काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा जीवन बीमा कोष र खुद बीमाशुल्क आर्जनलगायतका प्रमुख वित्तीय सूचकमा वृद्धि गरेको छ। यद्यपि, कम्पनीको खुद नाफा र प्रतिसेयर आम्दानी (ईपीएस) भने घटेको छ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिमा जीवन बीमा कोष २३.७४ प्रतिशतले वृद्धि भई ५४ अर्ब २३ करोड ९२ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोष ४३ अर्ब ८३ करोड ४६ लाख रुपैयाँ रहेको थियो।
त्यस्तै, कम्पनीको खुद आर्जित बीमाशुल्क २१.२८ प्रतिशतले बढेर तीन अर्ब ५४ करोड आठ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा यस्तो रकम दुई अर्ब ९१ करोड ९५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिमा लगानी तथा कर्जाबाट प्राप्त आम्दानी ५.८३ प्रतिशतले वृद्धि भई ९४ करोड ३६ लाख रुपैयाँ पुगेको छ। यसैगरी, कम्पनीको कुल आम्दानी १७.५५ प्रतिशतले बढेर चार अर्ब ६४ करोड ९२ लाख रुपैयाँ कायम भएको छ।
आम्दानीसँगै कम्पनीको खर्च पनि बढेको छ। कुल खर्च १९.१८ प्रतिशतले वृद्धि भई चार अर्ब ४९ करोड ९४ लाख रुपैयाँ पुगेको छ। विपत्ति कोषमा २.०९ प्रतिशत तथा जगेडा र सञ्चित आम्दानीमा ११.७८ प्रतिशतको वृद्धि देखिएको छ।
यस अवधिमा कम्पनीको कुल दाबी भुक्तानी २०.९३ प्रतिशतले बढेर तीन अर्ब ५७ करोड सात लाख रुपैयाँ पुगेको छ। त्यस्तै, अभिकर्ता कमिसन खर्च ३२.०७ प्रतिशतले वृद्धि भई २८ करोड ८४ लाख रुपैयाँ कायम भएको छ।
अर्कोतर्फ, कम्पनीको खुद नाफामा भने गिरावट आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा १२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोही अवधिमा १० करोड २९ लाख रुपैयाँ मात्र नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा १५.९५ प्रतिशतले कम हो।
त्यस्तै, कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ९.७८ रुपैयाँबाट घटेर ८.२२ रुपैयाँमा झरेको छ।





Comment