नेपालजस्तो पहाड, तराई, हिमालले सजिएको देश जहाँ सम्भावना प्रशस्तै छन्, त्यहाँ विकासको ढोका खोल्ने चाबी हो — उद्यमशीलता । अनि, त्यो चाबी चलाउने भरपर्दो हात हो — सहकारी । जब हामी सशक्तिकरणको कुरा गर्छौं, विशेषगरी महिलाको, तब उद्यमशीलता र सहकारी संस्था एउटै डोरीका दुई छेउझैं लाग्छन् — एक अर्कामा अन्योन्याश्रित र सघन ।सदियौंदेखि घरभित्र सीमित भएका महिला आज खेतमा, पसलमा, उद्योगमा र बोर्ड बैठकमा देखिन थालिसकेका छन् । यो रूपान्तरण आकस्मिक होइन, यो सहकारी अभियानको प्रतिफल हो । आजका महिलाले बैंक जानुपूर्व, उधारो माग्न जानुपूर्व, आफ्नै घर छेउको सहकारी अफिसमा पुगेर ऋण लिन्छन्, तालिम लिन्छन्, र आफ्नै व्यवसाय खडा गर्छन् । ती महिला, जो हिजो भाँडा मात्रै माझ्थिन् र घरधन्दा मात्रै गर्थिन्, आज आफ्नै उत्पादनको ‘ब्राण्ड’ बनाउँदैछिन् । यस्तो परिवर्तनलाई सशक्त पार्ने मेरुदण्ड बनेको छ – सहकारी । त्यसैले नेपालजस्तो विकाशोन्मुख देशका लागि आन्तरिक उत्पादन र विकासका लागि सहाकारी क्षेत्र महत्वपूर्ण छ ।
सहकारी र महिला उद्यमशीलताः आत्मनिर्भरताको बाटो
सहकारी संस्थाहरूले महिलालाई केवल आर्थिक पहुँच दिएका छैनन्, आत्मविश्वास, सीप र पहिचान पनि दिएका छन् । सिलाइ–बुनाइ होस्, अचार, गुन्द्रक, मसौरा बनाउनृ स–साना लघु उद्योग हुन्, वा तरकारी खेती—महिलाहरू अब स्वावलम्बी बन्दै गएका छन् । आफ्नै व्यवसाय चलाउँदा महिलाले आर्थिक स्वतन्त्रता त पाउँछन् नै, साथै पारिवारिक निर्णयमा पनि उनीहरूको भूमिका निर्णायक र महत्वपूर्ण हुन थालेको छ ।
घरभित्र चुलोचौको मात्रै सम्हाल्ने आमा, आज गाउँको सहकारीमा अध्यक्ष बनेकी छिन् । यस्तो उदाहरणले पनि देखाउँछ — महिलामा क्षमता छ, अवसर दिनुपर्छ । महिला उद्यमशीलता बढाउन सरकारले पनि विभिन्न कार्यक्रम, अनुदान, तालिम र सहुलियत ऋणहरूको व्यवस्था गरेको छ । नेपालको कानुन तथा नीति दस्तावेजहरुमा महिला उद्यमशीलत पवद्र्धनका लागि विभिन्न प्रावधानहरु छन् । औद्योगिक व्यवसाय ऐन, २०७६ मा महिला उद्यमीको मात्र स्वामित्व रहने गरि उद्योग वा फर्म दर्ता गराएमा कानुन बमोजिम लाग्ने दस्तुरमा पैंतीस प्रतिशत छुट दिने प्रावधान राखिएको छ । तर, यो मात्र प्रयाप्त छ्रैन ।
नेतृत्वमा महिलाको उपस्थितिः प्रगति र चुनौती दुबै
सहकारीमा महिलाको सहभागिता उल्लेखनीय छ — झन्डै ५६ प्रतिशत ! तर नेतृत्वमा भने अझै सुधारको खाँचो छ । किनभने नेतृत्वमा पुग्न सीप, आत्मविश्वास र सामाजिक स्वीकृति सबै चाहिन्छ । यो कुरा समाजले अंगीकार गरेको संस्कृतिसँग पनि गाँसिएको छ । यिनै पक्षहरूलाई मजबुत बनाउन सहकारीहरूले नेतृत्व विकास तालिम, कार्यशाला, र नीति निर्माणमा सहभागी गराउने अभ्यास गर्दै आएका छन् । राष्ट्रिय सहकारी महासंघले क्षमता अभिवृद्धि तालिम, नेतृत्व विकास कार्यशाला, तथा नीति निर्माण प्रक्रियामा महिलाको सहभागिता बढाउने कामलाई प्राथमिकता दिएको छ । यसले भविष्यमा नेतृत्व विकासलाई मद्दत पु¥याउने छ ।
आज हामी ‘सक्षम महिला, सक्षम संस्था’ भन्ने नारालाई व्यवहारमा उतार्ने प्रयास गर्दै छौं । हामी देख्दै छौं– महिलाको ठूलो पंक्ति अगाडि बढेर यसको नयाँ मार्ग देखाउँदै छन् । तर अझै पनि धेरै महिलाहरू सामाजिक सुरक्षाको त्रास, लगानीको अभाव र परिवारको साथ नपाएर पछि परिरहेका छन् । यो पनि आकस्मिक रुपमा परिवर्तन हुने विषय होइन, क्रमैसँग विकास हुँदै जाने छ ।
उज्यालो भविष्यको आँकलन
अब सहकारीहरूले परम्परागत ढर्रामा मात्रै सीमित हुनु हुँदैन । डिजिटल सेवा, घरेलु उद्योग क्लस्टर, नवप्रवर्तनमूलक स्टार्टअप अभियानजस्ता कार्यक्रम लिएर सहकारीहरूले महिलालाई नयाँ युगको उद्यमशीलतामा सँगै हिँड्न तयार गराउनु पर्छ । बजार सञ्जाल विस्तार गरेर उनीहरूका उत्पादनलाई टाढासम्म पु¥याउने योजना बनाउनु पर्छ । जीवन्त प्रणालीले नै विकासको बाटो तय गर्छ । बगिरहेको पानी र जमेको पानीको गुणमा जस्तो भिन्नता हुन्छ, परम्परागत ढर्राबाट निस्केको सहकारी र परम्परामै अल्झेको सहकारीको गुणमा पनि त्यस्तै भिन्नता हुन्छ । राष्ट्रिय सहकारी महासंघले आगामी बजेट तथा कार्यक्रमका महिलालाई लक्षित वित्तीय साक्षरता, व्यवस्थापन परामर्ष एवं डिजिटल बजार प्रवद्र्धनको व्यवस्था गर्न खोजेको छ । यसले समग्र सहकारी क्षेत्रलाई, विशेष गरी महिला सहकारी संस्थालाई ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सहकारी केवल व्यवसाय होइन, महिलाको पहिचान निर्माणको प्रक्रिया पनि हो । सहकारी भनेको अब केवल बचत र ऋणको संस्था होइन, महिलाको सपना बुनिने थलो हो । समाजमा चल्दै आएको विकृत अभ्यासले वचत र ऋणको खेलोमेलोलाई मात्र सहकारीको सीमित अभ्यासमा खुम्च्याएर बुझ्ने प्रवृत्ति बढाएको छ । सहकारीको मूल्य मान्यतालाई भत्काएर चलेका संस्थाले यस क्षेत्रमा ल्याएको विचलनलाई उदाहरण बनाएर सहकारी क्षेत्रको जनप्रिय भूमिकालाई कमजोर बनाइनु हुँदैन । र, अध्ययनहरुले पनि महिलाले संचालन गरेका सहकारीमा कुनै समस्या नदेखिएको देखाउदछ ।
सहकारी क्षेत्रमाथि अनेकौं प्रश्न उठिरहेका बेला पनि सहकारी संस्थाहरु महिला उद्यमशीलता विकासको एक बलियो मञ्च बनेका छन् । समाजमा आर्थिक स्वावलम्बन र आत्मविश्वासको मात्रा बढेको छ । सामाजिक जीवनमा यो यात्रा सहकारीको भूमिकाका कारण सहज भएको हो । यसलाई अझ सहज र समृद्ध बनाउनु पर्छ । जब सहकारीमा महिलाको आवाज मात्र होइन, नेतृत्व पनि सुनिश्चित हुनेछ, तब हामी साँचो अर्थमा ‘सशक्त महिला, समृद्ध समाज’ भन्ने लक्ष्यमा पाइला टेकिसकेका हुने छौं ।
पन्त राष्ट्रिय सहकारी महासंघकी उपाध्यक्ष हुन्





Comment