काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक (साउनदेखि पुस मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको नाफा र व्यापार दुवैमा उल्लेख्य गिरावट देखिएको छ।
गत आर्थिक वर्षको पुस मसान्तसम्म २२ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनी चालू आर्थिक वर्षको सोही अवधिमा १७ करोड ८५ लाख रुपैयाँ खुद घाटामा पुगेको छ। जेनजी आन्दोलन तथा असोज महिनामा आएको बाढी–पहिरोका कारण ठूलो मात्रामा बीमा दाबी परेपछि कम्पनीको नाफामा दबाब परेको बताइएको छ।
कम्पनीको व्यापारमा समेत गिरावट आएको छ। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ८० करोड ३९ लाख रुपैयाँबाट घटेर ७४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। यसैगरी, कुल आम्दानी १ अर्ब ३० करोड २ लाख रुपैयाँबाट घटेर १ अर्ब १२ करोड ५३ लाख रुपैयाँमा झरेको छ भने कुल खर्च ९६ करोड ११ लाख रुपैयाँबाट बढेर १ अर्ब ३८ करोड ४ लाख रुपैयाँ नाघेको छ। खर्च बढ्दै जाँदा कम्पनीको प्रतिशेयर आम्दानी पनि १६.०३ रुपैयाँ धनात्मकबाट घटेर १२.७२ रुपैयाँ ऋणात्मक भएको छ।
२ अर्ब ८० करोड ६५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको स्पेशल रिजर्भमा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ७८ लाख रुपैयाँ र जगेडा कोषमा ११ करोड ८५ लाख रुपैयाँ रहेको छ। कम्पनीको बीमाकोष ११ अर्ब ५२ करोड रुपैयाँभन्दा माथि रहेको छ भने सोल्भेन्सी मार्जिन अनुपात ३.८५ प्रतिशत रहेको छ।
त्यसैगरी, कम्पनीको प्रतिशेयर नेटवर्थ २४१.३१ रुपैयाँ रहेको छ भने घाटाका कारण मूल्य आम्दानी अनुपात ५६.३५ गुणा ऋणात्मक देखिएको छ। पुस मसान्तसम्म कम्पनीले ७ अर्ब ९३ करोड रुपैयाँभन्दा बढी रकम विभिन्न क्षेत्रमा लगानी गरेको छ।





Comment