लक्ष्मी ग्रुपले सार्वजनिक गर्यो बोस ब्राण्डका घरेलु उपकरण, यस्ता छन् बिशेषता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

लक्ष्मी ग्रुपले सार्वजनिक गर्यो बोस ब्राण्डका घरेलु उपकरण, यस्ता छन् बिशेषता



काठमाडौं । लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इलेक्ट्रो टेक प्रालिसँगको साझेदारीमा बीएसएच होम अप्लायन्सेसले नेपालमा बोश ब्रान्ड सार्वजनिक गरेको छ । आइतबार एक कार्यक्रमको आयोजना गरि जर्मन कम्पनी बोशका घरायसी सामाग्रीहरु नेपालमा सार्वजनिक गरेको हो ।

काठमाडाैस्थित कमलादीमा रहेको आईटी प्लाजामा बोशको अत्याधुनिक स्टोरको स्थापना गरेको बीएसएच होम अप्लायन्सेसले अबको दुई वर्षभित्र बोश ब्रान्डका घरेलु उपकरणहरुलाई बजारमा विस्तार गर्ने योजना राखेको छ।

स्टोरमा जर्मन प्रविधिमा आधारित बोशका उपकरणहरु उच्च गुणस्तरीय रेफ्रिजरेटर (फ्रिज), वासिङ मेसिन, डिशवाशर, मिक्सर ग्राइन्डर र थप उपकरणहरु प्रदर्शनी एवम् बिक्रीको लागि राखिएको छ।

नेपाली बजारमा बोश भित्र्याउँदै बीएसएच होम अप्लायन्सेसको भारत र सार्क राष्ट्रका लागि प्रबन्ध निर्देशक एवं प्रमुख कार्यकारी अधिकृत निरज बहलले भने, ‘हामी नेपालमा प्रवेश गर्न पाउँदा निकै हर्षित छौँ। सार्क राष्ट्रमा हाम्रो बजार विस्तार गर्ने रणनीतिका लागि यो एक महत्वपूर्ण कदमसमेत सावित भएको छ।’

बहलले बीएसएच होम अप्लायन्सेसले नेपालको लक्ष्मी ग्रुपसँग सहकार्य गर्न पाएकोमा समेत खुसी व्यक्त गरे। ‘लक्ष्मी ग्रुपसँग साझेदारी गर्न पाउँदा हामी निकै बलियो महसुस गर्दैछौँ’, उनले भने।

बहलका अनुसार नेपालमा घरेलु उपकरणहरुको बजार द्रुत रुपमा बढिरहेको छ। यसबाहेक बजार बढ्दो गतिमा छ। यस्तोमा जर्मन विरासतमा आधारित बोश ब्रान्डका उपकरणहरुले राम्रो बजार प्रदर्शन गर्नेमा उनी सकारात्मक छन्। यसका हरेक उपकरण उपभोक्ता–केन्द्रित हुनाले विश्व बजारले समेत बोश ब्रान्ड निकै रुचाएको उनी बताउँछन्।

यसबाहेक बोश ब्रान्ड नेपाली बजारमा सार्वजनिक गर्दै र लक्ष्मी ग्रुपसँगको साझेदारीबारे लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकर श्रेष्ठ भन्छन्, ‘नेपाली उपभोक्ताका लागि गुणस्तरीय घरेलु उपकरणहरु भित्र्याउने बीएसएच होम अप्लायन्सेससँग साझेदारी गर्न पाउँदा खुसी छौँ। लक्ष्मी ग्रुप नेपाली बजारका लागि गुणस्तरीय उत्पादन र भरपर्दो सेवा प्रदान गर्न सधैँ अग्रपंक्तिमा रहेको छ।’श्रेष्ठले बोश ब्रान्डका उपकरणहरुको गुणस्तरमा आफूहरु विश्वस्त रहेको बताउँदै सबै उपकरण उपभोक्ता केन्द्रित रहेको बताए।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १७:१०