लकडाउनको ‘मोडालिटी’ परिमार्जन: औद्योगिक उत्पादन तथा वितरण खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

लकडाउनको ‘मोडालिटी’ परिमार्जन: औद्योगिक उत्पादन तथा वितरण खुला




काठमाडौं । सरकारले ‘लकडाउन’ जेठ ५ गतेसम्म लम्ब्याएपनि यसलाई केही खुकुलो बनाएको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले लकडाउनको ‘मोडालिटी’ केही परिमार्जन गरिएको जानकारी गराएका हुन् । सरकारले औद्योगिक उत्पादन तथा वितरण खुला गरेको छ ।

मन्त्री खतिवडाले सुरक्षात्मक उपाय अपनाएर निर्माण उद्योगहरु पूर्णरुपमा सञ्चालन गर्न दिइने निर्णय भएको बताए । निर्माण सामग्री, कृषि तथा पशुपक्षीको ढुवानी पनि खुकुलो पारिएको छ ।

उद्योगबाट ‘लोड’ भएका सामान गन्तव्यस्थलसम्म लान दिइने भएको छ । बिमा, बैंकिङ, धितोपत्र बजार पनि एकतिहाइ कर्मचारीमार्फत् सञ्चालन गर्न सकिने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले जानकारी गराए ।

काठमाडौं छिर्ने गाडीका चालक र सहचालकको विवरण राखेर ढुवानी सहज गरिने भएको हो राजमार्गका होटल तथा रेष्टुराँहरु पनि निश्चित मापदन्ड अपनाएर सीमितरुपमा खोल्न दिइने व्यवस्था गरिएको पनि मन्त्री खतिवडाले उल्लेख गरे ।

तर, राजमार्गका ती रेष्टुराँहरुबाट खानाको प्याकेटमात्र उपलब्ध गराउन सकिने भएको छ । यस्तै, राजमार्गमा सीमित मात्रामा गाडी वर्कसप पनि खोल्न दिइने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

यसैगरी, सरकारले जेठ १८ गतेसम्म अन्तर्राष्ट्रिय हवाई उडान र सीमानाकामा आवागमन बन्द गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार २१:१३