काठमाडौं । काठमाडौंको पेप्सीकोस्थित सनसिटी अपार्टमेण्टको पन्ध्रौँ तलामा बस्दै आएका एकै परिवारका दुई जनामा कोरोना भाईरस अर्थात् कोभिड १९ संक्रमण भएको पुष्टि भएपछि अपार्टमेण्ट नै त्रसित बनेको छ ।
सोमबारदेखि नै अपार्टमेण्ट सिल गरिएको छ । त्यहाँ बसोबास गरिरहेका ५ सय १० परिवारका करिब १५ सय जना अहिले कडा होम क्वारेण्टाईनमा बसिरहेका छन् ।
चैत्र ५ गते लण्डनबाट नेपाल फर्किएका आमा, छोरा र बुहारी यस अपार्टमेन्टको ‘ए’ ब्लकको १५ औं तल्लामा बस्दै आएका थिए । आमा ८१ वर्षीया, छोरा ५८ वर्षीय र बुहारी ५२ वर्षिया हुन् ।
उनीहरुमध्ये आमा र छोरामा कोभिड–१९ पुष्टि भएको छ । र्यापिड टेस्टमा छोरालाई पनि पोजिटिभ देखाएको थियो तर, टेकु प्रयोगशालामा गरिएको पीसीआर टेस्टमा नेगेटिभ देखिएको थियो
अपार्टमेन्टमा ६ वटा ब्लकहरू रहेका छन् । संक्रमितहरु बस्ने ब्लकमा करिब एक सय परिवार बस्छन् । एउटा फ्ल्याटमा ६ वटा परिवार बस्छन् । ब्लकका सबैले साझा लिफ्ट प्रयोग गर्छन् ।
संक्रमित परिवारका व्यक्तिहरुले कुकुर लिएर तल कम्पाउन्डमा डुलाउने पनि गर्थे । अपार्टमेन्ट वरिपरीका बासिन्दा पनि घरबाट बाहिर निस्केका छैनन् ।
प्रशासनले उक्त अपार्टमेन्टमा आवतजावत पूर्ण बन्द गरेको छ। उक्त क्षेत्रमा प्रहरीले अपार्टमेन्टका साथै कोलोनीसमेत बन्द गरेको छ। सोमबार अघि सडकमा एकाध व्यक्ति देखिए पनि मंगलबारदेखि सडकमा हिड्ने समेत देखिएका छैनन्। सोमबार उक्त अपार्टमेन्टमा बस्नेमा कोरोना पोजिटिभ देखिएसँगै आवतजावतमा प्रतिबन्ध लगाइएको हो।
सनसिटी अपार्टमेण्टमा बस्ने र परिक्षका लागि ६१ जनामध्ये हिजो तीन स्थानमा ३६ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो । संक्रमित परिवारका तीन जना परीक्षणका लागि मुलपानी नगर अस्पतालमा आएका थिए । अस्पताल आउँदा तीनैजना सामान्य अवस्थामा रहेका बताईएको छ ।
र्यापिड टेस्टको रिपोर्ट आउन करिब १५ मिनेट लाग्छ । त्यसैले तीनजना रिपोर्ट नआउञ्जेल त्यहीँ पर्खेर बसेका थिए । रिपोर्टमा पोजिटिभ देखिएपछि उनीहरु अपार्टमेन्ट फर्किन पाएनन् ।
Comment