ग्यास अभाव नहुने: आधा सिलिण्डर विक्री कम भएपछि अब भरी ग्यास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

ग्यास अभाव नहुने: आधा सिलिण्डर विक्री कम भएपछि अब भरी ग्यास




काठमाडौं । नेपाल आयल निगमले आइतबारदेखि भरी ग्यास सिलिण्डर बिक्री वितरण गर्ने निर्णय गरेको छ ।

निगम सञ्चालक समितिको बुधबार बसेकोे बैठकले १४.२ किलो (पूरै भरी) को सिलिण्डर ग्यास बिक्रीवितरण खुला गर्ने निर्णय गरेको हो । निगमका प्रवक्ता विनितमणि उपाध्यायका अुनसार बिहीबारदेखि नै उद्योगीलाई ग्यास भर्न दिइने छ ।

पछिल्लो केही दिनयता आधा सिलिण्डर ग्यासको बिक्री कम भएको जनाउँदै उद्योगीले भरी ग्यास वितरणका लागि निगमसँग आग्रह गरेका थिए ।

उद्योगीको माग र भण्डारगृह भरिएकाले निगमले भरी सिलिण्डर बिक्रीको निर्णय गरेको उनले बताए । बजारमा ग्यासको अभाव सिर्जना भएको जनाई निगमले यही चैत १६ गते अपराह्न १ बजेदेखि आधा (७.१ किलो) को ग्यास सिलिण्डर बिक्री गर्न उद्योगलाई निर्देशन दिएको थियो ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष गोकुल भण्डारीले सबै कम्पनीका ग्यास भण्डारगृह भरिएर बुलेटमै ग्यास राखिँदै आएको बताए ।

उनका अनुसार देशभरका ५९ ग्यास उद्योगमा करीब १० हजार मेट्रिक टन क्षमता रहेकामा हाल सबैको भण्डारगृह भरिएकाले एक सय बुलेटमा ग्यास राखिएको थियो ।

प्रकाशित : २६ चैत्र २०७६, बुधबार १९:१२