१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना हुदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१६ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव आयोजना हुदै



काठमाडौं । नेपालमा १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला– २०७९ आयोजना हुने भएको छ । नेपाल घरेलु तथा साना उद्योग, महासंघले बिहिबार पत्रकार सम्मेलन गर्दै उक्त मेला अगामी फागुन २ गतेदेखि ६ गतेसम्म भृकुटीमण्डपमा आयोजना हुने जानकारी गराएको हो ।

स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासंघले हरेक वर्ष आयोजना गर्दै आएको औद्योगिक प्रदर्शनी कोरोना महामारीको कारण विगत ३ वर्षदेखि स्थगित भएको थियो ।

मुलुकभरका झन्डै ६ लाख भन्दा बढी लघु, घरेलु तथा साना उद्योगहरू र कृषि व्यवसायमा संलग्न उद्यमीहरूलाई प्रतिविम्वित गर्ने यस प्रदर्शनीको मुख्य नारा “नेपाली वस्तु प्रयोग गरौँ, नेपाली भएकोमा गर्व गरौँ” र “मिहिनेत, सृजना, उत्पादन र वस्तु मैरै नेपालको” भन्ने रहेको छ ।

हाम्रो जस्तो देशमा लघु घरेलु तथा साना उद्योगहरू आर्थिक विकास र समृद्धिका संवाहकका रूपमा रहेको भएता पनि पुरातन प्रविधिको प्रयोग र अन्य क्षमता विकासका हिसाबले यस्ता उद्योगहरू प्रतिस्पर्धी बन्न नसकेका कारण आकर्षक प्रतिफल दिन सकिरहेका छैनन् । जसले गर्दा हाम्रा युवा पुस्ता यस्ता उद्योगप्रति आकर्षित हुन सकिरहेका छैनन् ।

यस्तै पक्षलाई सम्बोधन गर्न र एक अर्काबाट सिक्न तथा ज्ञान र सीप आदान प्रदान गर्ने उद्देश्यका साथ लघु, घरेलु तथा साना उद्योगको छाता संस्था नेपाल घरेलु तथा साना उद्योग महासंघले नियमित रूपमा राष्ट्रिय, प्रदेश तथा जिल्ला स्तरमा औद्योगिक प्रदर्शनीहरू आयोजना गर्दै आएको छ ।

विगत केही वर्षदेखि राष्ट्रिय औद्योगिक प्रदर्शनीलाई अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको रूपमा आयोजना गर्न शुरु गरेको सन्दर्भमा यो प्रदर्शनी यस वर्ष नेपाल १६औँ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव र छैठौं प्राङगारिक कृषि मेला २०७९ को नाममा आयोजना हुँदैछ ।

उद्योगहरूको उत्पादनको प्रदर्शनी र व्यापार प्रवर्द्धन समेत गरिने यस मेलाले मुलुकका लघु, घरेलु तथा साना उद्योगका उत्पादनहरूको वर्तमान अवस्थालाई उजागर गर्न नेपालमा सञ्चालित लघु, घरेलु तथा साना उद्योग लगायत सबै खाले उद्योगको उत्पादनलाई समावेश गरिने आयोजकले जनाएको छ ।

प्रदर्शनीमा नेपालका सबै प्रदेश र जिल्लाका उद्यमीहरू, उपयुक्त प्रविधि प्रयोगकर्ताहरू र भारत, पाकिस्तान, बंगलादेश लगायत सार्क मुलुक तथा चीनको सहभागिता रहने छ र प्रदर्शनीमा २०० वटा स्टलको व्यवस्था हुने र दुई लाख भन्दा बढी अवलोकनकर्ताहरूले मेलाको अवलोकन गर्ने अपेक्षा गरिएको छ भने सात करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोवार हुने प्रक्षेपण गरिएको छ ।

साथै मानिसहरुको आकर्षण दिन प्रतिदिन अर्गानिक उत्पादनमा बढ्दै गएको र अर्गानिक उत्पादन उपभोग गर्नेहरुको संख्या उल्लेख्य रुपमा बृद्धि भइरहेको छ भने नेपाल सरकारले पनि अर्गानिक उत्पादनलाई प्रोत्साहन गरिरहेको अवस्थालाई मध्यनजर गर्दै तेश्रो प्राङ्गारिक कषि मेला– २०७५ पनि सोही मेलामार्फत गरिन लागेको हो ।

अर्गानिक तथा प्राकृतिक कृषि उपजहरुको राष्ट्रिय, अन्तर्राष्ट्रिय बजारीकरणमा टेवा पु¥याउने उत्पादक र उपभोक्ताहरुलाई एउटै थलोमा ल्याउने बताइएको छ । उत्पादक र उपभोक्ता बीचको मूल्य अन्तरलाई न्यूनीकरण गर्दे उपभोक्तालाई सुपथ मूल्यमा अर्गानिक तथा प्राकृतिक उपभोग्य सामाग्रीहरु उपलब्ध गराउने वातावरण बनाउने प्राङ्गारिक कषि मेलाको उद्देश्य रहेको छ ।

प्रकाशित : २१ पुष २०७९, बिहीबार १४:२५