काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् । जसमा पर्यटन र नागरिक उड्डयनका क्षेत्रमा निम्न कामहरु हुने उल्लेख छ ।
० लगातार दुई वर्ष पर्यटन आगमन संख्या ११ लाख नाघेको छ । सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ शुरु गरिएको नेपाल भ्रमण वर्ष कोभिड १९ का कारण स्थगित गर्न बाध्य हुनु परेको छ ।
० यस सरकारले पर्यटन क्षेत्रमा कोभिड १९ ले पारेको प्रभाव र बाह्य कारण समेतले पार्ने प्रभावको अध्ययन गरि पुनरुत्थान लगायत दिगो पर्यटनका कार्यक्रम कार्यन्वयन गर्नेछ ।
० चालीस वर्ष पछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको धावनमार्ग पुनःनिर्माण गरिएको छ । आगामी वर्ष यस विमानस्थललाई पूर्णतः बुटिक विमानस्थलमा रुपान्तरण गरिनेछ ।
० गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल आगामी आर्थिक वर्षदेखि संचालनमा ल्याइनेछ । पोखरा क्षेत्रीय अन्र्तराष्ट्रिय विमानस्थलको निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गरि संचालनको पूर्व तयारी गरिनेछ । निजगढ अन्र्तराष्टिय विमानस्थलको निर्माण कार्य प्रारम्भ गरिनेछ ।
० थप आठ वटा आन्तरिक विमानस्थलको धावन मार्ग कालोपत्रे गरिएको छ । हालसम्म आठवटा विमानस्थलवाट रात्रीकालीन उडान तथा अवतरण शुरु भएको छ । आगामी आर्थिक वर्ष थप दुइ वटा आन्तरिक विमानस्थलको निर्माण सम्पन्न गरिनेछ, तीन वटा विमानस्थलको धावन मार्ग कालोपत्रे गरिनेछ । तेह्थुमको चुहानडाँडा र काभ्रेपलाञ्चोकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण कार्य अगाडी बढाइनेछ ।
० सम्भाव्य पहाडी र हिमाली क्षेत्रमा अत्याधुनिक सुविधासहितका हिल स्टेशन र पर्यटकीय सेवा सुविधा भएका होटल तथा रिसोर्टका पूर्वाधार विकास गर्न प्रोत्साहित गरिनेछ । पर्यटकीय होटेल तथा रिसोर्टहरुसँग अग्र सम्बन्ध विकास गर्ने गरी स्थानीयस्तरमा अर्गानिक कृषि उत्पादनका ठूला फार्म संचालनमा ल्याउन प्रोत्साहन गरिनेछ ।
० हवाई उडड्यन क्षेत्रमा नियामक र सेवा प्रदायक कार्यका लागि छुट्टा छुट्टै संस्थागत व्यवस्था गरी कार्यन्वयनमा ल्याइनेछ ।
० लुम्बिनीमा निर्माणाधीन ५ हजार व्यक्ति क्षमताको ध्यान केन्द्र तथा सभा हलको निर्माण सम्पन्न गरी संचालनमा ल्याइनेछ । लुम्बिनी क्षेत्र विस्तार गर्न बृहत्तर लुम्बिनी अबधारणा कार्यन्वयनमा ल्याइनेछ । रामग्राम गुरुयोजना कार्यन्वयन गरिनेछ । तिलौराकोटलाई विश्व सम्पदा सूचीमा राख्ने प्रकृया अगाडी बढाइनेछ ।
Comment