काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले रिक्त पदपूर्तिका लागि ४०५ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले शुक्रबार सार्वजनिक गरेको विज्ञापनमार्फत अधिकृतस्तरका ८३ र सहायकस्तरका ३२२ पदमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।
प्राधिकरणले विभिन्न प्रशासनिक तथा प्राविधिक पदमा कर्मचारी भर्ना गर्न लागेको हो । अधिकृतस्तरतर्फ प्रबन्धक, सहायक निर्देशक, सहायक प्रबन्धक, प्रशासनिक अधिकृत, लेखा अधिकृत, इन्जिनियर तथा चार्टर्ड एकाउन्टेन्टलगायत पदका लागि आवेदन खुलाएको छ । प्राविधिक समूहअन्तर्गत इलेक्ट्रिकल इन्जिनियर ४२, सिभिल इन्जिनियर पाँच, मेकानिकल इन्जिनियर चार, इलेक्ट्रोनिक्स इन्जिनियर तीन र कम्प्युटर इन्जिनियर चार जना माग गरिएको छ ।
त्यसैगरी, सहायकस्तर पाँचौँ तहमा मिटर रिडिङ सुपरभाइजर ३१, लेखापाल ३४, सुपरभाइजर (इलेक्ट्रिकल) २४६, सुपरभाइजर (मेकानिकल) आठ र सुपरभाइजर (सिभिल) तीन जना नियुक्त गरिने प्राधिकरणले जनाएको छ । यी पदमा प्रदेशगत रूपमा कर्मचारी छनोट गरिनेछ । दरखास्त दिन इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले आगामी मंसिर १० गतेभित्र प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । तोकिएको समयभित्र आवेदन दिन नसक्ने उम्मेदवारले दोब्बर दस्तुर बुझाएर मंसिर १७ गतेसम्म आवेदन पेस गर्न पाउने व्यवस्था गरिएको छ ।





Comment