चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन फागुन ५ र ६ गते, संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने तर्फ विशेष जोड दिइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन फागुन ५ र ६ गते, संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने तर्फ विशेष जोड दिइने



काठमाडौं । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०८० आगामी फागुन ५ र ६ गते आयोजना हुने भएको छ । बिहीबार स्वावलम्बन विकास केन्द्रले एक कार्यक्रम आयोजना गरी सम्मेलन ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको जानकारी दिएकाे हाे ।

सम्मेलन मुख्यरुपमा लघुवित्त सेवालाई स्वस्च्छ, स्वस्थ र सक्षम बनाउन तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रकोरुपमा अगाडी बढाउने उपायहरु खोज्न केन्द्रित हुने जनाइएको छ। यसको साथै सम्मेलनले हरेक लघुवित्त संदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बनाउने तर्फ विशेष जोड दिने छ ।

सम्मेनमा लघुवित्तका प्रवर्द्धक, सञ्चालक, व्यवस्थापक, कर्मचारी, नीतिगत तथा नियामक निकायका प्रतिनिधिहरु एकै ठाउँमा भेला भएर लघुवित्त क्षेत्रका कमी कमजोरीहरु बारे समीक्षा गर्ने कार्यक्रम रहेको छ । लघुवित्त क्षेत्रमा देखिएका विकृति, विसंगति र विचलनहरुलाई नियन्त्रण गरी लघुवित्त सेवालाई अझ स्वच्छ, स्वस्थ र सदस्यमुखी, गरीब तथा विपन्नमैत्री र दिगो बनाउन संस्थागत एवं कार्यगत शुद्धिकरण र सवलीकरणको उपायहरु पहिल्याउन, लक्षित वर्गको विकासको नयाँ सम्भावनाहरु खोजबिन गर्न र आगामी दुई वर्षमा सम्पन्न गर्ने गरी मार्गचित्र तय गर्ने जनाइएकाे छ।

आगामी सम्मेलनबाट लघुवित्तलाई नयाँ कार्ययोजना अनुसार लगिने भन्दै आफ्नो आफ्नो क्षेत्रबाट गरिब परिबारमा दुई छाक खान नपुग्ने व्यक्ति छन् । त्यस्ता व्यक्तिलाई शुन्य बनाउने लक्ष्य लिएको स्वभालम्बन लघुवित्त वित्तिय संस्थाका अध्यक्ष शंकरमान श्रेष्ठले बताए । उनले भने, ‘आज भन्दा अगाडी लघुवित्तले जतिपनि लगानी गर्यौ लोन दियौं त्यसको दुरुपयोग भयो । यसलाई व्यवस्थित बनाउने छौं । लघुवित्तलाई सवलिकरण र शुद्धिकरणबाट लैजाने छौं ।’

लघुवित्तले नराम्रो काम मात्र गरेको छैन् राम्रो काम पनि गरेको भन्दै उनले लघुवित्त गरिबी निवारणको लागि विकास भएको संस्था रहेको बताए । साथै, पछिल्लो समय लघुवित्तलाई गलत भन्दै हिडेका जतिपनि अगुवाहरु छन् । तीनिहरुका पनि समस्या आगामी सम्मेलनले समेटेर अन्त्य गर्ने लक्ष्य लिएको बताए ।

त्यसैगरी कार्यक्रममा उनले हाल लघुवित्त वित्तीय संस्थाहरु र लघुवित्त गर्ने सहकारी संस्थाहरुले नेपालको ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गरी रहेकाे पनि बताएका छन् । ‘हाल ५७ वटा लघुवित्त संस्थाहरुले ५०८२ शाखाहरु मार्फत करिब ६० लाखलाई लघुवित्तमा आवद्ध गरेका छन् । यस मध्ये २८ लाख सदस्यहरुले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरी रहेका छन् । लघुवित्त गर्ने संस्थाहरुले ४३२ अरब भन्दा वढी कर्जा लगानी पनि गरेका छन् । लघुवित्त वाहेक ५० वटा जति लघुवित्त सञ्चालन गर्ने सहकारी संस्थाहरू पनि क्रियाशील छन्, उनले भने।’

यसरी सहकारीमा पछिल्लो समय समस्या आइरहदाँ लघुवित्तमा आवद्ध सहकारीहरु भने समस्यामा नपरेको उनको दाबी छ । उनले यस्ता सहकारी सिद्धान्त अनुरुप चल्ने र संञ्चालकले रिन नलिने कारणले लघुवित्तआवद्ध सहकारी समस्या मुक्त रहेको उनको भनाई छ ।

वित्तीय पहुँचको माध्यमबाट गरीब र विपन्नवर्ग विशेष गरी महिलाहरुको आर्थिक सामाजिक रुपान्तरण गर्ने उद्देश्यले करिब तीन दशक अघि आधुनिक लघुवित्त प्रणालीको शुरुवात भएको थियो।

देशको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता, लघुवित्त कारोबार गर्ने संस्थाहरुबीच अधिक प्रतिस्पर्धा, लघुवित्त प्रति आम सर्वसाधारणमा भ्रम सिर्जना गर्ने समूहको सक्रियता लगायतका कारण नेपालको लघुवित्त क्षेत्र यतिबेला विषम परिस्थितीबाट गुज्री रहेको लघुवित्तकर्मीहरुकाे भनाइ छ।

लघुवित्त सञ्चालन गर्ने संस्थाहरुको कर्जा असुली प्रभावित बन्दा खराव कर्जा बृद्धि भइरहेको छ । लघुवित्त सेवा प्रति समाजमा फैलिएको गलत सन्देशका कारण व्यवसाय विस्तार गर्न अप्ठेरो परिस्थिती सिर्जना हुन थालेको लघुवित्तकर्मीहरुले बताएका छन् ।

नेपालमा वित्तीय पहुँच अभिवृद्धि तथा गरिवी निवारणमा महत्वपूर्ण भूमिका रहेको लघुवित्त संस्थाहरुको आवश्यकता र महत्व पछिल्ला दिनहरुमा झन् बढ्दै गएको छ । कोभिड-१९ को महामारी र जलवायु परिवर्तनको कहर, रोजगारीको अभाव, विदेशिदो युवा श्रम शक्ति तथा उपभोग्य बस्तुको वढ्दो आयात, विभिन्न देशविच बढेको द्वन्द्वका कारण सिर्जना भएको आर्थिक मन्दीले प्रभावित भएका तल्लो वर्गका विपन्न नागरिकहरुलाई माथी उठाउने दायित्व लघुवित्त संस्थाहरुमाथी थपिएको उनीहरुको भनाई छ ।

आर्थिक सम्पन्नता हासिल गरेर मात्र गरिबी नहटने हुँदा आर्थिक पक्ष सँगै लक्षित वर्गको सर्वाङ्गिण विकासमा जोड दिनु पर्ने बेला आएको भन्दै यसको लागि सम्मेलनले लघुवित्तका सदस्यहरुको आर्थिक पक्ष सँगै सामाजिक, साँस्कृतिक एवं वातावरणीय पक्षमा काम गर्न ठोस कार्यनीति बनाउने जनाएका छन् । साथै आर्जित मुनाफाको अधिक भाग लक्षित वर्गको हित र उत्पादकत्व बृद्धिमा प्रभाव पार्ने शिक्षा र स्वास्थ्यको सुधार, उद्यमशीलता एंव सीप विकास, वातावरणीय संरक्षण जस्ता गैर वित्तीय सेवा प्रबाहमा पनि जोड दिइने बताएका छन् । युवा जनशक्तिलाई स्थानीयस्तरमै अवसर सिर्जना गरी स्वदेशमै स्वावलम्बी बनाउने तर्फ पनि सम्मेलनमा छलफल गर्ने बताएका छन्।

पछिल्लो समय मानव जाति सामु देखा परेका साझा समस्या गरिबी, बेरोजगारी एवं जलवायु परिवर्तन विरुद्धको लडाँईमा नयाँ पुस्ताका युवावर्गलाई अघि सारेर सन्तुलित विश्व निर्माणको अभिभारा लिन योग्य बनाउनु पर्ने छ । यो विषय पनि सम्मेलनको छलफलको अहं विषय हुने जनाइएको छ।

प्रकाशित : ४ फाल्गुन २०८०, शुक्रबार १४:४४