काठमाडौं । नेपालको पूर्वी नाका मेची भन्सारबाट आयात निर्यात ठप्प भएको छ ।
कोरोना संक्रमणको जोखिम देखाउँदै भारतको पश्चिम बंगाल सरकारले नेपालसँग जोडिएको नाका बन्द गरेको मेची भन्सार कार्यालयले जनाएको छ ।
बंगाल सरकारले भारतीय भन्सार कार्यालयलाई पत्राचार गर्दै अनिश्चित कालका लागि कारोबार रोक्न निर्देशन दिएको जानकारी नेपालस्थित मेची भन्सार कार्यालयलाई गराएको छ । अवस्था सामान्य नभएसम्म मेची नाकाबाट वस्तु निर्यात गर्न नसकिने भएको छ ।
नाकामा आएर थन्किएका वस्तुलाई रि–रुट गरी अन्य नाकाबाट पठाउन भारतीय भन्सार अधिकारीहरुले तयारी थालेका छन् ।
भारततर्फको नाका बन्द भएपछि भारत, भुटान र बंगलादेशबाट नेपालमा हुने आयात ठप्प भएको छ ।
लकडाउनको समयमा सो नाका भएर ग्यासका बुलेट, तरकारी, फलफूल जस्ता दैनिक उपभोग्य वस्तु आयात भइरहेको थियो ।
यसैबीच भारत केन्द्र सरकारको नीतिविरुद्ध राज्य सरकारबाट नाका बन्द गरिएपछि नेपालले कुटनीतिक पहल थालेको भन्सार विभागले जनाएको छ ।
परराष्ट्र र वाणिज्य मन्त्रालय हुँदै भारतीय दूतावासलाई नाका खोल्न पत्राचार गरिएको छ ।
Comment