एमबैंक र एनएमसी–कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एमबैंक र एनएमसी–कोअपबीच डिजिटल वित्तीय सेवा विस्तारका लागि रणनीतिक साझेदारी



काठमाडौं । डिजिटल वित्तीय सेवा प्रदायक एमबैंक टेक्नोलोजिज प्रालि र एनएमसी मल्टिपर्पज को–अपरेटिभ लिमिटेडबीच एकीकृत डिजिटल बैंकिङ, भुक्तानी तथा ऋण सेवा विस्तारका लागि रणनीतिक साझेदारी भएको छ। जेठ २९ गते भएको सम्झौताअनुसार साझेदारीअन्तर्गतका सेवा साउन ७ गतेदेखि औपचारिक रूपमा सञ्चालनमा आएका छन्।

५७ सेवा केन्द्रमार्फत १ लाख ५० हजारभन्दा बढी सदस्यलाई सेवा दिँदै आएको एनएमसी–कोअपले अब एमबैंकको डिजिटल प्लेटफर्ममार्फत सदस्यलाई विभिन्न वित्तीय सेवा उपलब्ध गराउने भएको छ।

साझेदारीपछि एनएमसी–कोअपका सदस्यले एउटै मोबाइल एपबाट मोबाइल बैंकिङ, क्यूआर भुक्तानी, रकम स्थानान्तरण, युटिलिटी बिल भुक्तानी, डिजिटल पेमेन्ट तथा केवाइएम अद्यावधिकलगायतका सेवा लिन सक्नेछन्।

डिजिटल ऋण सेवामा पनि जोड

साझेदारीको महत्वपूर्ण पक्ष डिजिटल ऋण सेवा रहेको कम्पनीले जनाएको छ। चरणबद्ध रूपमा सदस्यले फिक्स्ड डिपोजिट तथा पिरियडिक खाताविरुद्ध ऋण लिन, ऋणको किस्ता भुक्तानी गर्न, ऋणको विवरण हेर्न तथा नयाँ ऋणका लागि आवेदन दिन सक्ने व्यवस्था गरिनेछ।

ऋणका लागि आवश्यक कागजात डिजिटल माध्यमबाटै पेस गर्न सकिने तथा आवेदनको अवस्था पनि मोबाइलबाटै हेर्न सकिने भएकाले शाखामा प्रत्यक्ष उपस्थित हुनुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ। एनएमसी मल्टिपर्पज को–अपरेटिभका प्रमुख कार्यकारी अधिकृत तथा हालै राष्ट्रिय सहकारी बैंकका अध्यक्ष निर्वाचित लक्ष्मीप्रसाद उप्रेतीले सहकारी क्षेत्रको दिगो विकासका लागि प्रविधिमैत्री सेवा विस्तार आवश्यक रहेको बताए।

उनका अनुसार साझेदारीले सदस्यलाई सुरक्षित, सहज र आधुनिक वित्तीय सेवा उपलब्ध गराउन सहयोग गर्नेछ। एमबैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जय महासेठले साझेदारीलाई मोबाइल बैंकिङ विस्तारभन्दा पनि सहकारी क्षेत्रलाई डिजिटल प्रविधिमार्फत रूपान्तरण गर्ने पहलका रूपमा व्याख्या गरे।

उनले बैंकिङ, भुक्तानी र ऋण सेवालाई एउटै डिजिटल प्रणालीमा एकीकृत गरेर सदस्यलाई सरल, सुरक्षित र आधुनिक वित्तीय अनुभव दिने उद्देश्य रहेको बताए।

सहकारी क्षेत्रमा डिजिटल पहुँच विस्तार गर्ने लक्ष्य

एमबैंकले ‘एक प्लेटफर्मबाट बैंकिङ, पेमेन्ट र लेन्डिङ’ तथा ‘एक एप, बहुसेवा’को अवधारणाअनुसार सेवा विस्तार गरिरहेको जनाएको छ। कम्पनीका अनुसार साझेदारीले सहकारी, लघुवित्त तथा वित्तीय क्षेत्रमा डिजिटल वित्तीय पहुँच विस्तार गर्ने योजनालाई थप बल पुगेको छ। एमबैंकले एक दशकभन्दा बढी समयदेखि सहकारी, लघुवित्त तथा वित्तीय संस्थालाई मोबाइल बैंकिङ, डिजिटल पेमेन्ट, क्यूआर पेमेन्ट र डिजिटल लेन्डिङलगायतका प्रविधि समाधान उपलब्ध गराउँदै आएको छ।

एनएमसी–कोअपले बचत तथा ऋणसँगै कृषि, दुग्ध, चिया, रेमिट्यान्सलगायतका क्षेत्रमा सेवा दिँदै आएको छ। संस्थाका देशभर ५७ सेवा केन्द्र छन् र सदस्य संख्या १ लाख ५० हजारभन्दा बढी रहेको जनाइएको छ।

प्रकाशित : 11 August, 2026 1:35 pm