दुई महिनामा २ खर्बको आयात हुदाँ २८ अर्बको निर्यात « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

दुई महिनामा २ खर्बको आयात हुदाँ २८ अर्बको निर्यात



काठमाडौं । नेपालमा चालू आर्थिक वर्षको दुई महिनामा दुई खर्ब भन्दा बढीको आयात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा नेपालले २ खर्ब ७३ अर्ब ५९ करोड ९६ लाख ५२ हजार रुपैयाँको वस्तु आयात गरेको हो ।

गत वर्षको सोही अवधिमा नेपालले ३ खर्ब १४ अर्ब ५१ करोड ७१ लाख रुपैयाँको आयात गरेको थियो । जुन गत वर्षको तुलनामा १३ प्रतिशतले आयात घटेको हो ।

विभागको तथ्याङ्अनुसार दुई महिनाको अवधिमा नेपालले २८ अर्ब ६८ करोड ४ लाख ३७ हजार रुपैयाँको वस्तु निर्यात गरेको छ । नेपालले गत वर्षको सोही अवधिमा ४४ अर्ब ३ करोड ९५ लाख ९१ हजार रुपैयाँको वस्तु निर्यात गरेको थियो । जुन गत बर्षको तुलनामा ३४.८८ प्रतिशतले निर्यात घटेको देखिएको छ ।

नेपालले दुई महिनाको अवधिमै २ खर्ब ४४ अर्ब ९१ करोड ९२ लाख रुपैयाँको व्यापारघाटा व्यहोरेको छ । गत वर्षको सोही अवधिमा नेपालले २ खर्ब ७० अर्ब ४७ करोड ७५ लाख रुपैयाँ व्यापारघाटा व्यहोरेको थियो । चालु आवमा ९.४५ प्रतिशतले कम व्यापारघाटा व्यहोरेको तथ्याङ्कले उल्लेख गर्छ ।

त्यस्तै, वैदेशिक व्यापार १५.७० प्रतिशतले घटेको छ । यस अवधिमा ३ खर्ब २ अर्ब २८ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोही अवधिमा ३ खर्ब ५८ अर्ब ५५ करोड ६७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

नेपालले २ महिनाको अवधिमा सबैभन्दा बढी डिजेल आयात गरेको छ । दुई महिनाको अवधिमा १८ अर्ब ४२ करोड १५ लाख रुपैयाँको डिजेल आयात गरेको छ भने १२ अर्ब १८ करोड ९४ लाख रुपैयाँको पेट्रोल आयात गरेको छ ।

नेपालले दुई महिनाको अवधिमा सबैभन्दा बढी पामोलिन तेल २ अर्ब ४७ करोड ४९ लाख रुपैयाँको निर्यात गरेको छ भने २ अर्ब १३ करोड ५५ लाख रुपैयाँको कार्पेट निर्यात गरेको छ ।

प्रकाशित : ९ आश्विन २०७९, आईतवार १३:५०