काठमाडौं । भारतद्वारा अतिक्रमित नेपाली भू–भाग लिम्पयाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटेर अद्यावधिक गरिएको नेपालको नक्सालाई प्रतिनिधिसभाले सर्वसम्मत अनुमोदन गरेको छ ।
शनिबार बसेको प्रतिनिधिसभाको बैठकले निशान छापमा भारतबाट अतिक्रमित भू–भाग समेटेर अद्यावधिक गरिएको नक्सा परिवर्तन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।
बैठकमा उपस्थित २५८ जना सांसदले विधेयकको पक्षमा मतदान गरेका थिए भने विधेयको विपक्षमा शून्य मत परेकोले संशोधन विधेयक दुईतिहाइभन्दा बढी मतले पास भएको सभामुख अग्नि सापकोटाले घोषणा गरे ।
यसअघि, बैठकमा कानुनमन्त्री शिवमाया तुम्बाहाङफेले विधेयकमाथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।
दफावार छलफलमा सहभागी सांसदहरुका जिज्ञासाको जवाफ दिँदै कानुनमन्त्री तुम्बाहाङफेले नेपालको इतिहास र संसदीय इतिहासमा गौरवमयपूर्ण दिन भएको बताइन् ।
विधेयकविरुद्ध समाजवादी पार्टीकी सांसद सरिता गिरीले दर्ता गरेको संशोधन विधेयकलाई प्रतिनिधिसभा नियमावलीअनुसार सभामुख सापकोटाले खारेज गरेका थिए । आफ्नो प्रस्ताव खारेज भएपछि सांसद गिरी भने बैठकबाट बाहिरिएकी थिइन् ।
सरकारले गत जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो । नयाँ नक्साअनुसार निशान छाप परिवर्तन गर्न जेठ ९ गते संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।
यता, मुलुकको भूगोलको नक्शा परिवर्तन गर्ने जस्तो ऐतिहासिक निर्णय प्रक्रियामा १७ जना सांसद अनुपस्थित भएका छन् । सत्तारुढ दल नेकपाकै सांसद यस्तो बैठकमा मत दिन उपस्थित भएनन् ।
शनिबार बसेको संसदको तल्लो सदन प्रतिनिधि सभा बैठकले मुलुकको नयाँ नक्शा पारित गरेको थियो । तर यस्तो ऐतिहासिक निर्णय गर्ने बैठकमा भने १७ सांसद निर्णय प्रक्रियामा सामेल भएनन् ।
प्रतिनिधि सभाको बहाल रहेको २७५ सदस्यमा २५८ जनाले मात्र मत दिएका हुन् । निर्णयका लागि भएको बैठकमा उपस्थित भएका सबै अर्थात् २५८ जनाले नै लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनीतिक नक्शालाई सर्वसम्मत अनुमोदन गरेका थिए ।
Comment