सिटिजन लाइफको वित्तीय अवस्था मजबुत, कुल आम्दानी करिब ५ अर्ब पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
२ मंसिर २०८३, बुधबारWednesday, November 18, 2026

अर्थतन्त्र

सिटिजन लाइफको वित्तीय अवस्था मजबुत, कुल आम्दानी करिब ५ अर्ब पुग्यो

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ।

उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकहरूमा प्रगति देखिएको छ। गत आवको पुस मसान्तसम्म २३ करोड ९ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ०.२४ प्रतिशतको सामान्य वृद्धि सहित २३ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ।

आम्दानीको एक मुख्य स्रोत खुद बीमाशुल्क आर्जन समीक्षा अवधिमा ३ अर्ब १८ करोड १६ लाख रुपैयाँबाट २२.२३ प्रतिशतले बढेर ३ अर्ब ८८ करोड ८७ लाख रुपैयाँ नाघेको छ। त्यस्तै कुल आम्दानी ४ अर्ब १८ करोड ९४ लाख रुपैयाँबाट १८.९५ प्रतिशतले बढेर ४ अर्ब ९८ करोड ३५ लाख रुपैयाँ पुग्दा कुल खर्च ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँबाट २० प्रतिशतले बढेर ४ अर्ब ७५ करोड २० लाख रुपैयाँ नाघेको छ।

त्यसैगरी समीक्षा अवधिमा कम्पनीले अभिकर्तालाई कमिशन बापत दिने रकम ३१ करोड ८५ लाख रुपैयाँबाट वृद्धि गरी ३८ करोड ६ लाख रुपैयाँ पुर्याएको छ भने कम्पनीका कर्मचारीलाई दिने कमिशन १७ करोड ९९ लाख रुपैयाँबाट वृद्धि गरी १८ करोड ८० लाख रुपैयाँ पुर्याएको छ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमाकोषको आकार १६ अर्ब ८५ करोड २३ लाख रुपैयाँबाट बढेर २२ अर्ब ८१ करोड ७१ लाख रुपैयाँ पुगेको छ। प्रतिशेयर आम्दानी ११.७३ रुपैयाँबाट घटी ९.२६ रुपैयाँमा कायम हुँदा सोल्भेन्सी अनुपात ३.४२ प्रतिशतबाट घटेर १.७३ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १२६.५२ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५१.१८ गुणा रहेको छ।

चुक्ता पूँजी ५ अर्ब रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम ४५ करोड रुपैयाँ, महाविपत्ति कोषमा २५ करोड ३५ लाख रुपैयाँ र जगेडा कोषमा ३५ करोड ६५ लाख रुपैयाँ सञ्चित रहेको छ। २६ अर्ब रुपैयाँ लगानी गरेको यस कम्पनीको सम्पत्तिको कूल मूल्य २९ अर्ब ८८ करोड रुपैयाँभन्दा माथि रहेको छ।

प्रकाशित : २६ माघ २०८२, सोमबार ०९:४९ 9 February, 2026 9:49 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।