सम्पत्ति शुद्धीकरण विरुद्ध एनआईसी एसिया बैंकले चाल्यो यस्तो कदम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सम्पत्ति शुद्धीकरण विरुद्ध एनआईसी एसिया बैंकले चाल्यो यस्तो कदम



काठमाडाै । सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी रोक्न एनआईसी एसिया बैंकले थप कदम चालेको छ । यस्तो कार्य प्रभावकारी बनाउन बैंकले भारतको इन्फ्रासफ्ट टेक्नोलोजी तथा नेपालको एम्निल टेक्नोलोजीसँग ‘इन्ड टू इन्ड सोलुसन’ नामक प्रणाली खरिद गरेको हो ।

एनआईसी एसिया बैंक तथा नेपाल र भारतका दुई कम्पनीबीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपाने र इन्फ्रासफ्ट टेक्नोलोजी का तर्फबाट कम्पनीका भाइस प्रेसिडेन्ट डेलिभरी प्रोडक्ट अमित शर्मा तथा एम्निल टेक्नोलोजीका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अमित जोशीले हस्ताक्षर गरे ।

सो सम्झौताअनुसार इन्फ्रासफ्ट टेक्नोलोजी र एम्निल टेक्नोलोजीले बैंकलाई अन्तर्राष्ट्रियस्तरको इन्ड टू इन्ड एएमएल सोलुसन उपलब्ध गराउने र सो प्रणाली कार्यान्वयनमा ल्याएपछि सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी नियमनकारी निकाय तथा अन्तर्राष्ट्रिय निकायहरु फाइनान्सियल एक्सन टास्क फोर्स (एफटीएफ), एसियन प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ (एपीजी) लगायतले तोकेको मापदण्डहरु प्रभावकारी रुपमा कार्यान्वयन हुने बैंकको भनाइ छ ।

नविनतम प्रविधिलाई उच्च प्राथमिकताका साथ अबलम्बन गर्ने बैंकको उद्देश्य अनुसार हाल बैंकले ३२ वटा शाखाबाट डिजिटल प्रविधि मार्फत समेत खाता खोल्न सक्ने व्यवस्था गरेको जानकारी दिएको छ । जस अन्तर्गत हस्ताक्षर गर्नको लागि सिग्नेचर प्याड, ल्याप्चे क्याप्चर गर्नको लागि बायोमेट्रिक डिभाइस र फोटो खिच्नको लागि क्यामेरा जडानसहितको सुविधा उपलब्ध रहेको छ । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी जोखिम व्यवस्थापनमा अझ प्रभावकारी हुने विश्वास बैंकले जनाएको छ ।

प्रकाशित : ८ माघ २०७६, बुधबार १३:०४