जीवन बीमा व्यवसायमा १६.८५ प्रतिशतको वृद्धि, नेपाल लाइफको बजार हिस्सा सबैभन्दा ठूलो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

जीवन बीमा व्यवसायमा १६.८५ प्रतिशतको वृद्धि, नेपाल लाइफको बजार हिस्सा सबैभन्दा ठूलो



काठमाडौं । जीवन बीमा कम्पनीहरूको व्यवसायमा उल्लेख्य सुधार देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना अर्थात् साउनदेखि असोजसम्म १४ जीवन बीमा कम्पनीले ५७ अर्ब ५२ करोड रुपैयाँभन्दा बढी कुल बीमाशुल्क संकलन गरेका छन्। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो १६.८५ प्रतिशतको वृद्धि हो।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ५७ अर्ब ५२ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिमा कम्पनीहरूले ४९ अर्ब २२ करोड ९३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए।

व्यवसायको आकारका आधारमा नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो अग्रता कायमै राखेको छ। तर, व्यवसाय वृद्धिदरका हिसाबले भने आइएमई लाइफ इन्स्योरेन्स सबैभन्दा अगाडि देखिएको छ। प्राधिकरणको तथ्यांकअनुसार समीक्षा अवधिमा १४ वटै जीवन बीमा कम्पनीको बीमाशुल्क संकलन अघिल्लो वर्षको तुलनामा बढेको छ।

नेपाल लाइफको व्यवसाय १४ अर्ब ७२ करोड

कुल बीमाशुल्क संकलनमा नेपाल लाइफ इन्स्योरेन्स पहिलो स्थानमा रहेको छ। कम्पनीले चालु आर्थिक वर्षको असोजसम्म १४ अर्ब ७२ करोड ८९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीको संकलन १३ अर्ब ४५ करोड ५० लाख रुपैयाँ थियो। यससँगै कम्पनीको व्यवसाय ९.४७ प्रतिशतले विस्तार भएको छ।

दोस्रो स्थानमा रहेको नेसनल लाइफ इन्स्योरेन्सले ७ अर्ब ३६ करोड २६ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको असोजसम्म ५ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरेको कम्पनीले यसपटक २९.५१ प्रतिशतको वृद्धि हासिल गरेको हो।

त्यस्तै, लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) अर्थात् एलआईसी नेपालले ५ अर्ब ४५ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै तेस्रो स्थान ओगटेको छ। अघिल्लो वर्षको तुलनामा कम्पनीको व्यवसाय ९.५२ प्रतिशतले बढेको छ।

हिमालयन लाइफ इन्स्योरेन्सले ५ अर्ब १५ करोड १३ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा १६.१२ प्रतिशतले बढेको हो। यसैगरी राष्ट्रिय जीवन बीमा कम्पनीले ४ अर्ब ८३ करोड १७ लाख रुपैयाँ संकलन गर्दा यसको वृद्धिदर ६.६१ प्रतिशत रहेको छ।

सूर्यज्योति र एसियन लाइफको व्यवसायमा पनि सुधार

समीक्षा अवधिमा सूर्यज्योति लाइफ इन्स्योरेन्सले ३ अर्ब ५१ करोड ५८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। गत वर्षको तुलनामा कम्पनीको व्यवसाय २२.०३ प्रतिशतले वृद्धि भएको छ। एसियन लाइफ इन्स्योरेन्सले २ अर्ब ७८ करोड २५ लाख रुपैयाँ संकलन गर्दै २२.६० प्रतिशतको वृद्धि हासिल गरेको छ।

सिटिजन लाइफ इन्स्योरेन्सले २ अर्ब ५२ करोड १ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय १५.६८ प्रतिशतले बढेको तथ्यांकले देखाउँछ। सानिमा रिलायन्स लाइफले २ अर्ब २४ करोड ५८ लाख रुपैयाँ संकलन गर्दा यसको वृद्धिदर २३.८० प्रतिशत रहेको छ।

त्यस्तै, आइएमई लाइफ इन्स्योरेन्सले २ अर्ब १७ करोड रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। रकमका आधारमा शीर्ष कम्पनीभन्दा पछाडि रहे पनि वृद्धिदरमा भने आइएमई लाइफ सबैभन्दा अगाडि छ। कम्पनीले गत वर्षको तुलनामा आफ्नो व्यवसाय ४३.२० प्रतिशतले बढाएको छ।

मेटलाइफले १ अर्ब ८६ करोड ७१ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय १२.१९ प्रतिशतले बढेको छ। रिलायबल नेपाल लाइफले १ अर्ब ८५ करोड ९ लाख रुपैयाँ संकलन गर्दा २७.०७ प्रतिशतको वृद्धि हासिल गरेको छ।

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले १ अर्ब ८४ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ। कम्पनीको व्यवसाय अघिल्लो वर्षको तुलनामा ३१.४१ प्रतिशतले बढेको छ। त्यस्तै, सन नेपाल लाइफले १ अर्ब १९ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्दै २५ प्रतिशतको वृद्धि हासिल गरेको छ।

समग्रमा हेर्दा जीवन बीमा बजारमा नेपाल लाइफले बीमाशुल्क संकलनको आकारमा आफ्नो पकड कायम राखेको छ भने नेसनल लाइफ र एलआईसी नेपालले क्रमशः दोस्रो र तेस्रो स्थान हासिल गरेका छन्। अर्कोतर्फ आइएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ र नेसनल लाइफले उच्च वृद्धिदर हासिल गरेका छन्।

प्रकाशित : 5 November, 2026 4:35 pm