काठमाडौँ । नेपालका विकास बैंकहरूले चालु आर्थिक वर्षको १० महिनामा उल्लेखनीय नाफा वृद्धि हासिल गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार १७ विकास बैंकहरूले सो अवधिसम्म कुल ६ अर्ब २८ करोड ६८ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ७५.२३ प्रतिशतले बढी हो।
गत आवको वैशाख मसान्तसम्म विकास बैंकहरूको समग्र नाफा ३ अर्ब ५८ करोड ७८ लाख रुपैयाँ मात्र रहेको थियो। तर यस वर्ष बैंकिङ क्षेत्रको कस्ट अफ फण्डमा सुधार, कर्जा व्यवस्थापनमा सुधार, सञ्चालन खर्चमा नियन्त्रण तथा केही बैंकहरूको खराब कर्जा अनुपातमा आएको सुधारले समग्र नाफामा उल्लेखनीय वृद्धि देखिएको हो।
राष्ट्र बैंकको तथ्यांक अनुसार यस अवधिमा १७ विकास बैंकमध्ये १३ वटा नाफामा रहेका छन् भने ४ वटा बैंक अझै घाटामा छन्। यद्यपि नाफामा रहेका अधिकांश बैंकको आम्दानी गत वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको देखिन्छ।
नाफाको शीर्ष स्थानमा गरिमा विकास बैंक र मुक्तिनाथ विकास बैंक रहेका छन्। यी दुवै बैंक ‘अर्ब क्लब’ मा प्रवेश गर्न सफल भएका छन्। गरिमा विकास बैंकले १ अर्ब २० करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ, जुन गत वर्षको तुलनामा ३८.९५ प्रतिशतले बढी हो।
त्यसैगरी मुक्तिनाथ विकास बैंकले १ अर्ब १० करोड ६३ लाख रुपैयाँ नाफा कमाउँदै २६.१८ प्रतिशत वृद्धि दर्ता गरेको छ।






Comment