काठमाडौं । कोरोना संक्रमणपछि हवाइजहाज उडानमा नयाँ मापदण्ड कार्यान्वयनमा आउने भएको छ । यात्रुले विमानस्थल जाँदादेखि विमानमा चढ्दासम्म स्वास्थ्य परीक्षण र सामाजिक दूरी कायम गर्नु पर्नेछ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले कोरोना संक्रमण कम भएपछि हुने उडानका लागि तयार पारेको मापदण्डमा यात्रुले विशेष सावधानी अपनाउनुपर्नेछ । मापदण्डअनुसार यात्रुले चेकइन काउन्टर, स्टेराइल हल, जहाज चढ्नुअघि र जहाज चढिसकेपछिका स्वास्थ्य सुरक्षामा ध्यान दिनुपर्नेछ ।
प्राधिकरणले अन्तर्राष्ट्रिय अभ्यासलाई समेत हेरेर यो मापदण्ड तयार पारेको हो ।
विश्व स्वास्थ्य संगठन, अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन, अन्तर्राष्ट्रिय हवाई यातायात संगठन लगायतले कोभिड–१९ अन्तर्गत तयार पारेको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै मापदण्ड बनाएको प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बताए ।
उनका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य प्रवेशद्वारदेखि यात्रुसँगै वायु सेवा कम्पनी र विमानस्थलमा परिचालित कर्मचारीको स्वास्थ्य जाँच गरिनेछ । ‘कोभिड–१९कै अवस्थामा पनि विभिन्न मुलुकले स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै उडान सुरु गरिसकेका छन ।
मुलुकमा विस्तारै लकडाउन खुकुलो पार्ने निर्णय पनि भइरहेको छ । कारखाना–उद्योग र कार्यालय खुल्न थालेका छन् । यसैलाई मध्यनजर गर्दै हामीले पनि उडान पुनः सञ्चालनका लागि आवश्यक स्वास्थ्य सर्तकताका लागि मापदण्ड बनाएका हौं,’ महानिर्देशक पोखरेलले भने ।
यात्रु स्वास्थ्य सुरक्षा, वायु सेवा कम्पनीको उडान अवतरण व्यवस्थापन, जहाज, विमानस्थलमा कार्यरत कर्मचारीको स्वास्थ्यलाई ध्यान दिएर मापदण्ड बनाएको उनले बताए ।
Comment