काठमाडौंमा तीन जनामा कोरोनाको आशंका, १८ सय व्यक्ति बस्दै आएको अपार्टमेन्टमा सिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

काठमाडौंमा तीन जनामा कोरोनाको आशंका, १८ सय व्यक्ति बस्दै आएको अपार्टमेन्टमा सिल




काठमाडौं । काठमाडौं पेप्सिकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्दै आएका एकै परिवारका तीन जनामा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएकोछ ।

ती व्यक्तिमा कोरोना संक्रमणको आशंका पाइएपछि पुरै अपार्टमेन्ट सिल गरिएको छ । अपार्टमेन्टमा बस्दै आएका तीन जनाको र्‍यापिड डायग्नोस्टिक टेस्टका क्रममा रिपोर्ट पोजेटिभ देखिएपछि प्रहरीले अपार्टमेन्ट सिल गरेको हो ।

अपार्टमेन्टमा झन्डै १ हजार ८ सय व्यक्ति बस्दै आइरहेका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार अपार्टमेन्ट क्षेत्रमा प्रहरी परिचालन गरिएको छ ।

अपार्टमेन्टमा बसेका सबैलाई क्वारेन्टाइनमा राख्ने गरी आवश्यक सामग्रीहरू उपलब्ध गराइने र सबैलाई अपार्टमेन्टभित्रै क्वारेन्टाइनमा राखिने भएको छ ।

स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आरडीटी टेस्ट गर्दा अपार्टमेन्टमा बस्दै आएका तीन जनाको रिपोर्ट पोजेटिभ आएपछि पाटन अस्पतालमा भर्ना गरिएको जानकारी दिए ।

पाटन अस्पतालमा उनीहरूको पीसीआर परीक्षण सुरु भएको छ । ५ चैतमा उनीहरू लन्डनबाट काठमाडौंको आएका थिए । अपार्टमेन्टमा मानिसहरूको भीडभाड हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ ।

प्रकाशित : १ बैशाख २०७७, सोमबार २२:१७