वित्तीय सूचक सुधार्न कृत्रिम अभ्यास : तीन बैंक कारबाहीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

वित्तीय सूचक सुधार्न कृत्रिम अभ्यास : तीन बैंक कारबाहीमा



काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियमन र वित्तीय स्थायित्व कायम राख्ने जिम्मेवारी बोकेको नेपाल राष्ट्र बैंक ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिकमा तीन ठूला वाणिज्य बैंकमाथि कारबाही गरेको छ। केन्द्रीय बैंकको नियमित सुपरिवेक्षण, स्थलगत निरीक्षण र प्रतिवेदन विश्लेषणका क्रममा नियम विपरित गतिविधि, कर्जा व्यवस्थापन कमजोरी र प्रणालीगत त्रुटि फेला परेपछि कारबाही प्रक्रिया अघि बढाइएको हो। कारबाहीको दायरामा एनआईसी एसिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक परेका छन्।

वित्तीय विवरणमै एनआईसी एसियाको लापरबाही

नियामकीय निर्देशनको पालना बैंकिङ अनुशासनको आधार मानिन्छ। तर एनआईसी एसिया बैंकले केन्द्रीय बैंकबाट जारी निर्देशन बारम्बार उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ। लिखित आदेश जारी हुँदासमेत त्यसको कार्यान्वयन नगरेपछि राष्ट्र बैंक कारबाहीमा उत्रिएको हो।

यस प्रकरणमा जिम्मेवार ठहरिँदै बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने लाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन २०७३ सहित) को दफा १०० उपदफा २(ग) बमोजिम जनही २ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

कर्जा जोखिम व्यवस्थापनमा कमजोरी

ग्लोबल आइएमई बैंकमा गरिएको स्थलगत निरीक्षणले कर्जा व्यवस्थापन प्रणालीमै संरचनागत कमजोरी औंल्याएको छ। विशेषगरी कर्जा नोक्सानी व्यवस्था पर्याप्त नरहेको तथा पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी व्यवस्था पूर्ण रूपमा पालना नभएको पाइएको छ।

अझ गम्भीर रूपमा, बैंकको कोर बैंकिङ सफ्टवेयरमै प्राविधिक कमजोरी भेटिएको राष्ट्र बैंकले जनाएको छ, जसअनुसार चुक्ता भइसकेको कर्जालाई पुरानै मिति राखेर पुनः सिर्जना गर्न सकिने सम्भावना देखिएको थियो। यस्ता प्रणालीगत जोखिमलाई ध्यानमा राख्दै राष्ट्र बैंकले बैंकका सीईओलाई सचेत गराएको छ।

धितो, कागजात र स्प्रेड दरमा प्रश्न

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको हकमा कर्जा सुरक्षासम्बन्धी आधारभूत प्रक्रिया नै कमजोर देखिएको छ। ग्राहकको सहीछापबिनै कर्जा सुरक्षासम्बन्धी कागजात तयार गरिएको तथा धितोले नखाम्ने गरी कर्जा प्रवाह गरिएको पाइएको छ।

त्यसबाहेक बैंकले: ब्याजदर अन्तर (स्प्रेड दर) २ प्रतिशत विन्दुभन्दा बढी कायम गरेको र त्रैमास अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी पुरानो ऋण असुलीमा प्रयोग गरेको जस्ता अभ्यास अपनाएको भेटिएको छ। यसलाई वित्तीय सूचक सुधार देखाउने कृत्रिम प्रयासका रूपमा नियामकले हेरेको छ। सोही आधारमा बैंकको सञ्चालक समिति र सीईओ दुवैलाई सचेत गराइएको छ।

प्रकाशित : 13 February, 2026 4:40 pm