विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउन सुरु: युएई र म्यानमारबाट १९४ जना आइपुगे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

विदेशमा रहेका नेपालीलाई फिर्ता ल्याउन सुरु: युएई र म्यानमारबाट १९४ जना आइपुगे



काठमाडौं । सरकारले म्यान्मासँगै शुक्रबार संयुक्त अरब इमिरेट्स (युएई) र म्यानमारबाट नागरिकको उद्धार गरेको छ ।

कोभिड–१९ को विश्वव्यापी संक्रमणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका नेपालीलाई फर्काउने क्रममा युएईमा अड्किएका १६८ नेपालीलाई स्वदेश फर्काएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक तथा प्रवक्ता देवचन्द्रलाल कर्णले उनीहरु एयर अरेबियाको एविवाई–१७५१ नम्बरको जहाजमार्फत शुक्रबार साँझ ६ः०० बजे काठमाडौं अवतरण गरेको जानकारी दिए । जहाजमा एउटा शवसमेत ल्याइएको छ ।

यसअघि शुक्रबार बिहान म्यान्माबाट त्यहीँका सेनाको एयरफोर्सको फोकर–६० को फ्लाइट नम्बर एमएएच–००३ बाट २६ नेपालीलाई स्वदेश फर्काएको थियो ।

कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी) को समन्वयमा प्रभावित भएका नेपालीलाई प्राथमिकताका आधारमा नेपाल ल्याउन थालिएको हो । उनीहरुको आवश्यक व्यवस्थापन सिसीएमसीको निर्णयअनुसार हुन्छ ।

युएईबाट आएकामा प्रदेश नं १ का ४६, प्रदेश नं २ का २३, वाग्मती प्रदेशका ३७, गण्डकी प्रदेशका २३, प्रदेश नं ५ का २३, कर्णाली प्रदेशका चार र सुदूरपश्चिम प्रदेशका १२ जना रहेका छन् । उनीहरुलाई उपत्यकाको तोकिएको होल्डिङ सेन्टरमा लगिएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए ।

सरकारले काठमाडौँको यती पार्टी प्यालेस वसुन्धरा, स्काईजन पार्टी प्यालेस सुकेधारा र कुण्डलिनी पार्टी प्यालेस वसुन्धारालाई होल्डिङ सेन्टर बनाएको छ ।
जगेडाका रुपमा मिराकल पार्टी प्यालेस सुकेधारालाई तयारी अवस्थामा राखिएको छ । काठमाडौँमा रहेका होल्डिङ सेन्टरमा वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिनेछ ।

भक्तपुरमा एक हजार क्षमताका दुई पार्टी प्यालेसलाई होल्डिङ सेन्टर बनाइएको छ । जसमा सूर्यविनायक नगरपालिका–५ कटुञ्जेस्थित इम्पेरियर बैंक्वेट र मध्यपुरथिमि नगरपालिका–४ स्थित हेरिटेज बैंक्वेट रहेको छ । यहाँ प्रदेश नं १ र २ का नागरिकलाई छुट्टाछुट्टै रुपमा राखिने छ ।

ललितपुरमा ९०० जनाका लागि डिलाईट पार्टी भेन्यू महाक्ष्मीस्थान र मण्डला पार्टी भेन्यू खरिबोट ग्वार्कोमा होल्डिङ सेन्टर बनाइएको छ । जगेडाका रुपमा सिद्धार्थ कलेज धोबीघाट तयार पारिएको छ । यहाँ कर्णाली र सुदूरपश्चिम प्रदेशका नागरिक राखिने छन् ।

उद्धार गरिएकालाई प्रारम्भिक चरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जाँच गरेपछि उपत्यकाका तोकिएका ‘होल्डिङ सेन्टर’ मा राखिन्छ ।

प्रकाशित : 5 June, 2020 8:59 pm