ता गर्ने नभई ठोस कदम चाल्ने समय आएको उनको भनाइ थियो।

प्रधानमन्त्री शाहले नेपालले जलवायु संकटको सामना गर्न आफ्ना तर्फबाट विभिन्न प्रयास गरिरहेको पनि जानकारी दिए। उनका अनुसार नेपालको करिब आधा भूभाग वनजङ्गलले ढाकेको छ भने प्रदूषणकारी ऊर्जा स्रोतलाई विस्थापित गर्न नेपालले तीव्र गतिमा जलविद्युत् उत्पादन गरिरहेको छ।

त्यस्तै, नेपालले विद्युतीय सवारीसाधनको प्रवर्द्धनलाई समेत तीव्रता दिएको उल्लेख गर्दै उनले यसको प्रयोग र प्रवर्द्धनमा युरोपका कतिपय हिस्सासँग तुलना गर्न सकिने अवस्था बनाएको बताए।

बढ्दो जलवायु विपद्को सामना गर्न स्थानीय स्तरमा जलवायु अनुकूलनका कार्यक्रमलाई थप बलियो बनाउँदै लैजाने प्रतिबद्धता पनि प्रधानमन्त्री शाहले व्यक्त गरे।

ऐतिहासिक रूपमा बढी प्रदूषण गर्ने राष्ट्रहरूले जलवायु परिवर्तनबाट प्रभावित मुलुकप्रति थप जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै उनले भने, ‘जलवायु न्याय संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा मात्र सीमित एउटा सुन्दर वाक्यांश बन्नु हुँदैन। हाम्रा नागरिकले निरन्तर आफ्नो विगतको पुनर्निर्माण गरिरहनुको सट्टा अब आफ्नो भविष्य निर्माण गर्न पाउनुपर्छ।’

प्रधानमन्त्री शाहले जलवायु न्यायलाई व्यवहारमा कार्यान्वयन गर्न अन्तर्राष्ट्रिय समुदायबीच सहकार्य र जिम्मेवारीको स्पष्ट बाँडफाँट आवश्यक रहेको बताएका छन्।

प्रकाशित : 25 September, 2026 6:24 am