१२ सहकारीका ऋणीबाट १ करोड २० लाख भन्दा बढी असुली, ४४ हजार मागदाबीमा छानबिन जारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१२ सहकारीका ऋणीबाट १ करोड २० लाख भन्दा बढी असुली, ४४ हजार मागदाबीमा छानबिन जारी



काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले जेठ महिनामा बचत फिर्ता र ऋण असुली दुवै क्षेत्रमा उल्लेखनीय प्रगति भएको जनाएको छ।

समितिले सार्वजनिक गरेको मासिक विवरणअनुसार ८ वटा समस्याग्रस्त सहकारी संस्थाका १ हजार ४५२ बचतकर्तालाई कुल ५९ लाख ४ हजार ६८९ रुपैयाँ फिर्ता गरिएको छ। फिर्ता गरिएको रकम मुख्यतः १० हजार रुपैयाँभन्दा कम बचत भएका साना बचतकर्तालाई वितरण गरिएको हो।

बचत फिर्ता गरिएका संस्थामा कृषि विकास बहुउद्देश्यीय, कान्तिपुर सेभिङ एण्ड क्रेडिट, पशुपति सेभिङ, नागरिक कल्याण, ओरिएन्टल को–अपरेटिभ, गोरखा सेभिङ, शिव शिखर तथा लालिगुराँस बहुउद्देश्यीय सहकारी रहेका छन्।

समितिका अनुसार बचतकर्तालाई भुक्तानी गरिएको रकम ती सहकारीका ऋणीहरूबाट असुल गरिएको बक्यौता रकमबाट व्यवस्थापन गरिएको हो। जेठ महिनामा मात्रै १२ वटा समस्याग्रस्त सहकारीका ऋणीहरूबाट १ करोड २० लाख ४६ हजार रुपैयाँ ऋण असुल भएको जनाएको छ।

यस अवधिमा १२२ जना बचतकर्ताको ५१ लाख ५१ हजार रुपैयाँ बराबरको बचत मिलान प्रक्रिया पनि सम्पन्न गरिएको छ। बचत मिलान तथा ऋण असुलीको कार्य ओरिएन्टल, तुलसी, कृषि विकास, आइडियल यमुना, शिव शिखर, स्ट्याण्डर्ड सेभिङ, लालिगुराँस, कान्तिपुर, गौतमश्री, पशुपति, गोरखा र नेपाल सहकारी वित्तीय संस्थामा गरिएको समितिले जनाएको छ।

उता, बचत फिर्ता प्रक्रियाका लागि प्राप्त करिब ४४ हजार मागदाबी निवेदनको भेरिफिकेसन तथा छानबिन कार्य अझै जारी रहेको छ। ती निवेदनहरूलाई चरणबद्ध रूपमा परीक्षण गरी योग्य दाबीकर्तालाई रकम फिर्ता गर्ने तयारी भइरहेको समितिले जनाएको छ।

समितिले दाबी रुजु तथा संशोधनका लागि छुट्टै हेल्प डेस्क सञ्चालनमा ल्याएको छ। साथै समस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक तथा पूर्वपदाधिकारीहरूको नाममा रहेका सम्पत्तिको खोजी तथा पहिचानका लागि विशेष टोली परिचालन गरिएको जानकारी दिएको छ।

ऋणीहरूको वास्तविक दायित्व गणना तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन नयाँ सफ्टवेयर विकासको काम अघि बढाइएको छ भने त्यसको प्रयोगका लागि कर्मचारीलाई तालिम दिन सुरु गरिएको समितिले जनाएको छ।

प्रकाशित : 17 June, 2026 2:06 pm