तीन वर्षभित्र बचत फिर्ता व्यवस्था अव्यावहारिक : सहकारी नेतृत्व « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तीन वर्षभित्र बचत फिर्ता व्यवस्था अव्यावहारिक : सहकारी नेतृत्व



भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले उपसमितिहरूलाई संस्थागत सुदृढीकरणको मुख्य आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएको छ । संघअन्तर्गतको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिको आयोजनामा क्लब बागमती, आदर्शमा सम्पन्न एकदिने ‘उपसमिति सदस्यहरूको क्षमता विकास तालिम’मा सहभागी वक्ताहरूले सहकारी संस्थाहरूलाई प्रभावकारी र सबल बनाउन उपसमितिहरूको सक्रियता अपरिहार्य रहेको बताएका छन् ।

जेठ ३० गते आयोजित उक्त तालिममा सहकारी संस्थाभित्र उपसमितिहरूको भूमिका, जिम्मेवारी, कार्यक्षेत्र तथा व्यवहारिक अभ्यासका विषयमा विस्तृत छलफल गरिएको थियो । साथै, सहभागीहरूलाई समूहगत अभ्यासमार्फत व्यावहारिक सीप पनि प्रदान गरिएको थियो ।

तालिमको समापन समारोहमा बोल्दै संघका अध्यक्ष हरिकृष्ण बल्लले सहकारी संस्थाहरूलाई चलायमान र दिगो बनाउन उपसमितिहरूको भूमिका निर्णायक हुने बताए । उनले उपसमिति सदस्यहरू निरन्तर नयाँ ज्ञान र सीपप्रति जागरुक हुनुपर्नेमा जोड दिँदै तालिममा सिकेका कुरालाई व्यवहारमा उतार्न निर्देशन दिए ।

अध्यक्ष बल्लले सहकारी संस्थाहरूले आफ्नै आवश्यकताका आधारमा संघ गठन गरेको स्मरण गराउँदै हालै जारी सहकारी अध्यादेशका केही प्रावधानहरू अव्यावहारिक रहेको टिप्पणी गरे । उनका अनुसार तीन वर्षभित्र कारोबार बन्द गरी बचत फिर्ता गर्नुपर्ने व्यवस्थाले बजारमा बचत फिर्ताको चाप बढाई सहकारी क्षेत्रमा थप समस्या निम्त्याउने खतरा छ । उनले उक्त व्यवस्था तत्काल संशोधन हुनुपर्ने धारणा राखे ।

संघका सचिव एवं उपसमिति संयोजक कान्छा भक्त घजुले संस्थालाई सही दिशामा अघि बढाउन उपसमितिहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने बताए । उनले उपसमिति सदस्यहरूलाई संस्थागत लक्ष्य हासिल गर्न निरन्तर सक्रिय र सचेत रहन आग्रह गरे ।

तालिमका मुख्य प्रशिक्षक तथा नेफ्स्कूनका विभागीय प्रमुख बल्लभ तिमिल्सिनाले सहकारी संस्थालाई अनुशासित र प्रभावकारी बनाउन उपसमितिहरूको भूमिका निर्णायक हुने बताए । उनले तालिमका क्रममा उपसमितिको कार्यक्षेत्र र जिम्मेवारीबारे समूहगत प्रयोगात्मक अभ्याससमेत गराएका थिए ।

संघको शिक्षा तथा संस्थागत विकास तालिम उपसमितिका सदस्य बालमुकुन्द उपाध्यायले व्यस्त समयका बाबजुद सहभागी भई तालिमप्रति देखाइएको उत्साहप्रति धन्यवाद व्यक्त गरे । उनले आगामी दिनमा यस्ता क्षमता विकास कार्यक्रमहरूमा पनि सक्रिय सहभागिताको अपेक्षा गरे ।

उपसमिति सदस्य प्रकाश बास्तोलाले समापन समारोह सञ्चालन गरेको उक्त तालिममा संघमा आबद्ध सदस्य संस्थाका उपसमितिका ३८ जनाको सक्रिय सहभागिता रहेको थियो ।

प्रकाशित : 15 June, 2026 4:06 pm