सस्तो र कम गतिको इन्टरनेट प्याकेज हटाउने संघको घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सस्तो र कम गतिको इन्टरनेट प्याकेज हटाउने संघको घोषणा



काठमाडौँ । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (ISP Association of Nepal) ले आगामी असोज १९ गतेदेखि हाल सञ्चालनमा रहेका सस्तो मूल्यका र कम गतिको इन्टरनेट प्याकेज उपलब्ध गराउन नसक्ने जनाएको छ ।


संघका अध्यक्ष सुधिर पराजुलीले जारी गरेको विज्ञप्तिमा पछिल्ला वर्षमा भएको मूल्यवृद्धि, मध्यपूर्वको तनावका कारण बढेको इन्धनको मूल्य, फाइबरको मूल्यवृद्धि, उच्च मुद्रास्फीति तथा कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै इलेक्ट्रोनिक्स तथा चिपसेटको मूल्य बढ्दा इन्टरनेट सेवा प्रदायकको सञ्चालनमा कठिनाइ भइरहेको उल्लेख छ ।


विज्ञप्तिमा विगत १२ वर्षमा नेपालले इन्टरनेटको पहुँच र प्रभावमा उल्लेख्य प्रगति गरेको जनाउँदै फिक्स्ड ब्रोडब्यान्डको घनत्व र पहुँचमा नेपाल दक्षिण एसियामै पहिलो स्थानमा रहेको दाबी गरिएको छ । इन्टरनेट विश्वकै सस्तोमध्येको एक रहेको र अधिकांश घरधुरीमा सेवा पुगेको संघको भनाइ छ ।

संघले कोरोना महामारीदेखि भोटेकोशी बाढीसम्मको अवधिमा इन्टरनेट सेवा प्रदायकले निरन्तर अत्यावश्यक इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको जनाएको छ । डिजिटल नेपालको लक्ष्य पूरा गर्न निरन्तर खटिरहेका सेवा प्रदायकका कर्मचारीप्रति संघले धन्यवादसमेत व्यक्त गरेको छ ।


संघले सबै इन्टरनेट सेवा प्रदायकलाई गुणस्तरीय सेवा निरन्तर प्रदान गर्न तथा नेपाल दूरसञ्चार प्राधिकरणबाट स्वीकृत दररेट आफ्नो वेबसाइटमा ग्राहकले सहजै देख्ने गरी राख्न आग्रह गरेको छ ।
त्यस्तै, ग्राहकलाई अनिवार्य रूपमा भ्याट बिल लिन आग्रह गर्दै विषम परिस्थितिमा साथ दिँदै आएका ग्राहक तथा सम्बन्धित सबैप्रति संघले धन्यवाद व्यक्त गरेको छ । संघले ग्राहकलाई निरन्तर सेवा उपलब्ध गराउन आफूहरू प्रतिबद्ध रहेको जनाएको छ ।

प्रकाशित : 3 October, 2026 11:33 am