काठमाडौं । उदयपुरमा मंगलबार थप ११ जनामा कोरोनाभाइरस संक्रमणको पुष्टि भएको छ ।
त्रियुगा नगरपालिका भुल्केस्थित एक मस्जिदमा रहेका १२ जना कोरोनाभाइरस संक्रमितसँग सम्पर्कमा आएका थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको ‘पीसीआर’ परीक्षणमा ८ जनामा कोरोना संक्रमण ‘पोजिटिभ’ देखिएपछि थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।
यस्तै, काठमाडौंको टेकुस्थित प्रयोगशालामा गरिएको परीक्षणमा उदयपुरकै तीनजनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
गत शुक्रबार भुल्केस्थित एक मस्जिदमा रहेका १६ मध्ये १२ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखा परेको भोलिपल्टै सो क्षेत्रका ६९ जनाको स्वाब परीक्षण गर्न कोशी अस्पताल पठाइएको थियो । उनीहरुमध्ये ८ जनामा फेरि कोरोना ‘पोजिटिभ’ देखिएको हो ।
यसअघि, कोरोना संक्रमण पुष्टि भएका १२ जना विराटनगरको कोरोना अस्पतालको ‘आइसोलेसन’मा उपचाररत् छन् ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या ४२ पुगेको छ ।
यता, प्रदेश नम्बर–१ सरकारले मंगलबारदेखि पूरै जिल्लालाई चारैतिरबाट ‘सिल’ गर्ने निर्णय गरेको छ ।
उदयपुरबाट अन्य जिल्लामा कोरोना संक्रमण फैलिन नदिन यस्तो निर्णय गरेको प्रदेश सरकारका सामाजिक विकासमन्त्री जीवन घिमिरेले जानकारी दिएका हुन् ।
उदयपुर जिल्लामा पूर्णरुपमा ‘लकडाउन’ गर्ने र जिल्लाका सबै नाका सिल गर्ने निर्णय गरेको उनले जानकारी दिए ।
Comment