घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको सबैभन्दा बढी ब्याज? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

घट्याे वाणिज्य बैंकहरुको ब्याजदर, कुन बैंकको सबैभन्दा बढी ब्याज?



काठमाडौं । बैंकहरुको औसत ब्याजदर घटेको छ। भदौ १ गतेदेखि लागू हुने गरि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर कायम गरेका छन् । प्रकाशित ब्याजदर अनुसार औसतमा मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १७ प्रतिशत बिन्दुले घटेको देखिएको छ ।

भदौ महिनाका लागि १२ वटा बैंकहरुले ब्याजदर घटाएका छन् । ६ वटाले साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने दुई वटा बैंकले मात्र ब्याजदर बढाएका पाइएको छ ।

भदौ महिनका लागि प्राइम कमर्सियल बैंकले ०.२५ प्रतिशत बिन्दु र सिटिजन्स बैंकले ०.४ प्रतिशत बिन्दुले ब्याजदर बढाएका छन् । यी दुई बैंकहरुले भदौ महिनाका लागि क्रमशः६.७५ प्रतिशत र ६.९ प्रतिशत ब्याजदर तोकेका छन् । साउनमा भने दुवै बैंकले ६.५ प्रशित ब्याज प्रदान गरेका थिए ।

यस्तै, ग्लोबल आइएमई बैंक, कुमारी, लक्ष्मी सनराइज, माछापुच्छ्रे, नबिल र स्ट्याण्डर्ड चार्टर्ड बैंकले भने साउन महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । यी बैंकहरुले साउनमा क्रमशः ६.२५ प्रतिशत, ६.१७ प्रतिशत ६.५, ७, ७ र ७ प्रतिशत ब्याज प्रदान गरेका थिए । सोही ब्याजदर भदौ महिनाका लागि पनि तोकेका छन् ।

भदौ महिनाक लागि नेपाल बैंकसहित १२ वटा बैंकले ब्याजर घटाएका छन् । नेपाल बैंकले साउनका तुलनामा औसत १ प्रतिशत बिन्दुले ब्याजदर घटाएको हो । साउनमा बैंकले ६.२५ प्रतिशत ब्याज दिएको थियो । तर, भदौका लागि भने ५.२५ प्रतिशत कायम गरेको छ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पनि ०.५ प्रतिशत बिन्दुले ब्याजदर घटाएर ६.६ प्रतिशत कायम गरेको छ । यता, नेपाल एसबिआई बैंकले पनि ०.५ प्रतिशत घटाएर ६.२५ प्रतिशत कायम गरेको छ।

यस्तै, एनआइसी एशिया र एनएमबि बैंकले पनि ०.१२ प्रतिशत बिन्दुले घटाएर ७.४१ प्रतिशत कायम गरेका छन् । यी दुई बैंकले ब्याजदर घटाए पनि भदौ महिनामा सर्वाधिक ब्याज प्रदान गर्ने शीर्ष सूचीमा छन् ।

त्यसैगरि प्रभु बैंकले पनि ०.९ प्रतिशत बिन्दुले घटाएर ६.१ प्रतिशत ब्याजदर तोकेको छ । साउनमा भने बैंकले औसत ७ प्रतिशत ब्याज प्रदान गरेको थियो ।

यता, सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ०.१४ प्रतिशत, कृषि विकास बैंकले ०.२३८५ प्रतिशत घटाएर क्रमशः ६.०७ प्रतिशत र ६.०६ प्रतिशत कायम गरेका छन् ।

भदौ महिनाका लागि सानिमा बैंकले पनि ०.२ प्रतिशत, सिद्धार्थले ०.२५ प्रतिशत र एभरेष्टले ०.२ प्रतिशत बिन्दुले घटाएर क्रमशः ६.२ प्रतिशत, ६.५ प्रतिशत र ६.१ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

प्रकाशित : ३२ श्रावण २०८१, शुक्रबार १२:४०