प्रभु इन्स्योरेन्सको ईपीएसमा सुधार, लगानीकर्तालाई राहत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

प्रभु इन्स्योरेन्सको ईपीएसमा सुधार, लगानीकर्तालाई राहत



काठमाडौं । प्राकृतिक विपद् र सामाजिक आन्दोलनका कारण सिर्जित असहज परिस्थितिका बाबजुद प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ ।
गत भदौको ’जेन–जी’ आन्दोलन र असोजको बाढी–पहिरोका कारण बीमा दाबीको ठूलो चाप र चुनौती आइलागे पनि कम्पनीको वित्तीय विवरणमा सकारात्मक सुधार देखिएको हो ।

कम्पनीले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार, पुस मसान्तसम्ममा खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा २.०१ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष १२ करोड रुपैयाँ नाफा कमाएको कम्पनीले यस वर्ष १२ करोड २४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा प्रभुले १२ करोड रुपैयाँ मात्र नाफा गरेको थियो ।
अन्य कतिपय निर्जीवन बीमा कम्पनीहरू घाटामा गइरहेका बेला प्रभु इन्स्योरेन्सले भने आफ्नो मुनाफालाई जोगाउन सफल देखिएको छ ।
व्यवसाय विस्तारका दृष्टिले पनि कम्पनीको प्रदर्शन सबल रहेको छ । समीक्षा अवधिमा खुद बीमाशुल्क आर्जन ८.३८ प्रतिशतले बढेर ३० करोड ६२ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी, लगानी तथा कर्जाबाट हुने आम्दानीमा १८.३२ प्रतिशतको उच्च वृद्धि भई करिब ५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको कुल आम्दानी ४८ करोड ८३ लाख रुपैयाँ (८.७६ प्रतिशतले वृद्धि) पुग्दा कुल खर्च पनि करिब १३ प्रतिशतले बढेर ३१ करोड ३३ लाख रुपैयाँ (१२.९३ प्रतिशतले वृद्धि) पुगेको विवरणमा उल्लेख छ ।
रोचक पक्ष के छ भने, कम्पनीले अभिकर्तालाई दिने कमिशनमा १४.८० प्रतिशतले कटौती गरेको गरेर ६ महिनामा १ करोड ५५ लाख रुपैयाँ मात्र दिएको छ ।

लगानीकर्ताका लागि महत्वपूर्ण मानिने प्रतिशेयर आम्दानी –इपीएस) मा पनि सुधार देखिएको छ । अघिल्लो वर्ष १४.१२ रुपैयाँ रहेको प्रतिशेयर आम्दानी अहिले बढेर १४.४० रुपैयाँ पुगेको छ ।

कम्पनीको वित्तीय जोखिम वहन गर्ने क्षमता अर्थात् सोल्भेन्सी अनुपात ४.६६ प्रतिशतबाट सुधार भई ५.४८ प्रतिशत कायम भएको छ भने प्रतिशेयर नेटवर्थ २०३.११ रुपैयाँ रहेको छ ।
हाल १ अर्ब ७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको सञ्चिति कोषहरू पनि बलिया देखिएका छन । कम्पनीको स्पेशल रिजर्भमा १ अर्ब २८ करोड ५६ लाख रुपैयाँ, महाविपत्ति कोषमा १० करोड ७३ लाख रुपैयाँ र जगेडा कोषमा झण्डै २० करोड रुपैयाँ रकम जम्मा रहेको छ ।

प्रकाशित : 12 February, 2026 10:57 am