काठमाडौं । भूमि सुधार तथा मालपोत कार्यालय ललितपुरमा कार्यरत मालपोत अधिकृत बद्रीराज ढकालले झन्डै १० करोड रुपैयाँ अकुत सम्पत्ति कमाएको पाइएको छ । गैरकानुनी ढंगले सम्पत्ति आर्जन गरेको पाइएपछि अख्तियारले मंगलबार उनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
अधिकृत ढकालले सो सम्पत्ति लुकाउनका लागि सालीदेखि जेठानसम्मलाई प्रयोग गरेको अनुसन्धानमा खुल्न आएको अख्तियारको अभियोग पत्रमा उल्लेख छ । शाखा अधिकृतको पदमा बढुवा भएका ढकालले निजामती सेवामा प्रवेशपश्चात् मालपोत कार्यालयहरू तनहुँ, कास्की, डिल्लीबजार काठमाडौं, पर्सासमेतमा काम गरेका थिए । पछिल्लो समय उनी मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत थिए ।
उनले १० करोड २७ लाख ५८ हजार ४ सय ६१ रुपैयाँ अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ । ढकालले नातामा साली पर्ने व्यक्तिको नाममा गाडी खरिद गरेर आफूले चलाएको समेत पाइएको छ ।
उनले अकुत सम्पति लुकाउने छिपाउने उद्देश्यले हाल अस्ट्रेलिया बसोबास गर्दै आएका जेठान नाताका नवराज अर्यालका नाममा जनता बैंकमा खाता खोली खाता खोलेकै दिन खाता सञ्चालकबाट खाता सञ्चालनको अनुमति लिएर प्रयोग गर्दै आएको अनुसन्धानबाट खुलेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । ढकालले जेठान नाता पर्ने नवराज अर्यालको जनता बैंकको खातामा ४ करोड २६ लाख ९९ हजार २ सय ९४ रुपैयाँ जम्मा गरेको पाइएको थियो ।
उनले तनहुँ जिल्ला मालपोत कार्यालयमा कार्यरत हुँदा तनहुँकै डेकबहादुर गुरुङलाई प्रभावमामा पारेर उनकी श्रीमतीसमेतको नाममा दर्ता भएको जग्गा खरिद बिक्री नगरी आफ्नो नाममा ल्याएको पाइएको छ ।
सोही जग्गा सरकारी न्यूनतम मूल्य उल्लेख गरी खरिद बिक्री कारोबार देखाइ आफ्नो नाममा ल्याई पुनः जग्गा फिर्ता गर्दा लिखतमा अत्यधिक मूल्य खुलाई गुरुङकी सहोदर दिदी, भिनाजु र बहिनीसमेतका नाममा बिक्री लिखतले स्वामित्व हस्तान्तरण गरेको पाइएको छ ।
उनले हुँदै नभएको खरिद बिक्री कारोबारमा १ लाख ९७ हजारको लगानी गरेको र लगानीको केही दिन र महिनाको अन्तरमा १ करोड ६८ लाख आर्जन गरेको देखाएका छन् । यसरी उनले झन्डै साढे १० करोड अकुत सम्पत्ति कमाएको अख्तियारले जनाएको छ ।
Comment