काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै आफ्नो खुद नाफा उल्लेख्य बढेको देखाएको छ।
प्रकाशित विवरण अनुसार समीक्षा अवधिमा कम्पनीले ६ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीले २ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यस तुलनामा यस वर्ष कम्पनीको खुद नाफामा १२४.५२ प्रतिशतको फराकिलो वृद्धि भएको छ।
विद्युत् बिक्रीबाट हुने आम्दानीमा भएको वृद्धि र वित्तीय खर्च (ब्याज खर्च) मा आएको उल्लेखनीय कमीले कम्पनीको नाफामा उछाल ल्याउन मुख्य भूमिका खेलेको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेर १४ करोड ७३ लाख रुपैयाँ पुगेको छ। जुन गत आर्थिक वर्षको सोही अवधिमा १३ करोड ८० लाख रुपैयाँ थियो। कम्पनीको कुल मुनाफा १३ करोड ८७ लाख रुपैयाँ कायम भएको छ भने सञ्चालन मुनाफा १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै, कम्पनीको वित्तीय खर्च गत वर्षको ५ करोड ६५ लाख रुपैयाँबाट घटेर ३ करोड ५५ लाख रुपैयाँमा सीमित भएको छ, जसले ऋणको भार घट्दै जाँदा नाफालाई सीधा टेवा पुगेको स्पष्ट पार्छ।
कम्पनीको चुक्ता पूँजी १ अर्ब रुपैयाँ रहेको छ भने जगेडा तथा कोषमा रहेको ऋणात्मक रकम क्रमशः सुधार हुँदै ३२ करोड २६ लाख रुपैयाँमा आएको छ। वित्तीय परिसूचकहरूका आधारमा कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी बढेर २५ रुपैयाँ ५२ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ६७ रुपैयाँ ३८ पैसा रहेको छ।





Comment